सुरक्षित विद्यालय सञ्चालनः विद्यालयहरूको जिम्मेवारी
स्वस्थ र सुरक्षित तवरले विद्यालय पुनःसञ्चालनका लागि आवश्यक तयारीहरू
कोभिड-१९ को जोखिम नभएका तथा कम भएका क्षेत्रहरूमा विद्यालयहरू पुनः सञ्चालनमा आउँदै गरेको अवस्थामा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षाको निम्ति र महामारी फैलन नदिन विद्यालयहरूले के-कस्ता पूर्व तयारीहरू गर्न जरुरी छ?
विद्यालय स्वमूल्याङ्कन तथा अनुगमनका लागि रूजुसूची
✅ शिक्षक, अभिभावक, विद्यालय समुदाय, बाल/युवाक्लब, जनप्रतिनिधि, स्वास्थ्यकर्मी आदिको समन्वय र सहभागितामा विद्यालय खोल्ने आधार तयार गरिएको
✅ बालविकास लगायतका सबै बालबालिकाको सङ्ख्याका आधारमा सफापानी र साबुन सहितको हातधुने व्यवस्था भएको
✅ कक्षाकोठा, कार्यालय, रेलिङ, खाजा टेबल, खेल सामग्री, सिकाइ सामग्री र सवारी साधन आदिमा दिनमा कम्तीमा एकपटक प्रतिसङ्क्रमण वा निर्मलीकरण गर्ने प्रबन्ध र सोको प्रयोग भएको
✅ विद्यालयमा छात्रछात्राका लागि अलग्गै शौचालय र छात्राहरूका लागि सेनीटरी प्याडको व्यवस्था भएको
✅ प्राथमिक स्वास्थ्य उपचार कक्ष र आइसोलेसन कक्षको व्यवस्था भएको
✅ विद्यालयमा आउने बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरूमा स्वास्थ्य सम्बन्धी कुनै समस्या आएमा तत्काल अभिभावक वा घरपरिवारलाई जानकारी गराउने प्रबन्ध गरिएको
✅ स्वास्थ्यकर्मी, मनोसामाजिक परामर्शदाता, अस्पताल, एम्बुलेन्स आदिको सम्पर्क नम्बर सहितको विवरण अद्यावधिक भएको
✅ भौतिक दुरी कायम हुने गरी कक्षाकोठामा विद्यार्थी बस्ने व्यवस्था गरिएको
✅ किटाणुरहित विद्यालय तथा स्वच्छता व्यवस्थापनको अनुगमनका जिम्मेवारी किटान भएको संयन्त्र निर्माण भएको
✅ विद्यालयमै कम्तीमा कक्षा ५ सम्मका लागि दिवा खाजाको व्यवस्था गरिएको
✅क्वारेन्टाइन वा आइसोलेसन बनाइएको विद्यालय भएमा
- क्वारेन्टाइन वा आइसोलेसन व्यवस्थापन समितिले कम्तीमा १५ दिन पहिले खाली गराई पूर्वाधारको पुनर्व्यवस्थापन वा मर्मत गरिएको
- कक्षा सञ्चालनभन्दा कम्तीमा ७२ घण्टा अगावै स्वीकृत मापदण्डबमोजिम निर्मलीकरण गरिएको
✅ बालबालिकालाई मनोपरामर्श तथा उत्प्रेरणा गर्ने सिपको अभिमुखीकरण वा पूर्व तयारी भएको
✅ कठिन अवस्थाका बालबालिकालाई निरन्तर सिकाइका लागि वैकल्पिक प्रणालीद्वारा विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम वैकल्पिक विधि सहितको उपचारात्मक सिकाइको व्यवस्था गरिएको
✅ सबै बालबालिकालाई पाठ्यपुस्तक तथा सिकाइ सामग्रीको प्रबन्ध गरिएको
✅ विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय तह, स्वास्थ्य संस्था, साझेदार संस्था तथा विद्यालय व्यवस्थापन समिति बीच समन्वय गर्ने व्यवस्था गरिएको
✅ विद्यालयका समग्र दैनिक गतिविधि, आचारसंहिताको पालना र कार्यान्वयनको पालना अनुगमन तथा सहजीकरण व्यवस्था गरिएको
✅ कोभिड-१९ को पुनः सङ्क्रमण वा अन्य विषम अवस्थामा आइपरेमा तत्काल गर्नुपर्ने प्रतिकार्यको तयारी गरिएको
✅ विद्यालयमा स्वास्थ्य परीक्षण बिना बाहिरी व्यक्त्तिहरूको प्रवेश निषेधको व्यवस्था भएको
✅ विद्यालय सञ्चालन भएपछि पूर्वाधार तथा सुविधाहरूको आवश्यक सुधारका लागि पूर्वतयारीको अवस्था भएको