प्रारम्भिक बाल सिकाइको महत्त्व

प्रारम्भिक बाल सिकाइका लागि अभिभावकले उचित वातावरण कसरी तयार गर्न सक्छन्?

नेपाल सरकार, युनिसेफ नेपाल
A child sitting on the floor
UNICEF Nepal/2022/RUpadhayay
31 मे 2023

सिकाइ जीवनभर चलिरहने प्रक्रिया हो । बालबालिकाले पनि जीवनको सुरुआतदेखि वातावरणमा सक्रियतापूर्वक खोज अनुसन्धान गरिरहेका हुन्छन् । यसबाट पाएका अनुभवहरू क्षण क्षणमा थपिदै जान्छ । सिकाइ भन्नाले दैनिक अनुभव र अभ्यासद्वारा बालबालिकामा आउने परिवर्तन हो । सिकाइले बालबालिकाको धारणा, ज्ञान, सिपमा सकारात्मक परिवर्तन गरार्ई व्यक्तित्व विकासमा सघाउँछ ।

बालबालिकाले आफ्नै परिवेशमा, उमेर, क्षमताअनुरुप प्रत्येक समय विभिन्न तरिकाबाट सिकिरहेका हुन्छन् । बालबालिकाले गर्भभित्रै देखि पाँच इन्द्रियहरूको माध्यमद्वारा (आँखाले हेरेर, कानले सुनेर, नाकले सुँघेर, जिब्रोले चाखेर र हात वा छालाले छामेर) सिक्दछन् । यसरी इन्द्रियहरूको माध्यमबाट मस्तिष्कले उत्प्रेरणा पाँउछ र उक्त अनुभवहरूद्वारा पहिचान बनाउँछ । त्यसैले पाँच इन्द्रियहरूलाई सिकाइका ढोकाहरू पनि भनिन्छ ।

मस्तिष्क स्नायु प्रणाली विकास सम्बन्धी अनुसन्धान प्रतिवेदनमा उल्लेख भएअनुसार गर्भमा नै सुनाइ र दृष्टिको विकास सुरु भई जन्मेर पहिलो वर्ष भित्र उच्चतम विकास भइ सक्छ । तर, सिकाइ जन्म लगत्तै सुरु हुन्छ । शिशु बालबालिकाले आफ्नो आवश्यकता र क्षमताअनुसार सिक्दै जान्छन् । मस्तिष्क विकाससम्बन्धी अनुसन्धानअनुसार बच्चा जन्मदा मस्तिष्क विकास भईसकेको हुन्छ तर मस्तिष्कमा भएका सम्पूर्ण स्नायु कोषहरू एकअर्कोमा जोडिइसकेको हुँदैन । बच्चा जन्मँदा २५५ मात्र स्नायुहरूको सञ्जाल बनेको हुन्छ ।

बच्चा जन्मेपछि सिकाइ अनुभवको आधारमा यी स्नायु कोष (न्युरोन) एक अर्कोसँग जोडिदै सञ्जाल निर्माण हुने कार्य अति छिटो हुने गर्छ । जन्मेदेखि ३ वर्षभित्रमा मस्तिष्कमा भएका कोशिकाहरू करीब ७५५ स्नायुहरू एक अर्कोमा जोडिदै अनुभवको सञ्जाल निर्माण हुन्छ । यसबाट जीवनभरको सिकाइ क्षमता निर्धारण हुन्छ । शिशुले सिकेका अनुभवहरू मस्तिष्कमा सञ्चित हुन्छन् र कोशिकाहरू जोडिँदै जान्छन् । मस्तिष्क विकास हुनका लागि पोषिलो खाना, तनावमुक्त वातावरण र उत्प्रेरणा अति आवश्यक हुन्छ ।


विभिन्न प्रकारका सिकाइ  

प्रसिद्ध मनोवैज्ञानिक रोबर्ट गाग्नेको सिकाइ श्रृखंलाघढ अनुसार समस्या समाधान गर्नसक्ने सिकाइ उच्च स्तरको सिकाइ हो । जुन प्रारम्भिक उमेरका बालबालिकाको सिकाइको लागि अभिभावकले बुझ्नु आवश्यक छ । उनकाअनुसार सिकाइ निम्न प्रकारका छन्:

साङ्केतिक सिकाइः जसमा बालबालिकाले कुनै पनि आवाजहरू सुनेर वस्तुको पहिचान गर्न वा 
चिह्नहरू देखेर यसको अर्थ पहिचान गर्न, अक्षरहरूको पहिचान गर्न सक्छ ।

उत्तेजना र प्रतिक्रियाः यसप्रकारको सिकाइ बालबालिकाले स्यावासी पाउँदा फुक्र्याउँदा, रमाएर गर्ने क्रियाकलाप हो । जस्तैः अघिपछि, सामान ठिक ठाउँमा नराख्ने तर फुक्र्याउँदा राख्ने उत्तेजनात्मक सिकाइ हो । 

श्रृङ्खला सिकाइः यसप्रकारको सिकाइ बालबालिकाले पहिले सिकेको सिकाइलाई संम्झेर यसैमा जोडेर थप सिकाइ गर्न सक्ने हो । जस्तैः स्याउको स्वाद कस्तो हुन्छ भनेर स्याउ देखेपछि मात्र सम्झने सिकाइ श्रृङ्खला सिकाइ हो ।

शाब्दिक सहचार्यः यस खालको सिकाइ कुनै पनि वस्तुको प्रयोग गर्ने तरिका बताएपछि मात्रै बालबालिकाले यसलाई समन्वय गर्न सक्छन् । जस्तैः कुटोले खन्ने काम गर्छ भनेपछि मात्र यसको प्रयोग गर्न सक्छन् ।

बहुविभेदीकरण सिकाइः यसप्रकारको सिकाइमा बालबालिकाले विभिन्न किसिमका वस्तुहरूमा गुण, रङ, स्वाद, आकार तथा अन्य विशेषताको आधारमा समानता र भिन्नता छुट्याउने जोडा मिलाउन, सक्नु हो ।

धारणात्मक सिकाइः बालबालिकाले कुनै पनि वस्तुलाई विष्तृतरूपमा बुझेर अवधारणाहरू मस्तिष्कमा राख्नु हो । जस्तै कुकुरको बारेमा कुराकानी गर्दा बालबालिकाले कुकुर कहाँ बस्छ, के खान्छ ? आकार कस्तो छ ? कसरी कराँउछ ? के काम गर्छ आदि बताउन सक्नु वा जानकारी हुनुलाई अवधारणात्मक सिकाइ भनिन्छ । 

सैद्धान्तिक सिकाइः बालबालिकाले विभिन्न वस्तुको एकअर्कासँगको सम्बन्ध पहिचान गर्न सक्नु, प्रस्तुत गर्न सक्नुलाई सैद्धान्तिक सिकाइ भनिन्छ ।जस्तैः आकाशमा बादल लाग्यो भने पानी पर्ने सम्भावना हुन्छ । घाम अस्ताएपछि भने अँध्यारो हुन्छ, भन्ने थाहापाउने, अन्दाज गर्ने यसमा पर्छ ।
समस्या समाधानः बालबालिकाले कुनै पनि समस्या बुझेर यसलाई के के गरेमा सो समाधान गर्न सकिन्छ भनेर पत्ता लगाउने, योजना बनाउने र समाधानको गर्ने सिकाइ उच्च स्तरको सिकाइ हो ।

नोटः बालबालिकाले अक्षर कण्ठ गरेर सिक्दा सिकाइको पहिलो चरण साङ्केतिक सिकाइमा मात्र हुन्छन् भने योजना बनाउन लगाउने, समस्या समाधानको उपाय खोज्न लगाउनाले बालबालिकामा उच्चस्तरको सिकाइ हुन्छ ।


बालबालिकाले कसरी सिक्छन् ?  

बालबालिकाले विभिन्न कुराहरू अवलोकन गरेर, सुनेर, खोज तथा अनुसन्धान र प्रश्न गरेर सिक्छन् । यी सिकाइलाई बालबालिकाले निम्न प्रक्रियाबाट दिगो सिकाइका रूपमा परिणत गर्दै जान्छन्:

प्रयास र गल्तीबाट (Trial and Error): बालबालिकाले प्रयास र गल्ती गर्दै सिकिरहेकका हुन्छन्, उनीहरूले गरेका गल्तीलाई गलत हो भन्ने बुझेपछि यसलाई सुधार गर्दै जान्छन् ।

अरू जान्ने व्यक्तिबाट (More Knowledgeable Others): बालबालिकाले आफूभन्दा जान्ने साथी वा वयस्कहरूसँग आफूले देखेका र गरेका कार्यबाट नयाँ अनुभव बटुल्दै सिक्ने गर्दछन् । 

समाजबाट (Social Learning): बालबालिकाले घरपरिवार र समाजको क्रियाकलापहरूलाई नक्कल गरेर आफ्नो दैनिक क्रियाकलापमा लागु गर्छन् ।

अभ्यास गरेर वा दोहो¥याएर (Conditioning): बालबालिकाले सिकेका सिपहरू दैनिक जीवनमा दोहो¥याएर, उनीहरू त्यसमा पोख्त हुन सिक्छन् ।

प्रतिक्रिया (Feedback): बालबालिकाले सानै देखि विभिन्न क्रियाकलापहरू गर्दा पाउने प्रतिव्रिmयाबाट सिक्छन् ।  


बहुल प्रतिभा (Multiple Intelligence) 
बालबालिकाको विभिन्न क्षमता हुने तथ्यलाई खोज गर्दै गार्डनरले (Howard Gardner 1983)  बहुल प्रतिभा सिद्धान्त प्रस्तुत गरेका छन् । यी सबै प्रतिभा विकास गर्ने क्षमता बालबालिकामा जन्मजात हुने गर्छ तर हुर्केको वातावरणअनुसार सबैमा सबै प्रतिभा पूर्ण रूपमा विकास हुँदैन । प्रारम्भिक उमेको अवसर, खेल, सिकाइ, खोज अनुसन्धान, अन्तरक्रियाबाट बालबालिकाको बहुल प्रतिभाको विकासमा प्रोत्साहन मिल्छ । गार्डनरकाअनुसार बालबालिकामा ९ किसिमको प्रतिभा हुन्छ । 
१. गणितीय क्षमता (Logical-mathematical intelligence): गणितमा सिपालु, समस्या समाधान गर्न सक्ने, वैज्ञानिक खोज गर्ने क्षमता
२. शाब्दिक क्षमता (Linguistic-verbal intelligence) विभिन्न प्रकारका शब्द लेखन र बोलीचालीमा प्रयोग गर्न सक्ने, भाषण रुचाउने, विभिन्न भाषा चाँडै सिक्न सक्ने क्षमता
३. अरूको भावना बुझ्ने (Interpersonal intelligence): अरूको भावना तथा विचार बुझ्ने, अरूसँग सजिलै अन्तरक्रिया गर्ने क्षमता
४. सचेतना क्षमता (Intrapersonal intelligence): आफ्ना भावनामा सचेत हुने क्षमता
५.साङ्गीतिक क्षमता (Musical intelligence): साङ्गीतिक ताल, ढाँचा सजिलै बुझ्न सक्ने क्षमता 
६. दृश्यात्मक क्षमता (Visual-spatial intelligence): चित्र हेरेर सिक्ने, चित्र बनाउने, विभिन्न ढाँचा सजिलै बुझ्न सक्ने क्षमता
७.शारीरिक क्षमता (Bodily-kinesthetic intelligence): शरीर चलाउन मन पर्ने, नृत्य गर्न मन पर्र्ने हेरेरभन्दा छोएर विभिन्न कुरा राम्ररी गर्न सक्ने क्षमता
८. प्रकृति प्रेमी (Naturalistic intelligence): प्रकृति अवलोकन गर्न रुचाउने, प्रकृतिबाट सिक्ने क्षमता 
९. अस्तित्ववादी क्षमता (Existential intelligence): हामी कहाँ थियौ, कसरी आयौँ, हाम्रो जिम्मेवारी के हो, आत्मा के हो जस्ता विषयका तर्क वितर्क, खोज अनुसन्धान गर्ने क्षमता  

सानै उमेरदेखि बालबालिकामा हुने बहुल प्रतिभाको पहिचान गरी यसका आधारमा बालबालिकालाई सिकाउने हो भने सिकाइ प्रभावकारी हुन्छ । बालबालिकामा भएका प्रतिभाको पनि विकास हँुदै जान्छ । Fleming and Mills (1992) काअनुसार विभिन्न बालबालिकाको सिक्न तरिका फरक फरक हुन्छ ।

दृष्यात्मक सिकारु (visual learner) चित्र, फोटो, वास्तविक वस्तुको अवलोकन गरेर सिक्ने 
श्रव्यात्मक सिकारु (auditory learner) सुन्न मन पराउने वा सुनेर छिटो सिक्ने 
पढ्न लेख्न रुचाउने सिकारु (reading and writing learner) पढाइलाई जोड दिने, पढेर लेखेर छिटो सिक्ने 
क्रियात्मक सिकारु (kinesthetic learner) छोएर, आफैँ अनुभव गरेर सिक्ने

हरेक बालबालिका फरक हुन्छन् । सबैले एउटै तरिकाबाट सिक्छन् भन्ने हँुदैन । त्यसैले बालबालिकाले सजिलै रूपमा सिक्ने तरिका अभिभावक तथा शिक्षकले आफ्नो अवलोकनबाट पत्ता लगाई बालबालिकालाई सिकाउँदा सिकाइ प्रभावकारी र दिगो हुन्छ ।  


बालबालिकाको सिकाइमा कठिनाइ हुने केही मुख्य अवस्था   

  • कुपोषण तथा हिंसा र दुर्व्यवहार
  • बालबालिकामा कुनै प्रकारको कार्यगत सीमितता वा अपाङ्गता भएमा 
  • घरमा उत्प्रेरणात्मक वातावरण तथा प्रोत्साहनको अभाव
  • प्रारम्भिक बाल्यावस्थामा विभिन्न आधारभूत अवधारणामा अस्पष्टता 
  • उमेर तथा विकासात्मक अवस्था अनुरुपका सिकाइ क्रियाकलाप गर्न नपाउँदा 

अभिभावकको मुख्य दायित्व   

प्रारम्भिक बाल सिकाइका लागि उचित वातावरण तयार गर्नु अभिभावकको जिम्मवारी हो । यसका लागि केही मुख्य दायित्व निम्नानुसार छन्ः

  • बालबालिकालाई उचित पोषण तथा हिंसा र दुर्व्यवहारमुक्त वातावरण प्रदान गर्नुपर्दछ । विभिन्न रोग तथा दुर्घटनाबाट बचाउनुपर्छ । 
  • प्रारम्भिक बाल्यवस्थामा शिशु/बालबालिकाले अनुभव गरेर, वास्तविक वस्तुको मद्दतले सिक्दछन् । घरमा भएका विभिन्न वस्तुहरू पहेंला फल, हरिया तरकारी, अन्न गेडागुडी आदि हेर्न, छाम्न, सुँघ्न, सुन्न, खान हुने वस्तुको स्वाद लिन प्रोत्साहन दिनुपर्दछ । 
  • बालबालिकाले साथी तथा ठुला व्यक्तिसँग सिक्ने हुनाले समूहमा खेल्न दिनुपर्छ । आफूले नमुना व्यवहार गरेर देखाउने र घरपरिवार तथा समुदायका विभिन्न क्रियाकलापमा सहभागी गराउनुपर्दछ ।
  • कथा सुनाउने, भन्न लाउने र कुराकानी गरेर भाषा, सञ्चार जस्तै प्रश्न सोध्न प्रोत्साहन गर्ने र उनीहरूले प्रश्न गर्दा धैर्यताका साथ जवाफ दिने गर्नुपर्छ ।
  • बालबालिकाले आफ्नै परिवेशमा उमेर, क्षमताअनुरुप जे कुरा पनि विभिन्न तरिकाबाट सिकिरहेका हुन्छन् । त्यसैले घरमा गरिने विभिन्न क्रियाकलाप (तरकारी केलाउने, सरसफाइ गर्ने, लुगा धुने आदि) लाई सिकाइमा जोडेर लैजानुपर्छ । साथै आफ्नो र घरका काममा उनीहरूलाई जिम्मेवार बनाउँदै लैजानुपर्छ ।
  • बालबालिकाको बहुल प्रतिभा विकास गर्न सोअनुसारका विभिन्न अवसर प्रदान गर्नुपर्दछ ।
  • बालबालिकालाई कुनै किसिमको भेदभाव नगरीकन समान रूपमा खेल्ने समय प्रदान गर्नुपर्दछ र धेरै प्रशंसा गर्नुपर्दछ ।