समानता र बालअधिकारको पक्षमा आवाज उठाउँदै युनिसेफ र साझेदारहरूले क्रिकेटमार्फत विश्व बाल दिवस मनाए

20 नोभेम्बर 2025
Adolescent girls playing cricket on world children's day
UNICEF Nepal/2025/SDangol

काठमाडौं, ४ मंसिर २०८२ — युनिसेफले नेपाल क्रिकेट संघ (क्यान) र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा आज किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विशेष कार्यक्रममार्फत विश्व बाल दिवस २०२५ मनायो । उक्त कार्यक्रमले बालअधिकार, लैङ्गिक समानता तथा खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउनसक्ने क्षमतालाई प्रकाश पारेको छ।

हरेक वर्ष २० नोभेम्बरमा विश्वभर मनाइने विश्व बाल दिवसले बालअधिकारसम्बन्धी महासन्धि (Convention on the Rights of the Child) स्वीकृत भएको दिनलाई स्मरण गर्छ। यो युनिसेफको वार्षिक अन्तर्राष्ट्रिय दिवस हो, जसले सरकार, समुदाय तथा परिवारलाई हरेक बालबालिकाको शिक्षा, खेलकुद, संरक्षण तथा निर्णय प्रक्रियामा सहभागिताको अधिकार सुनिश्चित गर्न आग्रह गर्दछ ।

यस वर्ष, युनिसेफ नेपालले क्यान र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा “लेभलिङ द प्लेइङ फिल्ड” नामक संयुक्त पहलमार्फत यो दिवस मनायो । यस कार्यक्रमले क्रिकेटको लोकप्रियता मार्फत नेपालभर बालबालिकाका लागि समान अवसर प्रवर्द्धन गर्ने साथसाथै किशोरीहरू विद्यालयमै रहून्, आवश्यक सेवा–सुविधामा पहुँच रहून् र आफ्नो समुदायमा पूर्ण रूपमा सहभागी हुन सकून् भन्ने उद्देश्य लिएको छ ।

यस संयुक्त कार्यक्रमले बालबालिकाको आवाजलाई सशक्त रूपमा बाहिर ल्याउने र उनीहरूले अझै पनि सामना गर्नुपर्ने चुनौतीहरू — जस्तै बालविवाह, किशोरावस्थामै गर्भधारण, शिक्षा पहुँचमा कमी र किशोरीहरूका लागि सीमित अवसरलाई उजागर गर्ने महत्वपूर्ण मंच प्रदान गर्यो।

“हामीले मागेको केवल समान अवसर हो। बालिकालाई सिक्न दिनुहोस्, आफ्नो निर्णय आफैं लिन दिनुहोस् र नेतृत्व गर्न दिनुहोस्। आज हामीमा लगानी गर्नुभयो भने, हामी भोलि सबैका लागि अझ राम्रो भविष्य बनाउन सक्छौँ,” श्री गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयमा कक्षा ७मा अध्ययनरत १३ बर्षीय मनुष्का राणामगरले भन्नुभयो ।

३०० भन्दा बढी बालबालिकाको सहभागिता रहेको यस कार्यक्रममा, बालबालिकाले नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीसित मैत्रीपूर्ण क्रिकेट खेल पनि खेलेका थिए ।

“यस अवसरमा उपस्थित रहनु भएका CAN, अष्ट्रेलियाली राजदूत, युनिसेफ तथा सबैजनाप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूले हाम्रो देशप्रति देखाउनुभएको प्रेम, युवाहरूलाई संलग्न गराउने तथा सशक्त बनाउने तरिकाबाट स्पष्ट रूपमा देखिन्छ,” कार्यक्रमका प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री श्री बब्लु गुप्ताले भन्नुभयो ।

नेपालमा ३० लाख भन्दा बढी किशोरीहरू छन् । उनीहरु भविष्यका नेता तथा आविष्कार र परिवर्तनका वाहक हुन् । तर अझै पनि तीनमध्ये एक किशोरीको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ । त्यस्तै उच्च माध्यमिक तहमा जान योग्य भएका १५ प्रतिशतभन्दा बढी किशोरीहरूले वा पढाइ छाडेका छन् वा कहिल्यै भर्ना भएका थिएनन् ।

“अष्ट्रेलिया, युनिसेफसँगको साझेदारीमार्फत नेपालका किशोरीहरूलाई शिक्षा निरन्तरता, स्वास्थ्य सेवामा पहुँच तथा विवाह र मातृत्व ढिलो गर्न सहयोग गरिरहेकोमा गर्व गर्दछ,” नेपालका लागि अष्ट्रेलियाली राजदूत महामहिम श्री लियान जोन्स्टनले भन्नुभयो । 

“उनीहरूको शिक्षा, सीप र आत्मविश्वासमा लगानी गर्नु भनेको नेपालको भविष्यमा लगानी गर्नु हो। सशक्त बालिकाहरूले सबल समुदाय तथा समृद्ध परिवार र समाज निर्माण गर्छन् ।”

कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष श्री चतुर बहादुर चन्दले भन्नुभयो, “ क्यानमा हामी सधैं विश्वास गर्छौं कि क्रिकेट केवल खेल मात्र होइन। यो आत्मविश्वास, अनुशासन र नेतृत्वजस्ता गुणहरू विकास गर्ने एउटा मंच हो — जसले सक्षम र जिम्मेवार युवा नागरिक तयार पार्छ। विगतका वर्षहरूमा, हामीले क्रिकेटलाई समुदायहरू नजिक ल्याउने काम गरेका छौं — सामुदायिक क्रिकेट, स्थानीय प्रतियोगिताहरू र युवालाई प्रेरित गर्ने कार्यक्रमहरू मार्फत, जसले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रोत्साहन दिन्छ।"

युनिसेफ नेपालकी प्रतिनिधि श्री एलिस अकुंगाले नेपाल सरकार, नेपाल क्रिकेट संघ, अष्ट्रेलियाली दूतावास, शिक्षक शिक्षिकाहरू, समुदाय तथा बालबालिका र युवाहरूलाई बालअधिकार प्रवर्द्धन तथा समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा गरेको प्रतिबद्धताको लागि धन्यवाद व्यक्त गरिन्।

“युनिसेफको तर्फबाट, म हाम्रा साझेदारहरू — नेपाल क्रिकेट संघ र अष्ट्रेलियाली दूतावासलाई, बालिकाहरूलाई सशक्त बनाउन र बालअधिकारको संरक्षण गर्न हामीसँग हातेमालो गरेकोमा धन्यवाद दिन चाहन्छु। र यहाँ उपस्थित सबै बालबालिकालाई भन्न चाहन्छु – तपाईंहरू नै भोलिका परिवर्तनकर्ता हुनुहुन्छ । सपना देखिरहनुहोस्, खेलिरहनुहोस् र आफ्नो आवाज उठाइरहनुहोस्। भविष्य तपाईंहरूको हो— र हामी सबै मिलेर साँच्चिकै समान अवसरको मैदान बनाउन सक्छौँ,” अकुङ्गाले भन्नुभयो ।

विश्व बाल दिवसको अवसरमा, युनिसेफले यु–रिपोर्ट पोल पनि सुरु गरेको छ, जसले बालबालिका र युवाहरूलाई बालअधिकारबारे आफ्ना विचार व्यक्त गर्न र उनीहरूका लागि महत्वपूर्ण समाधान बनाउने प्रक्रियामा सहभागी हुन आग्रह गर्छ। भाइबरव्हाट्सएप र मेसेन्जरमा उपलब्ध यो नयाँ बाल अधिकार पोलले विश्वभरका बालबालिका र युवाहरूलाई बोल्न, सुन्निन र सबै बालबालिकाका लागि सुरक्षित, समावेशी भविष्य निर्माणमा प्रत्यक्ष योगदान गर्न सक्षम बनाउँछ।

Group photo of world children's day
UNICEF Nepal/2025/SDangol

मिडिया सम्पर्कहरू

फ्लोरीन बोस
प्रमुख (सञ्चार, पैरवी र साझेदारी)
युनिसेफ नेपाल
सम्पर्क: +९७७ ९८०१२४४५२४
इमेल: [email protected]

युनिसेफका बारेमा

युनिसेफले विश्वमा सबैभन्दा वञ्चितिमा परेका बालबालिकासम्म पुग्‍न विश्वका कठिन ठाउँहरूमा काम गर्दछ । विश्वका १९० देश र क्षेत्रहरूमा हामी सबैका लागि राम्रो संसार निर्माण गर्न हर स्थान र हरेक बालबालिकाका लागि काम गर्दछौँ । युनिसेफका बारेमा थप जानकारी र नेपालका बालबिलकाका लागि यसले गरेका कामहरूबारे थाह पाउन https://www.unicef.org/nepal/ मा हेर्नुहोस् ।

युनिसेफ नेपालबारे Facebook, Instagram, YouTube, X ra TikTok मा पनि हेर्न सक्‍नुहुनेछ ।