प्रिय मात्रिका,
तपाईंको विचारोत्तेजक पत्र र त्यसमा नेपालभरका धेरै बालबालिका तथा युवाहरूले साझा रूपमा प्रस्तुत गरेका महत्त्वपूर्ण चासो र चिन्ताहरूलाई उठान गर्नुभएकोमा तपाईंलाई धन्यवाद छ । विशेषगरी, आज विश्व बाल दिवस मनाइरहँदा जलवायु परिवर्तनले शिक्षा र स्वास्थ्यसहित बालबालिकाको जीवनलाई कसरी प्रभावित पारिरहेको छ भन्ने बारेका तपाईंका विचारहरूलाई हामीले गम्भीर रूपमा लिएका छौँ । बालबालिकाका आवाज र अधिकारहरूलाई विश्वभर जहाँ पनि प्रवर्द्धन गर्न समर्पित यस विशेष दिनमा तपाईंको पत्रले बालबालिका र युवाहरूलाई सुन्न र उनीहरूको भविष्य सुरक्षित गर्ने कार्यहरू गर्न किन जरुरी छ भन्ने स्मरण गराउँछ । नेपाल सरकार र युनिसेफ दुवै संस्था र ठूलो संख्यामा रहेका हाम्रा साझेदारहरू नेपालका बालबालिका स्वस्थ, सुरक्षित र जलवायु प्रतिरोधी छन् भनी सुनिश्चित गर्ने प्रमुख चुतौतीहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छौँ ।
नेपालका तपाईं जस्ता बालबालिका र युवाहरू जलवायु सङ्कटको केन्द्रमा हुनुहुन्छ । युनिसेफको बालबालिकामा जलवायु जोखिमसम्बन्धी सूचकाङ्कमा नेपाल १६३ देशहरूमध्ये ५१औँ स्थानमा छ । यसले जलवायुसँग सम्बन्धित खतराहरूमा बालबालिका उच्च जोखिममा रहेको प्रष्ट पार्दछ । यस जोखिमको सामना गर्नुपर्ने अवस्थाले उनीहरूको शिक्षामा बाधा पुर्याउँछ, स्वास्थ्य र पोषणलाई कमजोर बनाउँछ र उनीहरूको हुर्काइ र विकासका लागि आवश्यक सुरक्षित वातावरणमा सम्झौता गर्नुपर्ने अवस्था निम्त्याउँछ । यी जलवायु विशृङ्खलताको एकमुष्ठ प्रभावहरू प्रारम्भिक बालविकासको उमेरदेखि सुरु भई किशोरावस्था र त्यसभन्दा पछि पनि निरन्तर रहँदा तिनले जीवनभरको असफलता निम्त्याउनुका साथै सिङ्गो एउटा पुस्ताको भविष्य जोखिममा पार्न सक्दछन् ।
जलवायु परिवर्तनका यी प्रभावहरू गहिरो गरी एकअर्कामा जोडिएका हुन्छन् । प्रत्येक प्रभावले अरू प्रभावलाई बढाइरहेका हुन्छन् र बालबालिकाका लागि जटिल चुनौतीहरू सिर्जना गर्दछन् ।
बाढीका कारण हुने विस्थापन वा बाली नष्ट हुँदा आउने आर्थिक तनाव जस्ता जलवायु परिवर्तनका दबाबहरूले विद्यालय शिक्षा र स्वास्थ्य सेवामा मात्र अवरोध पुर्याउँदैन कि बालश्रम, बालविवाह जस्ता अप्रिय रोजाइहरूतर्फ परिवारलाई धकेल्ने आदि शोषण र दुर्व्यवहारका जोखिमसमेत बालबालिकामा थप्न सक्दछ । त्यसैकारण, जलवायु सङ्कट मूल रूपमा बालअधिकारको सङ्कट हो ।
त्यसैले पछिल्ला केही महिनामा हामीले तपाईं जस्तै बालबालिका र युवाहरूसँग परामर्श गरिरहेका छौँ किनकी उनीहरूले तेस्रो चरणको राष्ट्रियरूपमा निर्धारित योगदान (एनडिसी ३) सहितका जलवायु सम्बन्धमा तय गरिने क्रियाकलाप र नीतिहरूमा योगदान दिन चाहेका छन् । उनीहरूको आवाज सबल र प्रष्ट छ । हामीले दीगो भविष्य सुनिश्चित गर्न अब उनीहरूसँग काम गर्नै पर्दछ । बालबालिका र युवाहरूले पनि आफ्नो समुदाय, देश र विश्वका लागि उदाहरण प्रस्तुत गरेर प्रभावकारी समाधानको पैरबी गर्ने र वातावरणीय हिसाबले दीगो जीवनशैली प्रवर्द्धन गर्ने सामर्थ्य प्रदर्शन गरेका छन् ।
जलवायु सङ्कटले गम्भीर आर्थिक प्रभावहरू निरन्तर सिर्जना गर्नेछ । खासगरी, बालबालिका र सामाजिक क्षेत्रमा लगानी गर्न हामी चुक्यौँ भने यस्ता प्रभावहरू निरन्तर देखिनेछ । आज न्यूनीकरणका पर्याप्त उपायहरू बिना भोली नेपालले वार्षिक रूपमा कुल गाह्रस्थ उत्पादनको २.२ प्रतिशतको घाटा सामना गर्नुपर्ने हुनसक्छ र त्यसको अनुकूलनको खर्च लाखौँ अमेरिकी डलर हुने सम्भवना रहन्छ । जलवायुसम्बन्धी क्रियाकलापहरूमा गरिएको लगानीले प्रतिफल दिन्छ । युनिसेफले प्रस्तुत गरेको अनुमान अनुसार जलवायुसम्बन्धी अनुकूलनमा आज लगानी गरिएको प्रत्येक १ अमेरिकी डलरले भोलि १० अमेरिकी डलर बराबरको आर्थिक फाइदा उत्पन्न गर्नेछ ।
त्यसैले, जलवायु प्रतिरोधी सामाजिक सेवाहरूमा हामीले तत्कालै लगानी गर्न आवश्यक छ । स्वास्थ्य र पोषण, खानेपानी तथा सरसफाइ र शिक्ष एवम् सुरक्षा जस्ता बालबालिका र युवाहरू भर पर्ने सेवाहरूलाई प्राथमिकतामा राख्नु हामीले गर्न सक्ने उत्तम लगानीहरूमध्ये एक हो ।
यस सँगसँगै, हामीले बालबालिका र युवाहरूलाई जलवायु शिक्षा र हरित सीपहरूले सुसज्जित गर्नु र उनीहरूलाई जलवायु रक्षकका रूपमा सहभागी बनाउनु आवश्यक छ ।
यो विश्व बाल दिवसका अवसरमा हामी तपाईंको विचारप्रति आभारी छौँ र हामी तपाईं र तपाईंका दौँतरीहरूलाई आफ्ना अनुभव र विचारहरू प्रस्तुत गरिरहन आह्वान गर्दछौँ । तपाईंका विचार र ऊर्जासहित हामी मिलेर यस्तो प्रतिरोधी भविष्य निर्माण गर्न सक्छौँ, जहाँ जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीहरूका बीचमा पनि नेपाली बालबालिकाले सिक्न, हुर्कन र सफल हुन सक्छन् । हामी यही पत्रमार्फत् तपाईं र नेपालका सम्पूर्ण बालबालिकामा विश्व बाल दिवसको शुभकामना पनि व्यक्त गर्दछौँ ।
सुदूरपश्चिमका मात्रिकालाई जवाफी पत्र- सम्पादकलाई चिठी - कान्तिपुर समाचार