अभिभावकीय शैली
अभिभावकले बालबालिकालाई कस्तो व्यवहार गर्नुपर्दछ?
अभिभावक बालबालिकाका लागि नमुना व्यक्तित्व हो । अभिभावकले गरेको व्यवहार अवलोकन गरेर बालबालिकाले अभिभावकको व्यवहार अनुरुप आफ्नो व्यवहार बनाउँछन् ।
यसैलाई प्रमाणित गर्नको लागि प्रसिद्ध मनोवैज्ञानिक Diana Baumrind ले १९६७ मा तीन किसिमको अभिभावकीय शैलीहरू प्रस्तुत गरेकी थिइन् । उक्त शैलीलाई १९८३ मा Maccoby and Martin ले अर्को एक शैली थप गरी ४ किसिमको शैली प्रस्तुत गरेका थिए । यी ४ शैली नै मुख्य अभिभावकीय शैलीका रूपमा लिइन्छ ।
उक्त शैलीहरू निम्न प्रकारका छन्:
निरङ्कुश अभिभावकीय शैली - निरङ्कुश अभिभावकीय शैलीमा अभिभावकहरू नीति नियम आफूले तयार गर्ने र बालबालिकालाई पालन गर्न लगाउने गर्छन् । नीति नियम नमानेमा वा उल्लङघ्न गरेमा विभिन्न सजायहरू तोक्ने र सजायपनि दिने गर्दछन् । बालबालिकाले गरेका कार्यहरूको स्पष्टीकरण भन्दा पनि सजायमा मह¬व राख्दछन् । यस शैलीलाई पछ्याउने अभिभावकले बालबालिकासँग धेरै आशाहरू गरेका हुन्छन् । तर, यसको दाँजोमा आफ्नो उत्तरदायित्व अत्यन्त न्यून हुन्छ । यस प्रकारको अभिभावकीय शैलीलाई परम्परागत शैली पनि भनिन्छ ।
निर्णायक/आधिकारिक अभिभावकीय शैली: यस प्रकारको अभिभावकीय शैलीमा बालबालिकालाई अभिभावकले आफूसरह स्थान दिने गर्छन् । घर परिवारको निर्णय लिंदा बालबालिकासँग सल्लाहसुझाव लिने, घरको नियमहरू बनाउँदा बालकेन्द्रित तरिका अवलम्बन गर्ने, बालबालिकालाई सम्मानपूर्ण व्यवहार गर्ने गर्दछन् । सकारात्मक अनुशासन लागु गर्छन् । यस्तो अभिभावकहरू बालबालिकासँग आशापनि उच्च स्तरको गर्छन् भने बालबालिकाप्रति आफूले पनि उत्तरदायीपूर्ण व्यवहार गर्छन् ।
अनुमतिशील अभिभावकीय शैली: यसप्रकारको शैली पछ््याउने अभिभावकहरूले बालबालिकाकाले जे गरेपनि स्वीकार गर्छन् । बालबालिकाकोलागि कुनै पनि नियम बनेको हँुदैन र भएका नियम पनि लागु हँुदैन । उनीहरूको सबै मागहरू पूरा गरिनुपर्छ र सो मागहरू पूरा गर्नु अभिभावकको कर्तव्य हो भन्ने धारणा हुन्छ । यस प्रकारको अभिभावकहरूले बालबालिकासँग कुनै पनि आशा गरेका हँुदैनन्, तर अभिभावक बालबालिकाप्रति अत्यन्त जिम्मेवार हुन्छन् । बालबालिकाको गल्ती नदेख्ने, कुनै कामहरू बिगारेका छन् भने पनि गल्ती नदेखाउने, सुझावहरू नदिने वा अत्यन्त फूर्काएर हुर्काइन्छ ।
असंलग्न अभिभावकीय शैली: यसप्रकारको शैलीमा बालबालिकालाई अभिभावकले वास्ता गर्दैनन् । अभिभावकहरूले बालबालिका आफैँ हुर्कन्छन् भन्ने विश्वास राख्छन् । यस प्रकारको अभिभावकत्वमा बालबालिकाको पनि अभिभावकप्रति न्यून आशा हुन्छ भने अभिभावकको पनि बालबालिका प्रति न्यून उत्तरदायित्व हुन्छ । यस शैलीमा अभिभावकले बालबालिकाको लागि कुनै योजना नबनाउने, अन्तरक्रिया नगर्ने, खेल उत्प्रेरणा नगर्ने अर्थात बालबालिकालाई कुनै पनि मह¬व नदिई बेवास्तापूर्ण व्यवहारहरू गर्दछन् ।
यी चार किसिमका अभिभावकीय शैलीहरूले बालबालिकाको हुर्काइ तथा व्यवहारमा फरक फरक असर गर्ने विभिन्न अध्ययनले देखाएको छ ।
| अभिभावकीय शैली | बालबालिकाको हुर्काइ तथा व्यवहार |
|---|---|
| निरङ्कुश | यसप्रकारको शैलीमा हुर्केका बालबालिकामा आक्रमकता तथा बदलाको भाव हुने गर्दछ । सजायबाट बच्न झुठो बोल्न सिपालु हुन्छन् । परनिर्भर हुने, आत्मविश्वासमा कमी, संवेगहरूको व्यवस्थापनमा कठिनाइ देखापर्न सक्छन् । |
| निर्णायक/आधिकारिक | यसप्रकारको शैलीमा बालबालिकाको आशा र अभिभावकको जिम्मेवारी बराबर हुने हुनाले बालबालिका जिम्मेवार हुने, आत्मनिर्भर हुने, शान्त र मनको कुरा बुझेर व्यवहार गर्ने, सकारात्मक सामाजिक सम्बन्ध, दृढ आत्मविश्वास जस्ता सकारात्मक व्यवहारको विकास हुन्छ । |
| अनुमतिशील | अनुमतिशील शैलीमा विश्वास गर्ने अभिभावकका बालबालिका कुनै पनि कार्यको जिम्मेवारी नलिने, सानो समस्यामा पनि अत्तालिने, काम पूरा नगर्ने, सामाजिक सिप अन्तरक्रियामा कमी हुने, आफूलाई नै महत्त्व दिनुपर्ने भावनाको विकास, संवेग नियन्त्रणमा कठिनाइ आदि व्यवहारमा समस्या देखापर्छ । |
| असंलग्न | यस शैलीमा पनि अनुमतिशील शैलीमा जस्तै संवेगमा नियन्त्रण गर्न नसक्ने, धेरै समस्याहरू सिर्जना गर्ने, अपराधिक क्रियाकलापमा संलग्न हुने, लागुपदार्थ दुव्र्यसन तथा मानसिक समस्याहरू देखापर्छ । |
अभिभावकीय शैलीको महत्त्व
अभिभावकीय शैलीबारे ज्ञान भएमा आफ्नो शैलीलाई समीक्षा गरेर आफ्नो व्यवहार नियन्त्रण र सुधार गर्न सकिन्छ । धेरैजसो अभिभावकले समय र परिस्थितिअनुसार विभिन्न शैलीहरूलाई मिसाएर व्यवहार गर्छन् । जुन खासमा बालबालिकाको व्यवहार विकासमा त्यति सहयोगी हुँदैन । अभिभावकले बालबालिकालाई सधैँ एकैनासको व्यवहार गर्ने गर्नुपर्दछ । अभिभावकले बालबालिकामा जस्तो शैलीको बढी प्रयोग गर्छन्, बालबालिकाको हुर्काइ तथा व्यवहार पनि त्यस्तै हुँदै जान्छ ।
माथिका शैलीहरूमध्ये सबैभन्दा उत्तम शैली निर्णायक/आधिकारिक शैली हो, यसले बालबालिकालाई सर्वाङ्गीण विकासको उपयुक्त अवसर दिन्छ । अभिभावक शिक्षाको मुख्य उद्देश्य पनि अभिभावकलाई निर्णायक/आधिकारिक अभिभावकीय शैलीको प्रवर्धन गर्ने र अभिभावकको व्यवहारलाई सकारात्मक बनाउन सहयोग गर्ने हो । तर अभिभावकीय शैली यो भन्दा फरक भयो भन्दैमा आफू वा अरूलाई दोष दिनु चाहिँ हुँदैन ।
निर्णायक/आधिकारिक अभिभावकीय शैली कसरी अपनाउने ?
- बालबालिकासँग सकारात्मक सम्बन्ध बनाउनुपर्छ र उनीहरूलाई सकारात्मक भावना देखाउनुपर्छ । आफ्नो आशा पूरा भएपछि बालबालिकालाई स्यावासी दिने, खुसी व्यक्त गर्ने गर्नाले उनीहरू पनि अभिभावकलाई खुसी पार्न थप मिहेनत गर्छन् । यसो भन्दैमा अभिभावकले बालबालिकासँग उनीहरूको उमेर, क्षमता भन्दा धेरै आशा चाहिँ राख्नु हुँदैन । अरू बालबालिकासँग तुलना गर्नु हुँदैन ।
- बालबालिकाको कुरा सुन्नुपर्छ । उनीहरूसँग धेरै भन्दा धेरै अन्तरक्रिया गर्ने, सँगै खेल्ने गर्नुपर्दछ ।
- बालबालिकालाई कस्तो महसुस भइरहेको छ, सो भावनालाई शब्दमा व्यक्त गर्न सिकाउनुपर्छ ।
- बालबालिकाले राम्रो काम गरेमा प्रशंसा गर्नुपर्दछ र सो व्यवहार राम्रो हुनुको कारण पनि बताइदिनुपर्छ ।
- बालबालिकालाई आफूले अपेक्षा गरेका व्यवहार तथा घरपरिवारका नियमहरू प्रष्ट रूपमा बताउनुपर्छ र आफूले पनि सो अनुरुप व्यवहार गर्नुपर्दछ ।
- बालबालिकाले नियम तोड्दा वा खराब व्यवहार गर्दा, त्यो किन गलत छ र त्यसको विकल्प के हो बताइदिनुपर्छ । बालबालिकालाई सकारात्मक अनुशासनमा राख्नुपर्छ ।
- बालबालिकालाई साना निर्णयहरू आफैँ लिन दिनुपर्छ ।
- बालबालिकाको क्षमताअनुसार घरका केही जिम्मेवारी दिनुपर्छ ।
- बालबालिकालाई तनाव व्यवस्थापन तथा रिस हुँदा शान्त हुने तरिका सिकाउनुपर्छ ।