पालमुनि

यो चित्रमय प्रकाशनले पालको प्रयोग मार्फत बालमैत्री स्थल, अस्थायी कक्षाहरु, मेडिकल सेवा, प्रसव आश्रय स्थल वा रेडियो स्टेशन पालमार्फत सञ्चालन गरिएको देखाइएको छ

UNICEF Nepal/2015/CSKarki

हाइलाईटहरू

पाल । २०७२ को भूकम्प पश्चात् सबैभन्दा बढी देखिएको दृश्य पालकै थियो । चाहे काठमाडौंका खुला स्थानमा जताततै च्याउसरी उम्रिएका अस्थायी आश्रयका रुपमा होस् वा भूकम्पबाट नराम्रोसँग असर परेका मानिसलाई अत्यावश्यक सेवा प्रदान गर्न स्थापित व्यवस्थित पाल नै किन नहुन्, भूकम्प पश्चात नेपालमा जताततै पाल देख्न सकिन्थ्यो ।

भूकम्पबाट ७,५०,००० भन्दा बढी घरहरु ध्वस्त वा क्षतिग्रस्त भए, जसका कारण मुलुकका पश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाका भूकम्प–प्रभावित क्षेत्रका मानिसहरु शिविरमा वा आफ्ना क्षतिग्रस्त घरछेउमा अस्थायी आश्रयस्थलमा बस्नु परेको थियो । करिब ८० प्रतिशत स्वास्थ्यचौकी क्षतिग्रस्त वा ध्वस्त भएकाले स्वास्थ्य सेवा पालमुनि नै सञ्चालन गर्नु परेको थियो ।
यस्तै ४३,५०० कक्षाकोठाहरु क्षतिग्रस्त वा ध्वस्त भएर प्रयोग गर्ने लायकका थिएनन् । त्यसकारण, कक्षा सञ्चालनका लागि बालबालिकालाई अस्थायी प्रबन्ध गर्नु परेको थियो ।

भूकम्प–प्रभावित परिवारहरुले प्रचण्ड गर्मी, बर्षा र चिसो हिउँदयाममा अस्थायी स्थलमै कष्टपूर्ण जीवन बिताउन बाध्य भए । बालबालिकालाई कुनै किसिमको हानिबाट जोगाउन, उनीहरुलाई व्यस्त राख्न र तनाव झेल्न मद्दत पुग्ने किसिमबाट बालमैत्री स्थलहरु स्थापना गरिए जहाँ उनीहरुले बेफिक्रीसाथ खेल्न पाए । झण्डै ३५,००० कक्षाकोठा क्षतिग्रस्त भएकाले धेरै बालबालिकाले अस्थायी
सिकाई केन्द्रहरुमा रहेर अध्ययन गरेका थिए ।

काठमाडौं उपत्यकामा युनिसेफले अस्पतालहरुलाई उपलब्ध गराएका पालहरु सबैभन्दा बढी देखिएका थिए । यी ठूल्ठूला सेता पालहरु धेरै महिनासम्म सबै प्रमुख अस्पतालहरुका आँगन र पार्किङ स्थलहरुमा देख्न सकिन्थ्यो । पहिलो दुई महिनासम्म निरन्तर आएका ठूल्ठूला परकम्पका कारण बिरामी हुन् या स्वास्थ्यका कर्मचारीहरू कसैले पनि अस्पतालको भवनभित्र सुरक्षित अनुभव गर्न सकेका थिएनन् । परिणामस्वरुप, बहिरङ्ग विभाग मात्र होइन उपचारका साथै शल्यक्रियाहरु पनि पालभित्रै गरिएका थिए । ती पालमा आपतकालीन मेडिकल, नर्सिङ र शल्यक्रियाका सामग्री पनि उपलब्ध गराइएका थिए ।

भूकम्पपछिको एक वर्षपछि पनि पूर्ण रुपमा क्षतिग्रत स्वास्थ्य चौकीहरुमा यिनै पालहरु प्रयोगमा थिए । यसैगरी, भूकम्पबाट सर्वाधिक असर परेका ११ जिल्लामा प्रसव व्यथा लागेका महिला वा भर्खरै बच्चा जन्माएका आमाहरुलाई आश्रय दिन पनि पालहरु प्रयोगमा थिए । यी पालहरुले महिला र शिशुहरुका साथै उनीहरुका हेरचाहकर्ताका लागि सुरक्षित वातावरण प्रदान गरेको थियो । उनीहरु सबैलाई
निःशुल्क स्वास्थ्य सामग्रीहरु र दिनमा चारपटक खाना र खाजा उपलब्ध गराइएको थियो । हिउँद महिना लाग्दै गर्दा मुलुकलाई इन्धन संकटले नराम्रोसँग प्रभावित तुल्यायो । यी पालमुनि रहेका बालबालिका तथा महिलाहरुलाई जाडोबाट सुरक्षित राख्न विशेष न्यानोपनको लागि कम्बल पनि वितरण गरियो ।


यो चित्रमय प्रकाशनले पालको प्रयोग मार्फत बालमैत्री स्थल, अस्थायी कक्षाहरु, मेडिकल सेवा, प्रसव आश्रय स्थल वा रेडियो स्टेशन पालमार्फत सञ्चालन गरिएको देखाइएको छ । साथै, यो प्रकाशन ती बालबालिका, किशोरकिशोरी, महिला र पुरुषमा केन्द्रित छ जसले युनिसेफ पालमा आश्रय लिए, सेवा प्रदान गरे वा सेवा लिए । 

पालमुनि

लेखक

युनिसेफ नेपाल

प्रकाशन मिति

भाषा

अंग्रेजी,
नेपाली

प्रतिवेदन डाउनलोड गर्नुहोस्

(पीडीएफ, 7,61 MB)