खेलले तपाईँका बालबालिकाको मानसिक स्वास्थ्य कसरी बलियो बनाउँछ ?

तपाईँका बालबालिकाको भावनात्मक निरोगिताका लागि खेलमय क्षणहरू अत्यावश्यक छन्

युनिसेफ नेपाल
An illustration of a boy in three phases: crying, stopped crying and happy
UNICEF Nepal/2024/PShrestha
04 जुन 2024

खेल नै त्यो माध्यम हो जसबाट बालबालिकाले आफ्नो वरिपरिको संसारबारे सिक्न र अर्थ लगाउन सक्छन् । उनीहरूले रमाइलो गरिरहँदा सूक्ष्म र स्थुल अङ्गको विकास, संज्ञानात्मक, सामाजिक र भावनात्मक सिपहरूको विकास जस्ता महत्वपूर्ण कुराहरूमा काम गरिरहेका हुन्छन् । तर, खेलको शक्ति प्रारम्भिक सिकाइभन्दा परसम्म फैलन्छ । यसले तपाईँका बालबालिकाको मात्र नभई तपाईँको पनि मानसिक स्वास्थ्य राम्रो बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । खेलका लागि समय छुट्याउनु रमाइलो र स्वास्थ्यबर्धक कुरा हो  । 

 

जुन बालबालिकाले आफ्ना बुबाआमासँग नियमित रूपमा खेल्छन्, उनीहरूमा चिन्ता, अवसाद, आक्रोश र अनिद्रा जस्ता समस्याहरू हुने सम्भावना कम हुन्छ ।

खेलले तपाईँ र तपाईँका बालबालिका बिचको आपसी सम्बन्ध र आत्मियता बढाउन सहयोग गर्छ ।

An illustration of a mother hugging her daughter
UNICEF Nepal/2024/PShrestha

रमाइलो तथा सिकाइका खुसीयुक्त क्षणहरूमा साथसाथै हुनुले बालबालिका र उनीहरूका हेरचाहकर्तालाई एकआपसमा नजिक ल्याउन मद्दत गर्दछ । तपाईँको बालबालिकाको खेल्ने पहिलो साथीका रूपमा घरमै सिकाइ एवम् सम्बन्ध र आत्मियता निर्माणको अवसर उपलब्ध गराउने क्षमता तपाईँसँग छ । सँगसँगै खेल्दा तपाईँले आफ्ना बालबालिकाको दृष्टिकोणबाट संसार हेर्न सक्नुहुन्छ ।

आफ्ना बालबालिकालाई प्रेम, आनन्द र ध्यान दिएर तपाईँले उनीहरूको मानसिक स्वास्थ्य र भविष्यको तन्दुरुस्तीमा सघाउ पुर्‍याउने भावनात्मक एवम् सामाजिक सिपहरू विकासको जग तयार पारिरहनुभएको हुन्छ ।

खेलले तनाव घटाउन सहयोग पुर्‍याउँछ ।

खेलहरू खेल्नु, नाच्नु र गाउनु तपाईँका बालबालिका र तपाईँ दुबैको तनाव हटाउने उत्तम तरिकाहरू हुन् । जब तपाईँहरू सँगसँगै र रमाउनुहुन्छ र हाँस्नुहुन्छ, तपाईँको शरीरमा इन्डोर्फिन्स नामको रसायन उत्पन्न हुन्छ । यसले तन्दुरुस्तीको अनुभूति  दिन्छ ।

बालबालिकासँग छोटा समय खेल्दा पनि वयस्कहरूका लागि आफ्ना बालबालिकालाई सहयोग  पुर्‍याउने आफ्नो क्षमता स्मरण गराउने शक्तिशाली माध्यम हुन सक्दच। यसले तपाईँलाई विभिन्न किसिमका तनावहरू भूल्ने अवसरसमेत प्रदान गर्दछ ।

खेलले बालबालिकालाई तनावबाट उत्पन्न हुनसक्ने नकारात्मक असरहरूबाट समेत बचाउने अनुसन्धानहरूले देखाएका छन् । लामो समयको तनावपूर्ण अवस्थाले बालबालिकाको शारीरिक एवम् मानसिक स्वास्थ्यमा असर पार्न सक्दछ । वयस्कहरूसँगको खेल र सकारात्मक एवम् सहयोगी सम्बन्धहरूले ती असरहरूलाई कम गर्न मद्दत गर्न सक्छन् ।

खेलले बालबालिकालाई कठिन भावनाहरू कम गर्न मद्दत गर्दछ ।

An illustration of a boy looking at the toys and wondering

बालबालिकालाई खेल्न दिँदा त्यसले उनीहरूलाई पीडा, डर वा क्षति जस्ता संवेगहरूमा काम गर्ने अवसर दिन्छ । त्यो पनि बालबालिका जस्तै व्यवहार गरिरहँदा नै यस्तो गर्न सकिरहेका हुन्छन् । खेलले उनीहरूलाई पूर्ण रूपमा व्याख्या गर्न आफुसँग शब्दहरू अझै नभइसकेका तर आफुले सङ्घर्ष गरिरहेका कुराहरू अभिव्यक्त गर्ने तरिका उपलब्ध गराउँछ । 

काल्पनिक खेलहरूमार्फत पीडायुक्त घटनाहरू बारम्बार पुनः सृजना गर्दै बालबालिकाले आफुसँग घटेका कुराहरूको प्रभावलाई बुझ्ने प्रयास गरिरहेका हुन्छन् । उदाहरणका लागि, तपाईँका बालबालिकाले वयस्कहरूको झगडा देखेका छन् भने उनीहरू त्यस द्वन्द्वलाई आफ्नो खेलौनासँग खेल्दा पुनः सृजना गर्न सक्दछन् ।

खेलले आत्मविश्वास निर्माणमा मद्दत गर्दछ ।

खेलका क्रममा वा पजलहरू मिलाउने क्रममा समस्या समाधान गर्दा वा रचनात्मक समाधान पत्ता लगाउँदा त्यसले बालबालिकालाई उपलब्धि र आफ्नो सक्षमताको अनुभूति दिन्छ । आफ्ना बालबालिकासँग खेल्न समय दिँदा तपाईँका बालबालिकाले महत्त्व पाएको र तपाईँ वरिपरि हुँदा रमाइलो भएको थाहा पाइरहेको हुन्छ । खेलका समयमा तपाईँले पूर्ण रूपमा ध्यान दिनु र सँगसँगै खेलिरहेको खेलमा पूर्ण रूपमा संलग्न हुनु महत्त्वपूर्ण हुन्छ । सँगसँगै अनुभवहरू आदानप्रदान गर्नाले उनीहरूलाई माया गरिएको र उनीहरू महत्त्वपूर्ण रहेको थाहा पाउन बालबालिकालाई मद्दत गर्दछ । 

त्यसैले मुस्कुराउनुहोस्, खेलमा सहभागी हुनुहोस् र प्रत्येक क्षणको आनन्द लिनुहोस् !