नेपालद्वारा बालविवाह न्यूनीकरणमा उल्लेख्य प्रगति, तर अति विपन्न परिवारका किशोरीहरू अझै पछाडि
नयाँ तथ्याङ्कले बालविवाहको दर २८ प्रतिशतमा झरेको देखाएको छ, तर सन् २०३० सम्ममा यो हानिकारक प्रथालाई अन्त्य गर्न तीव्र प्रयास आवश्यक
- English
- नेपाली
काठमाडौं, २२ असोज २०८३ – नेपालले विगत एक दशकमा बालविवाह घटाउन उल्लेखनीय प्रगति गरेको छ। तर सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न अझ तीव्र प्रयास आवश्यक रहेको युनिसेफको नयाँ पैरवी प्रतिवेदन ‘नेपालमा बालविवाह अन्त्यका लागि: एक दशकको तथ्यांक र एक आह्वान’ ले देखाएको छ।
हरेक वर्ष अक्टोबर ११ मा मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा यो पैरवी प्रतिवेदन सार्वजनिक गरिएको हो। यस वर्षको विश्वव्यापी नारा “बालविवाह अन्त्य गरौं, बालिकाको अधिकारमा लगानी गरौं” ले बालविवाह रोक्न थप प्रयास गर्न र बालिकाहरूले पढ्न, अघि बढ्न र आफ्नो भविष्य आफैं बनाउन पाउने सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ।
नेपाल बहुसूचक सर्वेक्षण (NMICS) २०१४, २०१९ र २०२४–२५ का तथ्याङ्कको विश्लेषणमा आधारित यस प्रतिवेदनले नेपालमा बालविवाह घटाउने प्रयासमा भएको एक दशकको प्रगति देखाएको छ। प्रतिवेदनअनुसार २० देखि २४ वर्ष उमेर समूहका १८ वर्ष नपुग्दै विवाह भएका महिलाको अनुपात २०१४ मा ३७ प्रतिशतबाट २०२४–२५ मा २८ प्रतिशतमा झरेको छ। त्यस्तै, १५ वर्षको उमेरअघि हुने बालविवाह आधाले घटेर १० प्रतिशतबाट ५ प्रतिशतमा पुगेको छ।
प्रतिवेदनले नेपालले बालविवाह घटाउने दिशामा वास्तविक प्रगति गरेको देखाएको छ। अहिले पहिलेभन्दा धेरै किशोरीहरू विद्यालयमा रहेका छन्। पहिलो विवाह गर्ने औसत उमेर पनि सन् २००१ मा १७ वर्ष रहेकोमा २०२४–२५ मा बढेर १९.६ वर्ष पुगेको छ। साथै, १५ वर्षभन्दा कम उमेरमा हुने विवाह पनि क्रमशः घट्दै गएको छ।
तर यो प्रगति सबै समूहमा समान रूपमा पुगेको छैन। गरिबी अझै पनि बालविवाहको प्रमुख कारण बनेको छ। सबैभन्दा विपन्न परिवारका किशोरीहरूमा धनी परिवारका किशोरीहरूको तुलनामा १८ वर्ष नपुग्दै विवाह हुने सम्भावना ४.४ गुणाले बढी छ। हालका वर्षहरूमा विपन्न परिवारमा बालविवाहको दर खासै घटेको छैन, जबकि धनी परिवारमा भने उल्लेखनीय सुधार देखिएको छ। नेपालमा हालै आएको बाढीलगायत जलवायुजन्य विपद्ले बालिकाहरूको पढाइमा अवरोध पुर्याई, परिवारको आयआर्जनमा असर पारी र जोखिममा रहेका परिवारहरूलाई थप कठिनाइमा पारेर बालविवाह तथा बालबालिकामाथि हुने हिंसाको जोखिम बढाउन सक्छ।
"यी तथ्याङ्कले नेपालमा बालविवाह घटाउन प्रगति सम्भव भएको र त्यसमा देशले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको देखाउँछ," नेपालका लागि युनिसेफकी प्रतिनिधि श्री एलिस अकुङ्गाले भन्नुभयो। "तर यो प्रगति पर्याप्त छैन र सबै बालिकासम्म समान रूपमा पुगेको पनि छैन। विशेषगरी विपन्न र सीमान्तकृत समुदायका धेरै बालिकाहरू अझै पनि बालविवाहको जोखिममा छन्। बालविवाह पूर्ण रुपमा अन्त्य गर्न सकेमा बालिकाहरूले पढाइ जारी राख्न, स्वस्थ जीवन बिताउन र आफ्नो समुदाय तथा देशको विकासमा योगदान दिन थप अवसर पाउनेछन्।"
प्रतिवेदनअनुसार बालविवाह रोक्न शिक्षाको भूमिका महत्वपूर्ण रहेको देखिन्छ। माध्यमिक शिक्षा पूरा गर्ने बालिकाहरूमा १८ वर्ष अघि विवाह हुने जोखिम कम हुने देखिएको छ। तर बाल विवाहको जोखिम सबैभन्दा बढी भएका बालिकाहरूमा नै गरिबी र अन्य समस्याका कारण बीचमै विद्यालय छोड्ने सम्भावना बढी हुन्छ।
"हरेक बालिकाले पढाइ जारी राख्ने, आफ्नो सपना पूरा गर्ने र आफ्नो भविष्यबारे आफैं निर्णय गर्ने अवसर पाउनुपर्छ,” युनिसेफ नेपालका लागि किशोरी सशक्तीकरणका युवा अभियन्ता श्री स्वर्णिमा कडेलले भन्नुभयो। "किशोरावस्था भनेको नयाँ कुराहरू सिक्ने, सीप विकास गर्ने, साथीहरूसँग समय बिताउने र भविष्यका योजना बनाउने महत्वपूर्ण समय हो। तर कम उमेरमा विवाह हुँदा बालिकाहरूले यस्ता धेरै अवसरहरू गुमाउन सक्छन्। त्यसैले उनीहरूलाई पढाइ नछोड्न र आफ्नो क्षमता विकास गर्न परिवार, समुदाय र सबै सरोकारवालाहरूको साथ र समर्थन आवश्यक छ।"
प्रतिवेदनले बालविवाह अन्त्यका लागि तीव्र र लक्षित प्रयासहरूको आव्हान पनि गरेको छ। यसका लागि अति विपन्न परिवारका बालिकाहरूलाई सहयोग गर्न प्राथमिकता दिने, बालिकाहरूलाई किशोरावस्थासम्म पढाइमा टिकाइराख्ने, बाल संरक्षण प्रणालीलाई बलियो बनाउने, बालविवाहलाई बढावा दिने नकारात्माक सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने कार्यक्रमहरूमा लगानी बढाउनु पर्ने उल्लेख गरिएको छ।
दिगो विकास लक्ष्य ५.३ अनुसार सन् २०३० सम्म बालविवाह अन्त्य गर्न अब चार वर्ष मात्र बाँकी छ। । यस सन्दर्भमा युनिसेफले सरकार, विकास साझेदार, नागरिक समाज र समुदायका साथै युवा, किशोरकिशोरी र बालबालिकासमेतलाई सबै बालिकाले बालविवाहमुक्त जीवन बिताउन र आफ्नो क्षमताअनुसार अघि बढ्न सकून् भन्नाका लागि मिलेर काम गर्न आग्रह गरेको छ।
###
सम्पादकहरूलाई नोटः
‘नेपालमा बालविवाह अन्त्यका लागि: एक दशकको तथ्यांक र एक आह्वान’ प्रतिवेदन यहाँबाट प्राप्त गर्न सकिन्छः https://www.unicef.org/nepal/reports/ending-child-marriage-nepal-0
मल्टिमिडिया यहाँबाट प्राप्त गर्न सकिन्छः https://weshare.unicef.org/Folder/2AMZIFWGW8CE
मिडिया सम्पर्कहरू
युनिसेफका बारेमा
युनिसेफले विश्वमा सबैभन्दा पछाडि परेका बालबालिकासम्म पुग्न विश्वका कठिन ठाउँहरूमा काम गर्दछ । विश्वका १९० देश र क्षेत्रहरूमा हामी सबैका लागि राम्रो संसार निर्माण गर्न हर स्थान र हरेक बालबालिकाका लागि काम गर्दछौँ । युनिसेफका बारेमा थप जानकारी र नेपालका बालबिलकाका लागि यसले गरेका कामहरूबारे थाह पाउन https://www.unicef.org/nepal/ मा हेर्नुहोस् ।
युनिसेफ नेपालबारे Facebook, Instagram, YouTube, X ra TikTok मा पनि हेर्न सक्नुहुनेछ ।