विगत दुई दशक यता पहिलो पटक वृद्वि भएको बाल श्रमिकको संख्या १६ करोड पुग्यो 

बाल श्रम उन्मुलन गर्ने  तर्फको नेपाल सरकारको  प्रगति अहिलेको महामारीको  कारणले  खतरामा पर्न सक्ने अन्तर्राष्ट्रिय श्रम संगठन र युनिसेफको चेतावनी

11 जुन 2021
This image shows an image of a child's hands
UNICEF/UN0263808/Lister

काठमाडौँ, २०७८ जेठ २८ (११ जुन २०२१) - विगत ४ वर्षमा बाल श्रमिकको संख्यामा विश्वभरि ८४ लाखले वृद्वि भएर कुल १६ करोड पुग्नुका साथै दशौं लाख अन्य बालबालिका कोभिड-१९ को प्रभावको कारणले बाल श्रमको  जोखिममा रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युनिसेफद्वारा जारी पछिल्लो प्रतिवेदनले जनाएको छ। 

१२ जुन अर्थात् बाल श्रम विरूद्व अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा जारी गरिएको बाल श्रम: २०२० को अनुमान, प्रवृत्ति र यसपछिको बाटो शीर्षकको उक्त प्रतिवेदनले बाल श्रमको अन्त्य गर्नेतर्फ भईरहेको प्रगति विगत २० वर्षमा पहिलो पटक रोकिएको हुनाले सन् २००० देखि २०१६ सम्म बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले कमी आएको अवस्था उल्टिने खतरा रहेको चेतावनी दिएको छ। 

हाल विश्वभरि रहेका बाल श्रमिकहरू मध्ये ५ देखि ११ वर्ष बीचको उमेर समुहका बाल श्रमिकको संख्यामा उल्लेख्य मात्रामा वृद्वि भई उनिहरुले आधा भन्दा बढी हिस्सा लिईसकेको  कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । श्रमिकको स्वास्थ्य, सुरक्षा तथा मनोसामाजिक अवस्थामा असर पार्न सक्ने भनि परिभाषित जोखिमपूर्ण कार्यमा संलग्न ५ देखि १७ वर्ष उमेर समुहका बालबालिकाको संख्यामा २०१६ यता ६५ लाखले वृद्वि भई ७ करोड ९० लाख पुगेको छ। 

“बाल श्रमको विरुद्वमा कार्य गर्नको लागि सरकार, सामाजिक साझेदारहरू तथा नागरिक समाजको प्रतिवद्वता व्यक्त गर्ने क्रम बढे पनि बाल श्रमिकको संख्या अझै पनि विकराल रहेको कुरा नेपाल स्थित अन्तर्राष्ट्रिय श्रम संगठनको देशीय कार्यालयका निर्देशक रिचर्ड हावर्डले बताउनुभयो। "वर्तमान बालश्रमको अवस्थाले हरेक बालबालिकाको अधिकारको उल्लङ्घन भएको दर्शाउनुका साथै गरिबी बढाउँछ र आर्थिक वृद्वि एवं समतामुलक विकासलाई सीमित तुल्याईदिन्छ। बाल श्रमसँग सम्बन्धित जोखिम सम्बोधन गर्नको लागि गरिबी तथा बहिष्करणको जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा र मर्यादित कामको अवसर एकतावद्व रुपमा प्रदान गर्दै आवश्यक कार्यक्रमहरू सन्चालन गर्नु अहिलेको समयको मुख्य आवश्यकता रहेको  छ।" 

महामारीको असर स्वरूप २०२२ को अन्त्यसम्ममा थप ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिममा रहेको कुरा पनि प्रतिवेदनमा औंल्याईएको छ।  सामाजिक सुरक्षामा पहुँच पुग्न नसकेको खण्डमा भने उक्त संख्या ४ करोड ६० लाख पुग्ने कुरा पूर्वानुमान अध्ययनले देखाएको छ। 

२०१६ देखि नै अगाडि बढेका एसिया तथा एसिया प्रशान्त क्षेत्र एवं दक्षिण अमेरिका तथा क्यारेबियन क्षेत्रमा केहि प्रगति हासिल भईरहेकोमा कोभिड-१९ ले त्यसलाई खतरामा पारेको छ।

नेपालमा बाल श्रम उन्मुलन तर्फ भईरहेको प्रगति पनि वर्तमान महामारीको अवस्थाले गर्दा अवरुद्व हुनसक्छ। अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बाल श्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको कुरा उल्लेख गरेको छ। खतरायुक्त काम गरिरहेका बालबालिकाको संख्या २००८ मा ६ लाख २० हजार रहेकोमा २०१८ मा २ लाख २० हजारमा झर्दै  उल्लेख्य मात्रामा कमी आएको छ।   

यी उपलब्धिहरू अहिलेको कोभिड-१९ महामारीका कारण सृजना भएका चुनौतीका कारण जोखिममा रहेका छन्। बाल श्रमिकको रूपमा कार्यरत बालबालिकामा शारीरिक र मानसिक हानि पुग्ने जोखिम रहनुका साथै बाल श्रममा लागेको कारण उनीहरूलाई शिक्षाको अवसर एवं अधिकारहरूबाट वन्चित गरि भविष्यमा आउने अवसरलाई सीमित गरिदिन्छ, र पुस्तैनी गरिबी तथा बाल श्रमको खतरनाक चक्रमा धकेल्छ। 

“बालबालिकालाई बाल श्रम र त्यसका अरु जोखिमहरू जस्तै भौतिक र मनोसामाजिक क्षति, शिक्षा बाट बञ्चित हुनुपर्ने अवस्था र शोषणबाट जोगाउन कोभिड-१९ पूर्व नै चुनौतिपूर्ण थियो। नयाँ तथ्याँकहरूले देखाए अनुसार, बालबालिका सहितका परिवारहरूलाई यो महामारीको सामाजिक-आर्थिकको प्रभावले धेरै असर गरेको छ। जेठ महिनामा गरिएको द्रूत बालबालिका र परिवार ट्र्याकर सर्वेक्षण का अनुसार ५० प्रतिशत भन्दा बढि परिवारहरूले रोजगार र जिविकोपार्जन गुमाएका छन्,” नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विसले भन्नुभयो। “पहिले देखि नै श्रम गरिरहेका बालबालिकाले कोभिड-१९ को कारण निम्तिएको आर्थिक क्षति तथा विद्यालय बन्द जस्ता कारणले थप समय श्रम गरिरहेका वा चिन्ताजनक अवस्थामा काम गरिरहेका हुनसक्छन् भने  संकटासन्न परिवारका सदस्यहरूले रोजगारी तथा आम्दानी गुमाएका कारण अन्य थुप्रै बालबालिका निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य पारिएका हुनसक्छन्। यस महामारी नियन्त्रणमा हाम्रो सामुहिक सफलता भनेको यो जटिल अवस्थामा हामीले कति परिवारलाई सहयोग गर्न सक्यौं र कति बालबालिकालाई हुर्कदै एवं विकसित हुँदै अगाडि बढ्नको लागि सहयोग गर्न सक्यौं भन्ने पक्षबाट समेत मापन गरिनुपर्दछ। यसरी मापन गर्नु असम्भव छैन -  बालबालिकालाई बाल श्रमबाट मुक्त गरि विद्यालय पठाउने मात्रै नभई उनीहरूका परिवारलाई बाल श्रमको विकल्प रोज्न हुन सघाउनको लागि सामाजिक कार्य तथा सामाजिक सुरक्षा कार्यक्रमहरूमा सामुहिक लगानी गरेर मापन गर्न सकिन्छ।"

बाल श्रमिकको संख्यालाई बढ्दोबाट घट्दो क्रममा पुर्याउनको लागि अन्तर्राष्ट्रिय श्रम संगठन र युनिसेफले यी कार्यहरू गर्न आव्हान गर्दछन् :

  • घरपरिवारको सामाजिक-आर्थिक अवस्थालाई मध्यनजर गर्दै  बालबालिकाको लाभ सम्बन्धमा  विश्वव्यापी मान्यता र योग्यता मापदण्ड अनुरूप सम्पूर्ण बालबालिकालाई पर्याप्त सामाजिक सुरक्षाको व्यवस्था गर्ने। 
  •  कोभिड-१९ महामारी पूर्व नै विद्यालय जानबाट वन्चित रहेका समेत सबै बालबालिकालाई पुन: विद्यालय जाने अवसरका साथै गुणस्तरीय शिक्षामा थप लगानी गर्ने। 
  • पारिवारिक आम्दानीमा सघाउनको लागि बालबालिकालाई काममा लगाउनुपर्ने अवस्था रहन नदिनको लागि वयस्कहरूका लागि मर्यादित कामको प्रवर्दन गर्ने । 
  • बाल श्रमलाई प्रभावित पार्ने हानिकारक लैङ्गिक मान्यता तथा विभेदको अन्त्य गर्ने  
  • बाल संरक्षण प्रणाली, सामाजिक कार्य, कृषि विकास, ग्रामीण सार्वजनिक सेवा, पूर्वाधार तथा जीविकोपार्जनका क्षेत्रमा लगानी गर्ने। 

बाल श्रम अन्त्यको लागि अन्तर्राष्ट्रिय वर्षको एउटा अंशको रूपमा रहेको एवं युनिसेफ र अन्तर्राष्ट्रिय श्रम संगठनको साझेदारी रहेको विश्वव्यापी साझेदारी गठबन्धन ८.७ ले  ठोस रूपमा कार्य गर्ने प्रतिवद्वता सहित बाल श्रम विरुद्वको विश्वव्यापी लडाईमा आफ्नो पहल कदमीलाई पुन: सशक्त बनाउनको लागि सदस्य राष्ट्र, व्यवसायिक प्रतिष्ठान, मजदुर संगठन, नागरिक समाज, र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आव्हान गर्दछ।  

नेपाल विश्वव्यापी गठबन्धन ८.७ को पथप्रदर्शक राष्ट्र हो। यो वर्ष नेपालका बालबालिकाको लागि अवसर, सुरक्षा तथा स्याहार सुनिश्चित गर्नको लागि मार्गहरूलाई व्यापक बनाउनु अत्यन्तै महत्वपूर्ण छ।  

###

मिडिया सम्पर्कहरू

बिना थापा
अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल
सम्पर्क: +9779851153703
इमेल: [email protected]
तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: [email protected]

अन्तर्राष्ट्रिय श्रम संगठनको  बारेमा 

श्रम मापदण्ड तय गर्न, सम्पूर्ण महिला तथा  पुरूषहरूका लागि मर्यादित कामको प्रवर्दन गर्ने नीति एवं कार्यक्रमको विकास गर्नको लागि संयुक्त राष्ट्रसंघका १८७ वटा सदस्य राष्ट्रका सरकार, रोजगारदाता र कामदारहरूलाई सन् १९१९ देखि एकै ठाउँमा उभ्याईरहेको एक मात्र त्रिपक्षीय संयुक्त राष्ट्रसंघीय निकाय हो। अन्तर्राष्ट्रिय श्रम संगठन, एक मात्र त्रिपक्षीय संयुक्त राष्ट्रसंघीय निकायले १८७ वटा सदस्य राष्ट्रका सरकार, रोजगारदाता र कामदारहरूलाई श्रम मापदण्ड तय गर्न, सम्पूर्ण महिला तथा  पुरूषहरूका लागि मर्यादित कामको प्रवर्दन गर्ने नीति एवं कार्यक्रमको विकास गर्नको लागि एकै ठाउँमा ल्याउदछ । थप जानकारीको लागि www.ilo.org मा जानुहोस्।

 

युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा वन्चितिकरणमा परेका बालबालिकाहरूसम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरुमा काम गर्दछ । १९० भन्दा बढी देशहरु तथा भु-भागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं । युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि  www.unicef.org मा जानुहोस्। Twitter, Facebook, Instagram र  YouTube मा हामीलाई फलो गर्नुहोस् ।