बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू मध्ये नेपाल विश्वकै शीर्ष दशमा: युनिसेफ

२० देखि २४ वर्षका १० नेपाली पुरुषहरूमध्ये १ को बाल्यावस्थामै विवाह भएको थियो

07 जुन 2019
Child marriage skit
UNFPA-UNICEF Nepal/2018/KPanday
On 21 June 2018 in Nepal, Renuka Kumari Choudhary (left and seated), Rakesh Kumar Shah (right and seated) and other adolescents in Gujara Municipality of Rautahat District perform a skit on child marriage as part of UNFPA-UNICEF Global Programme on Ending Child Marriage. The Global Programme, funded by the governments of Canada, the European Union the Netherlands and the United Kingdom, supports 12 countries - Bangladesh, Burkina Faso, Ethiopia, Ghana, India, Mozambique, Nepal, Niger, Sierra Leone, Uganda, Yemen and Zambia in ending child marriage and ensuring the rights of girls are upheld.

काठमाण्डौं, २४ जेठ २०७६ – युनिसेफले गरेको एक गहन बिश्लेषणले बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू मध्ये नेपाल विश्व कै शीर्ष दशमा पर्ने जनाएको छ। सो बिश्लेषणका अनुसार नेपालका २० देखि २४ वर्षका १० पुरुषहरूमध्ये एकको बाल्यावस्थामै विवाह भएको थियो।

विश्वका ८२ मुलुकहरूको तथ्याङ्कको आधारमा युनिसेफले गरेको अध्ययनका अनुसार बालकहरूको बालविवाह धेरै हुने मुलुकहरू अफ्रिकाको उप-सहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एसिया र प्रशान्त क्षेत्र, र दक्षिण एसिया लगायतका क्षेत्रहरूमा पर्दछन्। 

“बालविवाहले बालबालिकाको बाल्यावस्था हरन गर्दछ,” युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्नुभयो। “बालविवाह भएका बालकहरूले उमेर नपुग्दै वयस्कहरूको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ जसको लागि उनीहरू तयार भएका हुँदैनन्। बालविवाह भएका बालकहरूले छिट्टै बाबुको भूमिका निभाउनुका साथसाथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ जसले गर्दा उनीहरू शिक्षा र रोजगारीका अवसरहरूबाट वञ्चित हुन्छन्।”

तथ्याङ्क अनुसार, मध्य अफ्रिकी गणतन्त्रमा सबै भन्दा धेरै बालकहरूको (२८ प्रतिशत) बालविवाह भएको छ भने निकाराग्वा (१९ प्रतिशत) र मदगास्कर (१३ प्रतिशत) पनि बालकहरूको बालविवाह धेरै हुने मुलुकहरूमा पर्दछन्। नेपाल दशौं स्थानमा पर्दछ र यो एक मात्र दक्षिण एसियाली मुलुक हो जहाँ बालक र बालिकाको उत्तिकै दरले बालविवाह भएको छ।

विश्वभरि कुल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ। बालविवाह हुनेहरूमा धेरै जसो बालिकाहरू छन्। २० देखि २४ वर्षका पाँच महिलाहरू मध्ये एकको १८ वर्ष उमेर पुग्नु अघि विवाह भएको थियो भने त्यही उमेरका ३० पुरुषहरू मध्ये एकको १८ वर्ष उमेर पुग्नु अघि विवाह भएको थियो।

बालविवाहले बालिकाहरूमा पार्ने असर, सोको कारण र दरका बारेमा धेरै अध्ययनहरू भएका छन् तर बालकहरूको बालविवाहको विषयमा भने थोरै मात्र अनुसन्धान भएको छ। बालविवाहको जोखिममा रहेका बालबालिका विशेष गरी निम्न आय परिवारका, ग्रामीण क्षेत्रमा बसोबास गर्ने र औपचारिक शिक्षा हासिल नगरेका वा कम हासिल गरेका हुन्छन्।

“आज हामीले बालअधिकार सम्बन्धी महासन्धिको तीसौं वार्षिकोत्सवमा के मनन गर्नु पर्दछ भने बालबालिकाको उमेर नपुग्दै विवाह गरीदिनु भनेको महासन्धिले उल्लेख गरेको उनीहरूको अधिकारको हनन गर्नु हो।” हेनरिएटा फोरले भन्नुभयो। “थप अनुसन्धान, लगानी र सशक्तीकरणको माध्यमबाट हामीले सो अधिकारको हननको अन्त्य गर्न सक्छौं।”


सम्पादकलाई अनुरोधः

मल्टिमिडिया सामग्री डाउनलोड गर्न कृपया यहाँ जानुहोस्।

बालकहरूमा हुने बालविवाहको विश्वव्यापी र क्षेत्रीय तथ्याङ्क ८२ मुलुकहरूको राष्ट्रिय तथ्याङ्कबाट गणना गरिएको हो। बालविवाह सम्बन्धी राष्ट्रिय तथ्याङ्कहरू युनिसेफको सहयोगमा सञ्चालन गरिने बहुसूचक सर्वेक्षण (MICS ) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालन गरिने जनसांख्यिकीय स्वास्थ्य सर्वेक्षण (Demographic and Health Survey) जस्ता घरधुरी सर्वेक्षणहरूमा आधारित छन्। जनसांख्यिकीय तथ्याङ्क संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसंख्या महाशाखा (United Nations Department of Economic and Social Affairs, Population Division) बाट लिइएको हो।

मिडिया सम्पर्कहरू

तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: tdhakhwa@unicef.org
हेलेन वाईली
युनिसेफ न्‍यु योर्क
सम्पर्क: +1 917 244 2215
इमेल: hwylie@unicef.org

युनिसेफ को बारेमा 

युनिसेफले आफ्ना सम्पूर्ण गतिविधि बालबालिकाको अधिकार सुनिश्चित गर्न र कल्याणकारी सेवा उपलव्ध गराउन केन्द्रित गर्दछ । यसले आफ्ना साझेदारसँग मिलेर १९० वटा देश र स्थानमा प्रतिवद्धतालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको छ । सर्वाधिक जोखिममा रहेका र पिछडिएका बालबालिकामा पहुँच बनाउन विशेष प्रयास गर्दै यसले सबै क्षेत्रका बालबालिकाका निम्ति काम गर्दछ ।

थप जानकारीको लागी:  www.unicef.org

युनिसेफ नेपाललाई फेसबुकट्वीटरमाइंन्‍स्‍टाग्राम फलो गर्नुहोस् ।