अनिश्चितता र अशान्तिको समयमा शिक्षकले बालबालिकालाई सहयोग गर्ने तरिका
शिक्षकका लागि
- English
- नेपाली
जब हिंसा र अशान्तिपछि विद्यालयहरू पुनः खुल्छन्, शिक्षकहरू त्यस्ता कक्षाकोठाहरूमा प्रवेश गर्छन् जहाँ पाठ्यपुस्तक र पाठहरू मात्र हुँदैनन्। ती कक्षाकोठाहरूले बालबालिकाका डर, दुःख, र अलमललाई पनि समेटेका हुन्छन्। केही बालबालिकाले हिंसा देखेका हुन सक्छन् । प्रदर्शनमा सामेल भएका हुन सक्छन् वा आफ्ना प्रियजनहरू गुमाएका हुन सक्छन् । जबकि अरूहरूले असुरक्षित वा अनिश्चित महसुस मात्र गरेका पनि हुन सक्छन्।
एक शिक्षकको रूपमा तपाईंको धेरै जिम्मेवारीहरू छन्। जसमा आफ्नो ख्याल राख्नु र आफ्ना विद्यार्थीहरूको हेरचाह गर्नु समावेश छ। यदि तपाईं आफैँ ठीक हुनुहुन्न भने, तपाईं आफ्ना विद्यार्थीहरूलाई सहयोग गर्न सक्नुहुन्न। जब तपाईं शान्त र स्थिर महसुस गर्नुहुन्छ, तपाईंले अरूलाई सहयोग गर्ने, आशा दिने र शान्ति ल्याउने कक्षाकोठा सिर्जना गर्न सक्नुहुन्छ।
आफ्नो ख्याल राख्नुहोस् ।
- सबैभन्दा पहिले स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। यदि तपाईं आफैँ स्वस्थ महसुस गर्नुहुन्न भने, तपाईं राम्रोसँग सिकाउन सक्नुहुन्न।
- अनिश्चितता र पीडालाई सामान्य रूपमा स्वीकार गर्नुहोस्। गाह्रो समयमा तनाव वा चिन्ता महसुस गर्नु सामान्य हो। आफूलाई ती भावनाहरू महसुस गर्न दिनुहोस्।
- तनावले तपाईंलाई कसरी असर गर्छ, ध्यान दिनुहोस्। निन्द्रा, मुड वा ऊर्जामा आएको परिवर्तनलाई नियाल्नुहोस्। यदि तपाईंलाई धेरै भारी महसुस हुन्छ भने, विश्वासिलो व्यक्तिसँग कुरा गर्नुहोस्।
- तपाईंले नियन्त्रण गर्न सक्ने कुराहरूमा ध्यान केन्द्रित गर्नुहोस्। साधारण दैनिक तालिका बनाउनुहोस् । नियमित रूपमा खाने, पानी पिउने, सुत्ने र व्यायाम गर्ने गर्नुहोस्। छोटो हिँडाइ वा सुत्नुअघि मोवाइल तथा कम्प्युटर उपकरणहरू बन्द गर्नाले पनि मद्दत गर्न सक्छ।
- जानकारी/ समाचारलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुहोस्: तनावपूर्ण समाचारहरू सीमित गर्नुहोस् र विश्वसनीय स्रोतहरू छान्नुहोस्। सामाजिक सञ्जालको प्रयोगमा सचेत रहनुहोस्।
- लेख्नुहोस्: चिन्ताहरूलाई डायरीमा लेख्दा तपाईंले व्यवस्थापन गर्न सक्ने कुराहरू देख्न मद्दत गर्न सक्छ। कृतज्ञताको डायरी राख्दा सकारात्मकता बढाउन सक्छ।
- आराम लिनुहोस्। पाठहरूबीचका केही मिनेटको विश्राम वा सहकर्मी/विद्यार्थीहरूसँग रमाइलो गतिविधिहरूले पनि थकान कम गर्न मद्दत गर्न सक्छ।
- तपाईंलाई सकारात्मक ऊर्जा दिने मानिसहरूसँग समय बिताउनुहोस्। तपाईंको ऊर्जा सोस्ने मानिसहरूसँग सीमाहरू तोकेर आफ्नो ऊर्जाको रक्षा गर्नुहोस्।
- सामुदायिक वा आध्यात्मिक कार्यहरूमा संलग्न हुनुहोस्। आस्था, स्वयंसेवा, वा दयाका साना कार्यहरू मार्फत तपाईंलाई उद्देश्य र सम्बन्ध दिने सामुदायिक वा आध्यात्मिक अभ्यासहरूमा संलग्न हुनुहोस्।
- वर्तमानमा रहनुहोस्। अहिले के भइरहेको छ, त्यसमा ध्यान केन्द्रित गर्नुहोस्। चाहे त्यो पढाउने काम होस्, प्रियजनहरूसँगको समय होस्, वा एक्लै बिताएको शान्त क्षण नै होस्।
- एकअर्कालाई सहयोग गर्नुहोस्। शिक्षक साथीहरूसँग कुरा गर्नुहोस्, विचारहरू साझा गर्नुहोस् र एकअर्काको हालखबर सोध्नुहोस्।
- व्यवस्थित रहनुहोस्। पाठ योजनाहरू पहिले नै तयार गर्दा दैनिक तनाव कम गर्न सक्छ।
- आफूप्रति धैर्यवान् बन्नुहोस्। सबैले नयाँ सीपहरू सिकिरहेका छन् । एक्लै चिन्ता गर्नुको सट्टा प्रश्नहरू सोध्नुहोस्।
- आफ्नो सीमा जान्नुहोस्। तपाईं सबै कुराको लागि जिम्मेवार हुनुहुन्न। आवश्यक परेमा सहयोग खोज्नुहोस् । विद्यालय व्यवस्थापन, अभिभावक र समुदायमा भर पर्नुहोस्।
यदि तपाईंलाई सामना गर्न गाह्रो भइरहेको छ भने मनोसामाजिक परामर्शदाता वा स्वास्थ्यसंस्थाबाट सहयोग खोज्नुहोस्।
बालबालिकालाई सुरक्षित तथा सहयोग भएको महसुस गराउने तरिका
१. सुरक्षित र अनुमान गर्न सकिने कक्षाकोठा बनाउनुहोस् ।
जब संसार अस्थिर महसुस हुन्छ, बालबालिकालाई स्थिरताको आवश्यकता पर्छ। दैनिक तालिकालाई सरल र निरन्तर राख्नुहोस्। हरेक दिन उनीहरूलाई न्यानो अभिवादन गर्नुहोस्। विहानको हालखबर सोध्ने, गीत गाउने, वा सँगै श्वासप्रश्वास फेर्ने अभ्यासले पनि सुरक्षाको भावना निर्माण गर्न सक्छ।
२. बालबालिकालाई भावनाहरू व्यक्त गर्न दिनुहोस् ।
केही विद्यार्थीहरू कुरा गर्न चाहन्छन्, अरू चाहँदैनन्। चित्र बनाउने, लेख्ने वा भूमिका खेल्ने जस्ता विकल्पहरू दिनुहोस्। उनीहरूलाई जबरजस्ती कुरा गर्न नलगाउनुहोस् तर जो बोल्न चाहन्छन्, उनीहरूका लागि ठाउँ खाली राख्नुहोस्।
३. उनीहरूका भावनाहरूलाई सामान्यीकरण गर्नुहोस् ।
विद्यार्थीहरूलाई डर, रिस, उदासी वा अलमल महसुस गर्नु ठीक छ भनी भन्नुहोस्। उनीहरूलाई भावनाहरू आउँछन् र जान्छन्, र सबैले तिनीहरूलाई फरक तरिकाले अनुभव गर्छन् भन्ने सम्झाउनुहोस्।
४. कुनै पनि पूर्वाग्रह नराखी सुन्नुहोस् ।
यदि कुनै बालबालिकाले कुनै हिंसात्मक कार्यमा सहभागी भएको बताउँछ भने, शान्तपूर्वक सुन्नुहोस्। उनीहरूलाई लाजमर्दो महसुस गराउने कुरा नगर्नुहोस्। त्यसको सट्टा, सहज प्रश्नहरू सोध्नुहोस्: "त्यस समयमा तिमीलाई कस्तो लाग्यो? अहिले तिमीलाई त्यसको बारेमा कस्तो महसुस भइरहेको छ?" उनीहरूलाई आफ्ना कार्यहरू र अर्को पटक फरक तरिकाले के गर्न सक्छन् भन्ने बारे सोच्न मद्दत गर्नुहोस्।
५. पुनःस्थापना गर्ने अभ्यासहरू प्रयोग गर्नुहोस् ।
दोषको सट्टा समझदारी र सुधारमा ध्यान केन्द्रित गर्नुहोस्। सोध्नुहोस्:
के भयो?
कसलाई असर पर्यो?
हामीले कुराहरूलाई अझ राम्रो बनाउन के गर्न सक्छौँ?
यसले डरको सट्टा जवाफदेहिता र समानुभूति निर्माण गर्छ।
६. पाठहरूमा शान्ति र सहयोगलाई समावेश गर्नुहोस्।
कक्षाका गतिविधिहरूलाई शान्ति निर्माणका अवसरहरूमा बदल्नुहोस्:
- सहयोग/सहकार्यलाई प्रोत्साहन गर्ने समूह परियोजनाहरू।
- अहिंसा, निष्पक्षता, र दयाका कथाहरू।
- समस्या समाधान गर्ने शान्तिपूर्ण तरिकाहरू पत्ता लगाउने खेल तथा नाटक ।
७. विद्यार्थीको आवाज र सहभागितालाई प्रोत्साहन दिनुहोस् ।
आदर, सुरक्षा, र दयाका लागि कक्षाकोठाका नियमहरू सहनिर्माण गर्न विद्यार्थीहरूलाई आमन्त्रित गर्नुहोस्। जब बालबालिकाले नियमहरू बनाउन मद्दत गर्छन्, उनीहरूले ती नियमहरू पालना गर्न जिम्मेवार पनि महसुस गर्छन्।
८. गहिरो पीडाका संकेतहरू हेर्नुहोस् ।
नराम्रो सपना, एक्लोपना, आक्रामकता, एकाग्रतामा कठिनाइले आघातको संकेत दिन सक्छ। यदि तपाईंले निरन्तर परिवर्तनहरू देख्नुभयो भने, अभिभावकसँग सहजतापूर्वक परामर्श गर्नुहोस् वा बालबालिकालाई मनोसामाजिक सहयोग सेवाहरूमा पठाउनुहोस्।
९. अभिभावक र हेरचाहकर्ताहरूसँग मिलेर काम गर्नुहोस् ।
परिवारहरूसँग खुलेर कुराकानी गर्नुहोस्। उनीहरूलाई आफ्ना बालबालिकाका कुरा सुन्न, घरमा दैनिककार्यतालिका कायम राख्न, र सजाय नदिन प्रोत्साहित गर्नुहोस्। अभिभावकहरूले पनि यो सुन्न आवश्यक छ: "सबै कुराको जवाफ थाहा नहुनु सामान्य हो।"
१०. आशा र करुणाको उदाहरण बन्नुहोस् ।
बालबालिकाकालागि वयस्कहरू रोलमोडल हुन् । तपाईंको शान्त शब्द, धैर्यवान् स्वर, र द्वन्द्व व्यवस्थापन गर्दाको निष्पक्षताले उनीहरूलाई यो देखाउँछ कि, अराजकतापछि पनि शान्ति सम्भव छ।
शान्तिको बीजारोपण
हिंसा र अनिश्चितताका क्षणहरूमा बालबालिकालाई निराशा व्यक्त गर्ने र समाजमा अर्थपूर्ण परिवर्तन ल्याउने थप स्वस्थ तरिकाहरू छन् भनी सिकाउने अवसर पनि छन्। शिक्षकहरूले यसकोलागि निम्न कार्य गर्न सक्छन्:
- शान्तिका आदर्श व्यक्तिहरूलाई उजागर गर्नुहोस्। अशान्तिको समयमा एकअर्कालाई सहयोग गर्ने छिमेकीहरूका स्थानीय कथाहरू साझा गर्नुहोस्। शान्ति कायम राख्न स्थानीयहरूले गरेका प्रयासहरूका कथाहरू सुनाउनुहोस्, बुद्धको शिक्षा र शान्तिलाई बढावा दिने कुनै पनि अन्य धर्म वा विचारधारा बारेमा पढाउनुहोस्।
- फुटाउने होइन, संवादलाई बढावा दिनुहोस् । सम्मानजनक बहसलाई प्रोत्साहित गर्नुहोस्। घृणा बिना कसरी विमति राख्ने भनेर सिकाउनुहोस्।
- साथीको सहयोग प्रयोग गर्नुहोस्। बालबालिकालाई एकअर्काको हालखबर बुझ्नका लागि जोडी बनाउनुहोस्। सहयोगात्मक खेल र समूहमा समस्या समाधान गर्नाले एक्लोपना कम हुन्छ र विश्वास पुन: निर्माण हुन्छ।
- साना दयालु कार्यहरूको प्रशंसा गर्नुहोस्। अरूलाई मद्दत गर्ने वा सान्त्वना दिने विद्यार्थीहरूलाई चिन्नुहोस् र उनीहरूको प्रशंसा गर्नुहोस्। यसले शान्तिको जीवन्त उदाहरणलाई स्थापित गर्न मद्दत गर्दछ।
- सामुदायिक परियोजनाहरू निर्माण गर्नुहोस्। रूख रोप्ने, शान्तिको बारेमा कक्षाकोठामा भित्तेचित्र बनाउने, वा "कृतज्ञताको भित्ता" आयोजना गर्ने जस्ता साधारण सामूहिक गतिविधिहरूले स्वायत्तता र आफ्नोपनको भावनालाई पुनर्स्थापित गर्न सक्छ।
यो समयमा तपाईं एक शिक्षक मात्र हुनुहुन्न। तपाईं एक मार्गदर्शक, एक स्थिर उपस्थिति, र आशाको प्रतीक पनि हुनुहुन्छ। तपाईंले सुन्ने, प्रतिक्रिया दिने, र हेरचाह गर्ने तरिकाले बालबालिकाले यो समयलाई कसरी सम्झन्छन् र उनीहरूले आफ्नो जीवनमा कसरी शान्ति रोज्छन् भन्ने कुरालाई निर्धारण गर्नेछ।
याद राख्नुहोस् । सुरक्षा, समानुभूति र सम्बन्धबाट नै पुनःस्थापना सुरु हुन्छ। यदि हामीले यी कुराहरूलाई विद्यालयहरूमा शुरु गर्न सक्यौं भने, बालबालिकालाई सहज हुनुका साथै, उनीहरू हिंसाको सट्टा शान्ति रोज्ने मानिसको रूपमा हुर्कन्छन् ।