गर्भावस्थामा के हुन्छ ?
गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा
प्रकृतिले आफ्नो सृष्टिलाई निरन्तरता दिन प्रत्येक प्राणीमा नवजन्मको व्यवस्था गरेको छ । बोटबिरुवा, जनावर, मानव सबैमा जीवनचक्र हुन्छ । गर्भावस्था मानव विकासको पहिलो चरण हो । शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनुपूर्व आमाको पेटभित्र गर्भाशयमा बस्ने अवधिलाई गर्भावस्था भनिन्छ ।
यो अवधि पुरुषको शुक्रकिट र महिलाको डिम्ब मिलेर गर्भ रहेको दिनदेखि कुल २७० दिन वा चालिस हप्ता अथवा नौ महिना सात दिन भन्ने बुझिन्छ । यो अवधिलाई गर्भवतीको शारीरिक संवेगात्मक परिवर्तन तथा शिशुको विकासात्मक अवधिको आधारमा तीन भागमा विभाजन गरिएको छ । यस अवस्थामा आमामा हुने परिवर्तन र शिशुको विकास यसप्रकार छन्ः
पहिलो तीन महिना – गर्भ रहेदेखि ३ महिना
| गर्भावस्थामा आउने शारीरिक परिवर्तन | महिनावारी रोकिनु, वाकवाकी लाग्नु, थकान महसुस हुनु, चक्कर आएको जस्तो झुम्म भइरहनु, पिसाबको जाँच गर्दा गर्भवती देखिनु सुरुवाती चिह्न तथा लक्षणहरू हुन् । यस अवस्थामा पिसाब लागिरहने, छिटोछिटो भोक लाग्ने पनि हुन्छ । |
| गर्भवतीमा आउने संवेगमा परिवर्तन | गर्भवतीकोे हर्मोनमा परिवर्तन भइरहने हुनाले रिसाउने, दिक्क लाग्ने, अति खुसी लाग्ने हुन सक्छ । गर्भको शिशुलाई नराम्रो हुने हो की भन्ने डर, असुरक्षाको महसुस पनि हुन्छ । यो साधारण हो, तर गर्भवती खुसी रहनु जरुरी हुन्छ । |
| गर्भमा रहेको शिशुको वृद्धि र विकास | डिम्बावस्थाः यो अवस्था पुरुषको शुक्रकिट र महिलाको डिम्ब मिलेर गर्भ रहेको दिनदेखि १५ दिन भन्ने बुझिन्छ । गर्भ रहेको करिब २४ देखि ३६ घण्टापछि कोष विभाजन सुरु हुन्छ । करिब ५ दिनमा सयौं कोषहरू विभाजन भइसकेको हुन्छ । यो करिब ५ दिनदेखि पाठेघरको भित्तामा टाँसिएर बस्दछ । ब्लास्टोसिस्टका बाहिरी भाग साल बन्न सुरु गर्छ भने, भित्री भाग भ्रूण मानव जीवनको रूपमा विकसित हुन सुरु गर्छ । भ्रूण अवस्थाः यो अवस्था दुई हप्तादेखि आठ हप्ता सम्मको अवधि हो । यो अवस्थामा मानव शरीरको सबै अङ्गहरू छुट्टिसकेको हुन्छ । यसको आकार एक इन्च लामो र आठ ग्राम तौलको हुन्छ । मस्तिष्कको विकास पनि करिब तेस्रोे हप्ताबाट सुरु हुन्छ । विस्तारै शिशुका कपाल, नङ, दाँत तथा पाचन प्रणालीहरू बन्दछ । १३ हप्तासम्ममा शिशु ३ इन्च लामो र २८ ग्रामको तौल हुन्छ । मांशपेशीहरूको समन्वय बढ्दै जान्छ र छोएको अनुभव गर्न थाल्छन ।ज्ञछ खुट्टा हात चलाउन थाल्छन् । मुख खोल्ने बन्द गर्ने गर्छ । फोक्सोले स्वास लिन पनि सुरु गर्छ । छोरा र छोरी छुट्टिन्छ । |
दोस्रो तीन महिना – गर्भ रहेको ३ महिना देखि ६ महिना
| गर्भवतीमा आउने शारीरिक परिवर्तन | यस अवधिमा पेट र स्तनको आकार बढ्ने, थकान महसुस हुने, खुट्टा गल्ने, गर्भमा रहेको बच्चा चलमलाउने, छिटो भोक लाग्ने, तौल बढ्दै जाने हुन्छ । |
| गर्भवतीमा आउने संवेगमा परिवर्तन | हर्मोनमा आउने परिवर्तनले रिसाउने, दिक्क हुने, रुन मन लाग्ने हुन सक्दछ । कुनै चिन्तित हुनुपर्ने लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर सल्लाह गरि हाल्नुपर्दछ । |
| गर्भमा रहेको शिशुको वृद्धि र विकास | करिब २१ हप्तादेखि शिशुले स्वाद लिने, छुट्याउन सक्ने प्रतिक्रिया दिने गर्न थाल्छन् । विस्तारै सुन्न र देख्न पनि थाल्दछ । गन्ध र स्पर्श पनि महसुस गर्न सक्छ । विस्तारै चलमलाउन पनि थाल्दछ । टाउकोमा कपाल पनि आउन थाल्छ । २४ हप्ताको शिशुले दुखाइ तथा असजिलो महसुस गर्न सक्छ । ४ देखि ६ महिनामा गर्भको शिशुको शरीर पूर्ण रूपमा विकास हुन्छ । शरीरको आकार झण्डै १५ इन्च सम्म र तौल झण्डै ७५ ग्राम सम्मको हुन्छ । |
अन्तिम तीन महिना – गर्भ रहेको ६ देखि ९ महिना
| गर्भवतीमा आउने शारीरिक परिवर्तन | यस अवधिमा पेट र स्तनको आकार बढ्ने, निहुरेर काम गर्न नसक्ने, थकान महसुस हुने, खुट्टा सुन्निने, फर्कने, छिटो भोक लाग्ने, तौल बढ्ने हुन्छ । |
| गर्भवतीमा आउने संवेगमा परिवर्तन | शिशु चलेको, खेलेकाले आमालाई आनन्द आउने हुन्छ । शिशु जन्माउने क्रममा आफू पनि खतरामा पर्छु कि भन्ने डर पनि भइरहन्छ । |
| गर्भमा रहेको शिशुको वृद्धि र विकास | करिब २८ हप्तामा शिशुले आमाबुबाको आवाज सुनेर उतैतिर ध्यान दिने गर्छन् । गर्भ भित्र शिशुले हातखुट्टा चलाउने, जिउ तन्काउने, निदाउने, हाइ काढ्ने गर्दछ । आफू वरिपरि हुने अधिकांश क्रियाकलापहरू शिशुले आमाको पेटभित्र भएपनि सुन्ने र अनुभूति गर्ने गर्छ । शिशुले गर्भ भित्रै आँखा झिम्क्याउने व्रिmयाकलापहरू पनि गर्न थाल्छन् । वातावरणअनुसार प्रतिक्रिया पनि जनाउँछन् ।ज्ञट नयाँ आवाजहरू सुन्दा शिशुको मुटुको धड्कन र मस्तिष्कको तरङ्ग बढ्दछ । |
गर्भधारणको तयारी
- नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पहिलोपटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ । कानुनी रूपमा विवाह हुने उमेर महिला र पुरुष दुवैको कम्तीमा २० वर्ष नाघेको हुनुपर्दछ ।
- आमाबुबा दुबैलाई दीर्घ रोग तथा कुपोषण नभएको हनुपर्छ । साथै आर्थिक जोहो पनि गर्नुपर्छ ।
- विभिन्न अनुसन्धानले देखाएअनुसार मानसिक तथा शारीरिक तयारी भएर जन्माएको शिशु, भविष्यमा मानसिक समस्या कम हुने, आत्महत्या तथा बाल अपराधमा नलाग्ने, असल र बुद्धिमान हुन्छन् । त्यसैले शिशु जन्माउने तयारी र योजना बनाउनुपर्छ ।
- एक बच्चादेखि अर्काे बच्चा बिचको उपयुक्त जन्मान्तर कम्तीमा ३ वर्ष हुनुपर्छ ।
गर्भवती भएको कसरी थाहा पाउने ?
अधिकांश महिलाहरू आफू गर्भवती भए नभएको एकैपटक थाहा पाउँदैनन् । खासगरी महिनावारी रोकिनु पहिलो लक्षण हो । गर्भ छ छैन भन्ने जाँचका लागि पाइने साधन आजकल सहजै औषधी पसलमा पाइन्छ । महिलाले घरमै गर्भ जाँच गर्ने साधन ल्याएर पनि हेर्न सकिन्छ वा नजिकको स्वास्थ्य संस्थामा गएर पनि जाँच गर्न सकिन्छ ।
गर्भवती जाँच तथा स्याहार
गर्भवती भएको थाहा पाएपछि गर्भवती महिलाको स्वास्थ्य स्थिति र गर्भमा रहेको बच्चाको वृद्धि तथा विकासको अवस्थाको जानकारी लिन स्वास्थ्य संस्था वा अस्पताल गई दक्ष स्वास्थ्यकर्मीबाट नियमित कम्तीमा आठपटक गर्भ जाँच गराउनुपर्दछ (विस्तृत समय र यसको उद्देश्य तल चार्टमा उल्लेख छ) । नियमानुसार गर्भ जाँच गरेबापत यातायात खर्च ठाउँअनुसार सम्बन्धित स्वास्थ्य संस्थाबाट पाउन सकिन्छ ।ज्ञड गर्भ जाँच गर्नका लागि सकेसम्म सधैँँ दम्पत्ति नै जानुपर्दछ ।
गर्भवती हुँदा निम्न तयारीहरू गर्नुपर्दछः
१. उपचारको लागि पैसाको व्यवस्था
२. आकस्मिक अवस्थामा यातायात साधनको व्यवस्था
३. सुत्केरी गराउने स्वास्थ्य संस्था वा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था
४. आकस्मिक अवस्थामा रगत दिन सक्ने तीन जना मानिसको व्यवस्था
| पटक | अवधि | उद्देश्य |
| पहिलोपटक | गर्भ रहेको १२ हप्ताभित्र | गर्भरहेको पहिचान, गर्भावस्थाका खतराका चिह्न परीक्षण, TD को पहिलो मात्रा दिने, फोलिक एसिड दिने र आवश्यक स्वास्थ्य परीक्षण र पोषण परामर्शको लागि |
| दोस्रोपटक | गर्भ रहेको १६ हप्ताभित्र | TD को दोस्रो मात्रा दिने, आइरन फोलिक एसिड दिने, deworming tablet दिने र आवश्यक स्वास्थ्य र पोषण परामर्शको लागि |
| तेस्रोपटक | गर्भ रहेको २०–२४ हप्ताभित्रः | नियमित आइरन फोलिक एसिड, खतराको चिह्नबारे जानकारी तथा परामर्श शिशु विकासको अवस्था, आमाको पाठेघरको अवस्था, रक्तचापको अवस्था पहिचान गर्न र आवश्यक स्वास्थ्य परीक्षण (रगतमा हेमोग्लोबिनको मात्रा, रक्तचाप, पिसाबमा प्रोटिनको मात्रा) अल्ट्रासाउन्ड र पोषण परामर्शको लागि |
| चौथोपटक | गर्भ रहेको २८ हप्तामा | नियमित आइरन फोलिक एसिड, आमाको शरीरमा रक्त्तचाप, पिसाबमा प्रोटिनको मात्रा लगाउने र आवश्यक स्वास्थ्य र पोषण परामर्शको लागि |
| पाँचौपटक | गर्भ रहेको ३२ हप्तामा | नियमित आइरन फोलिक एसिड, नियमित स्वास्थ्य परीक्षण (तौल, रक्त्तचाप, पिसाबमा प्रोटिनको मात्रा) र पोषण परामर्शको लागि तथा शिशु विकासको अवस्था पत्ता लगाउन |
| छैठौँपटक | गर्भ रहेको ३४ हप्तामा | नियमित आइरन फोलिक एसिड, नियमित स्वास्थ्य परीक्षण (तौल, रक्त्तचाप, पिसाबमा प्रोटिनको मात्रा) र पोषण परामर्शको लागि तथा शिशु विकासको अवस्था |
| सातौँपटक | गर्भ रहेको ३६ हप्तामा | शिशु विकासको अवस्था, नियमित आइरन फोलिक एसिड, नियमित स्वास्थ्य परीक्षण (तौल, रक्त्तचाप, पिसाबमा प्रोटिनको मात्रा) र पोषण परामर्शको लागि |
| आठौँपटक | गर्भ रहेको ३८–४० हप्ताभित्र | शिशुको अवस्था पहिचान, शिशु जन्मको तयारी वा योजना |
गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा
तल दिइएका खतराका लक्षणहरू देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्छ:
⚠️गर्भवती महिलाको टाउको साह्रै दुखेमा
⚠️ हात खुट्टा अररो भई काम छुटेमा वा मुर्छा परेमा
⚠️आँखा तिरमिराएर धमिलो देख्ने भएमा वा हात वा मुख सुन्निएमा
⚠️ कडासँग तल्लो पेट दुखेमा
⚠️अलिकति पनि गर्भवती महिलाको योनीबाट रगत बगेमा
स्वास्थ्यकर्मीले सिफारिस गरेबमोजिम नियमित आइरनफोलिक एसिड चक्की र जुकाको औषधी खानुपर्छ । खाना पकाउँदा दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ । यसले आमा स्वस्थ हुन्छिन् र शिशुको वृद्धि र विकास राम्रोसित हुन्छ । कुनै पनि खानेकुरामा बार्न आवश्यक छैन । निम्न खाद्य समूहका कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप १ पटक खानुपर्छ ।
| अन्न तथा कन्दमूल | अण्डा |
| दाल तथा गेडागुडी | हरियो सागपात |
| बदाम तथा बीज | भिटामिन ए युक्त तरकारी तथा फलफूल |
| दुध तथा दुग्धजन्य पदार्थ | अन्य तरकारी |
| माछा मासु | अन्य फलफूलहरू |
गर्भावस्था हुने जटिलता र शिशुको अपाङ्गता पहिचान
गर्भावस्थामा आमालाई धेरै वाकवाकी लागेर, बान्ता भएर आमालाई खान रुचि कम भई कुपोषण हुन सक्छ । आमाले जथाभावी औषधी, रक्सी, चुरोट तथा अन्य लागुपदार्थ सेवनको कारणले गर्दा, शिशुको विकासमा जटिलता जस्तैः तौल कम हुने,गर्भ खेर जाने अपाङ्गता हुने सम्भावना हुन्छ ।
गर्भावस्थामा नै नियमित गर्भजाँच मार्फत शिशुको अपाङ्गता पहिचान गर्न सकिन्छ । गर्भावस्थामा पहिचान गर्न सकिने केही अपाङ्गताहरू डाउनसिन्ड्रोम, पैताला हात बाँङ्गिने रोग, बहिरोपन, मोतीविन्दु, ओठ काटिएको, मुटुमा भएका समस्या आदि हुन् । यस्ता अपाङ्गता पहिचान भई तुरुन्तै उपचार गरेर जटिल समस्या हुनबाट रोकथाम पनि गर्न सकिन्छ ।
याद राखौँः
- आफूलाई मन नपर्ने खानाहरू जर्बजस्ती खानु हुँदैन । मन पर्ने खाना स्वाद फेरेर खाने गर्नुपर्दछ । तर मिठोे खाना भनेर धेरै र जथाभावी तयारी तथा पाकेटका खानाहरू खानु हुँदैन । घरमा नै आफूले वा परिवारले बनाएको शुद्ध खाना मात्र खानुपर्छ ।
- टि.डी. खोप पहिलो र दोस्रोे लिनुपर्दछ ।
- औँलो लाग्ने जिल्लाहरूमा गर्भवतीले कीटनाशक औषधीले उपचार गरिएको झुलभित्र सुत्नुपर्दछ ।
- दादुरा, ठेउला, एचआइभी-एड्स र हेपाटाइटिस सङ्क्रमणबाट जोगिनुपर्दछ ।
- आमाबाट शिशुमा हुन सक्ने सङ्क्रमण रोकथाम गर्न गर्भवतीले एचआइभी-एड्स परीक्षण गराउनुपर्दछ ।
- स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित रूपमा व्यायाम गर्ने र तौल वृद्धिमा विचार राख्नुपर्दछ ।
- दाँत माझ्ने, हात, नङ, यौन अङ्ग तथा शरीर सफा राख्नुपर्छ । यसले रोग लाग्न तथा सङ्क्रमण हुनबाट बचाउँछ ।
- दिउँसो पनि प्रशस्त आराम गर्नुपर्दछ । आराम गर्नाले महिलाको स्वास्थ्य राम्रो हुन्छ । गह्रौँ भारी उचाल्नु हुँदैन । गह्रौँ भारी उचाल्नाले बच्चा खेर जान सक्ने तथा आङ (पाठेघर) खस्ने जस्ता समस्याहरू आउन सक्छ ।
- रक्सी, जाँड, चुरोट, खैनी खानु हुँदैन । यस्ता पदार्थको सेवनले गर्भपतन हुने, शिशुको वृद्धि विकास नहुने, कम तौल भएका बच्चा जन्मिने आदि खतरा हुन सक्छ ।
परिवारको भूमिका
- गर्भावस्थामा, शिशु जन्मने बेला वा जन्मेपछिको आवश्यक सेवाहरूलाई समयमै पुर्याउन नजिकैको स्वास्थ्य संस्थाबारे पूर्वजानकारी राख्नुपर्छ ।
- गर्भवती महिलालाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्दत गर्नुपर्दछ ।
- श्रीमान तथा परिवारका सदस्यले घरायसी दैनिक काममा सघाउने, गर्भवतीलाई ठुला गह्रौँ सामानहरू बोक्ने, उचाल्ने वा जोखिमपूर्ण कामहरूमा लगाउनु हुँदैन ।
- गर्भवतीको अगाडि धूमपान, मद्यपान गर्नु हुँदैन । यसैगरी खेतबारीमा हाल्ने मल, कीटनाशक औषधीहरू गर्भवतीको वरिपरि राख्नु हुँदैन ।
- गर्भावस्थामा शरीरमा आउने परिवर्तनकाबारेमा कुराकानी र मानसिक तयारी गर्नुपर्दछ ।
- गर्भमा रहेको शिशुले पनि आवाजहरू सुन्ने भएकाले आमासँगै शिशुसँग पनि कुराकानी गर्ने, गीत सङ्गीत सुनाउने र पेटमा छुने गर्नुपर्दछ ।
- आआफ्नो सस्कृति अनुरुप सकारात्मक चालचलनहरू गर्न र गराउन सहयोग गर्नुपर्छ
जन्मको लागि तयारी
- शिशु जन्माउनको लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, पायक पर्नेे अस्पताल वा स्वास्थ्य केन्द्रको छनौट गर्नुपर्दछ ।
- सुत्केरी हुने महिलाको मन दह्रोे गर्न उत्प्रेरणा दिनुपर्छ ।
- आमा र शिशुको लागि सफा र नरम लुगा कपडाहरू तयार गरेर राख्नुपर्छ ।
- शिशुलाई लुगा, कपडा(ओड्ने, बिछौना), पैसाको जोहो गर्नुपर्दछ ।
- प्रसूतिका लागि गर्भवती आमालाई स्वास्थ्यसंस्थामा लैजान स्थानीय क्षेत्रमा पाईने यातायातका साधनहरूको (एम्बुलेन्स, गाडी, गाढा आदि) व्यवस्था गर्नुपर्दछ ।