बालस्वास्थ्य र स्याहार

के तपाईंलाई थाहा छ, शिशु पछि गएर कति खुशी र स्वस्थ रहन्छ भन्ने कुरामा उसको पहिलो १,००० दिनको ठुलो हात रहन्छ ?

नेपाल सरकार, युनिसेफ नेपाल
बाल स्वास्थ्य
UNICEF Nepal

सामान्यतया बालस्वास्थ्य भन्नाले बालबालिका निरोगी हुनुमात्र नभई शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक रूपमा तन्दुरुस्त अवस्था भन्ने बुझिन्छ । बालबालिकालाई विकासको क्रममा केही रोगहरू लाग्न सक्छ । सानातिना रोगले बालबालिकाको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ ।

बालबालिकाले कुनै विषाणु विरुद्ध प्रतिरक्षा शक्ति विकास गर्न नसक्दा रोगहरू लाग्छन् । यसमध्ये केहीलाई बालबालिकाको शरीरले नै प्रतिरक्षा गर्न सक्छन् भने केही रोगको लागि खोपहरू रोग लाग्नु पूर्व र रोग लागिसकेपछि औषधीको माध्यमबाट रोकथाम गर्नुपर्दछ । रोगहरू लागेको बेलामा अभिभावकले पोषणयुक्त खाना, स्याहार तथा सरसफाइ भएको अवस्थामा सङ्क्रमण जटिल हुन पाउँदैन ।

 

बालबालिकामा देखिने सामान्य रोगहरू   

बालबालिकाको उमेरअनुसार गर्नुपर्ने शारीरिक वा मानसिक क्रियाकलाप गर्न नसक्ने र असामान्य अवस्था वा स्थिति सिर्जना हुनु रोग हो । बालबालिकालाई हुन सक्ने केही रोगहरू निम्नानुसार छन्ः

  • ज्वरो
  • कान पाक्ने 
  • रुघाखोकी     
  • आँखा रातो हुने र पाक्ने
  • निमोनिया     
  • एलर्जी
  • कोभिड–१९     
  • दाद, लुतो
  • झाडापखाला     
  • दादुरा,ठेउला
  • जुका    

 

बालबालिका बिरामी हुनाको कारण

  • गर्भमा रहँदा र जन्मेपछिको वातावरण फरक हुनाले नवजात शिशुहरूको बाहिरको वातावरणमा समायोजन गर्ने शक्ति भएन भने उनीहरू बिरामी हुन्छन् ।
  • नवजात शिशुको गर्भावस्थामा सङ्क्रमण भएर पनि बिरामी हुन सक्छन् । त्यसैगरी अतिज्वरो, श्वासप्रश्वास, पखाला, आँखा पाक्ने, छाला सम्बन्धी रोग आदि कारणले बिरामी पर्न सक्छन् ।
  • बालबालिका जिवाणु, विषाणु, परजीवी आदिको सङ्व्रक्रमणले बिरामी हुन्छन् । यसैगरी दुर्घटना, तनाव, कुपोषण आदिको कारणले बिरामी हुने गर्दछन् ।

बालबालिकाको बिरामीपन पहिचानमा अभिभावकको भूमिका   

साना बालबालिकाले आफू बिरामी छु भनेर व्यक्त गर्न सक्दैनन् । उनीहरूको अवस्था अभिभावकले शारीरिक हाउभाउबाट पहिचान गर्नुपर्दछ ।

बालबालिकालाई सञ्चो नहुँदा राम्ररी दुध चुस्न, साविक खाना खान सक्दैन, तातो हुन्छ, पिसाब कम वा धेरै गर्ने, वान्ता हुन सक्छ, छिटोछिटो सास फेर्छ । एक्कासि छटपटिंदै रुन्छ । धेरै ज्वरो (१०१ डिग्रीभन्दा बढी) वा दुखाइले गर्दा बेहोश हुन्छ । शरीर अररो वा लुलो हुन सक्छ ।

बालबालिका बिरामी हुँदाको लक्षण राम्ररी अवलोकन गर्नुपर्छ । ज्वरो नाप्ने, सास फेरेको गति हेर्नुपर्दछ । ज्वरो आएको समयमा अनुहार रातो हुन्छ । शिशुले राम्ररी दुध चुस्न सक्तैन । उनीहरूको नङ ओठ-छालाको रङ सामान्य भन्दा फरक हुन सक्छ । दिसापिसाब कतिपटक भयो, कस्तो भयो हेर्नुपर्दछ । 

शिशु/बालबालिका बिरामी हुँदा स्नेहपूर्ण व्यवहार र स्याहार गर्नुपर्दछ । सामान्य अवस्थामा भन्दा पौष्टिक खाना पटकपटक खुवाउनुपर्छ । सफा पानी पिउन दिनुपर्दछ । बिरामी शिशु/बालबालिकासँगै रहेर उनीहरूलाई सुरक्षित रहेको विश्वास गराउनुपर्दछ । उनीहरूको दुखाइ, डर, अप्ठेरो, असामान्य स्थितिलाई आमाबुबाले समानुभूति गरेको भावना व्यक्त गर्नुपर्दछ ।

बिरामी अवस्थामा बालबालिकाको नजिकै बस्ने, कुराकानी गर्ने कथा भन्ने, सँगै चित्र कोर्ने, खेलौना खेल्ने गर्नुपर्दछ ।

a mother holds her crying child
UNICEF Nepal


केही रोगका लक्षण र अभिभावकको भूमिका   

ज्वरो: ज्वरो आफैँ रोग हैन, यो कुनै रोगको कारणले आउन सक्दछ । सामान्य रुघाखोकीको कारणले हल्कामात्र ज्वरो छ भने २४ घण्टासम्म राम्ररी निरीक्षण गर्नुपर्दछ । यस अवस्थामा आमाको दुध र झोल पदार्थ सधँैभन्दा धेरै खुवाउनुपर्छ । १०१ डिग्री ज्वरो आएपछि चिकित्सकको सल्लाह लिएर ज्वरो कम हुने औषधी खुवाउनुपर्दछ ।

रुघाखोकी: रुघाखोकी एउटा साधारण रोग हो । यसमा ज्वरो आउन पनि सक्छ, नआउन पनि सक्छ । यसका लागि औषधीको आवश्यकता पर्दैन ,तर शिशुहरूलाई नाक टालिने हुनाले आत्तिन सक्छन् । तर उचित हेरचाह वा उपचार नभएमा निमोनिया हुन सक्छ । रुघाखोकीको लागि घरेलु उपचारका तरिकाहरू:

  • बच्चालाई पटकपटक आमाको दुध खुवाइरहने ।
  • साविकभन्दा बढी खाना तथा झोल कुराहरू खुवाउने ।
  • ६ महिनाभन्दा माथिका बच्चा भएमा खोकीको उपचार (अदुवा, बेसार, तुलसीको पात आदि हाली पकाएको पानीमा मह राखी खुवाउने, हिमाली क्षेत्रमा जडीबुटी चिया खुवाउने) ।
  • बच्चालाई न्यानो पारेर राख्ने तर नगुम्स्याउने ।
  • मन तातो नुनपानीमा सफा सुती कपडा भिजाइ नाक सफा गरिदिने ।
  • धुवाँ र धुलोेबाट बचाउने । 

निमोनियाः निमोनिया श्वासप्रश्वासको सङ्क्रमण भएर शिशुलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छिटोछिटो सास फेर्ने, कोखा हान्ने, दुध चुस्न नसक्ने रोग हो । छिटो सास फेर्नु निमोनिया भएको बच्चामा सबैभन्दा पहिले देखिने लक्षण हो । २ महिनादेखि १२ महिनासम्मको बच्चाले १ मिनेटमा ५० वा सो भन्दा बढी, १२ महिनादेखि ५ वर्षको बच्चाले १ मिनेटमा ४० वा सो भन्दा बढी सास फेरेमा निमोनिया भएको हुन सक्छ । यस्तो अवस्थाको बालबालिकालाई तुरुन्त चिकित्सकसँग परीक्षण गरार्ई औषधी उपचार गराईहाल्नुपर्दछ । 

कोभिड–१९ः यो निमोनिया जस्तै भाइरसबाट लाग्ने श्वासप्रश्वास सम्बन्धी रोग हो । यो नयाँ कोरोना भाइरसबाट सङ्क्रमित भई २०१९ मा विश्वभरि फैलिएको हुनाले यसको नाम पनि कोभिड–१९ भएको हो । यो मानिसको श्वासप्रश्वासबाट निस्कने छिटाहरूबाट एक अर्कामा सर्ने रोग हो । यसका भाइरसले प्रकृतिअनुसार स्वरूप परिवर्तन गर्दछ । बालबालिकामा पनि यसले ज्वरो आउने, रोग प्रतिरोधात्मक क्षमता घटाउने र शरीरका विभिन्न अङ्गहरूमा आक्रमण गर्ने गर्दछ । यसको शङ्का लागेमा कोभिड टेस्ट गरेर स्वास्थ्य केन्द्रको निर्देशनमा उपचार गर्नुपर्छ ।

झाडापखालाः २४ घण्टामा ३ वा ३ भन्दा बढीपटक पानी जस्तो पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ । पखाला लाग्दा शरीरबाट प्रशस्त पानी, नुन र शक्ति खेर गई सुख्खा हुने सम्भावना हुन्छ । त्यसैले खेर गएको पानी, नुन र शक्तिको आपूर्ति गर्नुपर्दछ, नभए बिरामी बच्चा मर्न पनि सक्छ ।  झाडापखालाको घरैमा उपचार गर्ने ४ नियमः

  • पखाला सुरु हुनासाथ अघिपछि भन्दा बढी झोल कुराहरू (आमाको दुध, दालको रस, फलफूलको रस, भातको माड, पुर्नजलीय झोल, सफा पानी) पटकपटक खान दिनुपर्छ ।
  • साविकबमोजिम नरम तथा सजिलैसँग पच्ने खानेकुरा खुवाउनुपर्छ । कुपोषण हुन नदिन, पखाला थामिएपनि २ हप्तासम्म सधैँभन्दा १ पटक बढी खाना खान दिनुपर्छ ।
  • पुनर्जलीय झोल (जस्तै, जीवनजल) सँगै १० दिनसम्म जिङक चक्की खुवाउनुपर्छ ।
  • खान पिउन नसक्ने गरी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भइरहेमा, बच्चा ज्यादै तिर्खाएमा, ज्वरो आएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ। 

जुकाः बालबालिकालाई दूषित खाना, पानी र धुलोे माटोबाट हाम्रो आँखाले नदेखिने जुकाका अण्डाहरू मुखबाट या श्वासप्रश्वासको माध्यमबाट सर्दछ । जुकाले बालबालिकाको आन्द्रामा पौष्टिक तत्त्व सोसेर हुर्कन्छ । जुकाको औषधी स्वास्थ्य चौकीबाट निशुल्क वितरण भएको समयमा अनिवार्य खुवाउनुपर्दछ ।

आँखा पाक्नेः बालबालिकाको आँखा चिलाउने, रातो हुने र पिप कचेरा आएमा आँखामा सङ्क्रमण भएको हुुन सक्छ । यस्तो बेलामा सफा पानीले आँखामा पटकपटक सफा गर्ने र सफा रुमालले पुछ्नुपर्छ । जथाभावी औषधी आँखामा राख्नु हुँदैन । यसका लागि आँखाको सरसफाइ गर्नुकोसाथै चिकित्सकको सल्लाह लिएर नपाक्ने मलम र झोल औषधी राख्नुपर्दछ । 

कान पाक्नेः कान पाकेको बालबालिकाले छिनछिनमा कान चिलाउने, कोट्याउने गर्दछ । कानको भित्री भाग सजिलै देख्न नसकिने हुनाले राम्ररी जचाउनुपर्दछ । बालबालिकालाई चिकित्सकसँग परामर्श गरी कानमा हाल्ने औषधी राख्ने र निको नभएसम्म स्याहार गर्नुपर्छ । अन्यथा रोग जटिल भएर बहिरो हुने सम्भावना हुन्छ ।

एलर्जीः बालबालिकालाई कुनै औषधी, खानेकुरा, बोटबिरुवाको भुवा, झूसिल्किरा आदिले शरीरमा नकारात्मक प्रतिक्रिया भएको अवस्थालाई एलर्जी भनिन्छ । एलर्जी हुने बित्तिकै बालबालिकामा भमरा आउनेदेखि लिएर, चिलाउने, खोकी लाग्ने, हाछ्यँु आउने तथा श्वासप्रश्वासमा गाह्रो हुने आदि विभिन्न लक्षण देखापर्छ । यसो हुने बित्तिकै चिकित्सकसँग परीक्षण गरार्ई औषधी उपचार गर्नुपर्छ ।

नेपाल सरकारका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क नवजात शिशु (जन्मेदेखि २८ दिन सम्मको) उपचार गर्ने व्यवस्था मिलाइएको छ । नवजात शिशु भर्ना भई उपचार गर्दा उपचारत रहँदासम्मको लागि सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने छ ।