सुरक्षित विद्यालय सञ्चालनः स्थानीय तहहरूको जिम्मेवारी

कोभिड-१९को सन्दर्भमा विद्यालय पुनःसञ्चालनका लागि स्थानीय तहले गर्नुपर्ने आवश्यक तयारी तथा क्रियाकलापहरू

This image shows an illustration of children going back to school

आफ्नो क्षेत्रका विद्यालयहरूमा विद्यार्थीहरूको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावारण निर्माण गर्नका लागि स्थानीय तहले गर्नुपर्ने पूर्वतयारी तथा न्यूनतम क्रियाकलापहरू के-के हुन्?

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको कोभिड-१९को सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसारः

✅ नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवम् सुरक्षा सम्बन्धी मापदण्ड तथा निर्देशनको परिधिभित्र रही विद्यालय बन्द वा पुनःसञ्चालन गर्ने सम्बन्धमा स्थानीय तहले उपलब्ध भएसम्म जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक महासंघ र विद्यालय सञ्चालकहरूको छाता संगठनका पदाधिकारीहरू, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्यकर्मी, बाल/युवा क्लबका सदस्यहरूसँग परामर्श गरी विद्यालय खोल्ने आधारहरूको समीक्षा गर्नुपर्छ ।

✅ विद्यालय सञ्चालन प्रस्ताव विद्यालयसँग नै माग्नुपर्छ र जिल्ला संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर सञ्चालन वा बन्दको निर्देशन दिनुपर्छ । विद्यालय सञ्चालन वा पुनः सञ्चालन गर्दा स्थानीय तहभित्र सङ्क्रमणको जोखिम नभएको वा सबैभन्दा न्यून रहेको क्षेत्रमा अवस्थित विद्यालयबाट शुरु गर्ने व्यवस्था गर्न सकिन्छ । स्रोत कक्षा तथा विशेष विद्यालयलाई पुनः सुचारु गर्नका लागि स्वास्थ्य विज्ञहरुसँग परामर्श गर्नुपर्छ ।

✅ स्थानीय तहले विद्यालय सञ्चालन गर्ने समय र मिति सहितको सूचना निम्न कुराहरु राखेर स्थानीय भाषामा समेत प्रकाशन गर्नुपर्छ ।

  • विद्यालय खुल्ने र बालबालिका विद्यालय आउने दिन,
  • विद्यालय आउँदा-जाँदा र विद्यालयमा सहदा पालना गर्नुपर्ने स्वास्थ्य सम्बन्धी मापदण्ड,
  • विद्यालय भवनको निर्मलीकरण
  • विद्यालयमा उपलब्ध सुविधा

✅ क्वारेन्टाईन र आइसोलेसनका रुपमा प्रयोग भएका विद्यालय भवन र परिसरको निर्मलीकरण तथा नियमित सरसफाइ भएको हुनुपर्छ ।

✅ विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने र सरसफाइ सम्बन्धी विशेष नियमहरूका विषयमा सचेतीकरण गराउनुपर्छ र घरमा समेत त्यसको अभ्यास गराउने व्यवस्था गर्नुपर्छ ।

✅ सामाजिक विकास समिति वा गाउँ नगर शिक्षा समिति वा अन्य संयन्त्रको प्रयोग गरी स्वास्थ्य संस्था, समुदाय, अभिभावक र विद्यालयका बीचमा सञ्चार तथा समन्वय कायम गर्नुपर्छ ।

✅ स्थानीय स्तरमा कार्यरत गैरसरकारी तथा समुदायमा आधारित संस्थाहरूसँग समन्वय र सहकार्य गरी आवश्यक कार्यहरू गर्ने गराउने गर्नुपर्छ ।

This image shows an illustration of a school desk being disinfected

✅ अपाङ्गता भएका तथा विशेष आवश्यकता भएका बालबालिकाको सवालमा यस क्षेत्रमा काम गर्ने संस्था र अभिभावकहरूसँग समन्वय र सहकार्य गर्ने गरी प्रवन्ध मिलाउनुपर्छ । अपाङ्गता भएका तथा अति विपन्न परिवारका बालबालिकाका लागि विशेष सुविधा, उपचारात्मक शिक्षण, दिवा खाजा व्यवस्थापन लगायतका विषयहरूको आवश्यक प्रवन्ध गर्नुपर्छ ।

✅ विद्यालयमा पठनपाठन सुचारु गर्नका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, प्रदेश तथा स्थानीय तहमा विकास गरिएका सिकाइ सामाग्रीहरूको प्राप्ति तथा वितरणका लागि समन्वय गर्नुपर्छ । साथै संक्रमण व्यवस्थापन तथा बालबालिकाको सिकाइ निरन्तरताका लागि प्रतिकार्य योजना तयार गरी सोको कार्यान्वयन गराउनुपर्छ ।

✅ प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति, स्थानीय स्तरमा कार्यरत गैरसरकारी तथा समुदायमा आधारित संस्थाहरूबाट भएका काममा निरन्तर समन्वय र सहजीकरण गर्नुपर्छ ।

✅ वडास्तरीय अनुगमन तथा सहजीकरण उपसमिति गठन गरी जनस्वास्थ्यका तथा सुरक्षाका मापदण्ड सुनिश्चित गरिएको अनुगमन गर्नुपर्छ ।

This image shows an illustration of a boy in a wheelchair washing his hands

स्थानीय तहको मुख्य जिम्मेवारी तथा उत्तरदायित्वहरूः

१. विद्यालय भवन तथा परिसरमा क्वारेन्टीन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने ।

२. सो उद्देश्यले पहिले प्रयोग भएला विद्यालय निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने ।

३. विद्यालय क्षेत्र निकट हुने गरी कोभिड-१९ रोकथाम र नियन्त्र सम्बन्धी संरचना नराख्ने ।

४. विद्यालय सञ्चालनका लागि स्थानीय स्रोतको पहिचान र परिचालन गर्ने ।

५.  सम्बन्धित निकायसँग समन्वय ।

६. जोखिम विश्लेषण गरी विद्यालय बन्द र पुनः सञ्चालन ।

७. स्थानीय स्तरमा कार्यरत गैरसरकारी तथा समुदायमा आधारित संस्थाहरुको परिचालन र समन्वय ।

८. विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ परिचालन गरी विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाहरुलाइ थप क्रियाशील बनाउने ।

९. सुरक्षित विद्यालय सञ्चालन सम्बन्धी सूचकका आधारमा अनुगमन, सुपरिवेक्षण तथा सहजीकरण ।

१०. बालबालिकाका लागि पाठ्यपुस्तक लगायतका सिकाइ सामग्रीको उपलब्धताको सुनिश्चितता ।

 

यदि स्थानीय तहमा कोभिड-१९ को संक्रमण पुनः बढेमा वा स्थानीय तह भित्र खास विद्यालयमा संक्रमणको जोखिम बढेमा, नेपाल सरकार र प्रदेश सरकारले तय गरेका जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डहरूको आधारमा स्थितिको समीक्षा गरी जिल्ला संकट व्यवस्थापन केन्द्रसँग आवश्यक समन्वय गरी खास अवधिका लागि विद्यालय सञ्चालनको कार्य स्थगित गर्ने वा विद्यालय बन्द गर्ने निर्देशन दिनुपर्छ ।

कोभिड-१९ को सन्दर्भमाः विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७

This image shows an illustration of two children learning