पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?

पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो

युनिसेफ

कोरोना भाइरस (कोभिड –१९)को महामारीका कारण दिनभरी घरमा बस्न बाध्य बालबालिकालाई विद्यालयमा सिकाइने कुरा अहिले अभिभावकले घरमै सिकाउनु पर्ने अवस्था आइपरेको छ । कक्षा एक भन्दा माथिका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक भएका हुनाले के सिकाउने प्रष्ट छ । तर पूर्व प्राथमिक कक्षाका बालबालिकाका लागि पाठ्यपुस्तक आवश्यक नपर्ने हुँदा यी बालबालिकाले के सिक्नुपर्छ भन्ने बारेमा थप खोतल्नु पर्ने देखिन्छ । यही सन्दर्भमा यो लेख लेखिएको हो ।

के हो पूर्व प्राथमिक कक्षा ?

२०५८ सालको शिक्षा ऐनको सातौ संशोधन अनुसार एक वर्षे पूर्व प्राथमिक शिक्षालाई नेपाल सरकारले मान्यता दिएको देखिन्छ । २०७५ सालको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी बनेको विधेयकमा चार वर्ष (४८ महिना) पूरा गरेका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको शिक्षालाई पूर्व प्राथमिक कक्षा अथवा प्रारम्भिक बालविकास तथा शिक्षा भनिएको छ ।

नेपाल सरकारबाट एक वर्षकालागि मात्र मान्यता दिइएतापनि बालबालिकाको प्रारम्भिक बालविकास तथा स्याहारसँग जोड्दै, समूदायको चाहना तथा माग अनुसार सामुदायिक विद्यालयमा दुई वर्ष र नीजि विद्यालयमा चार वर्षसम्म प्रारम्भिक बालविकास कार्यक्रम भित्र पूर्व प्राथमिक कक्षा सञ्चालन भइरहेको छ ।

२०६२मा स्वीक्रित प्रारम्भिक बालविकास दिग्दर्शन (पाठ्यक्रम)का अनुसार पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो ।

This image shows a young child in her ECD classroom
UNICEF Nepal

पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?

प्रारम्भिक बालविकास दिग्दर्शनमा बालबालिकालाई कक्षाकोठामा के र कसरी सिकाउने बारे लेखिएको हुनाले, बालबालिका घरमा नै रहेको हालको अवस्थामा प्रारम्भिक बाल सिकाइ तथा विकास मापदण्ड (२०६८) सहयोगी हुन्छ । यस मापदण्डको एउटा प्रमुख उद्देश्य, कलिला बालबालिकाको स्याहार तथा सिकाइमा संलग्न अभिभावकहरू, प्रारम्भिक बाल विकास सम्बन्धी विज्ञहरू तथा सबै समुदायका सदस्यहरूको बीचमा यी बालबालिकाबाट के कस्ता जायज अपेक्षा गर्न सकिन्छ र ती कसरी पूरा गर्न सकिन्छ भन्ने बारे साझा छलफलका लागि एउटा साधन बनाउनु पनि हो ।

मापदण्ड  निर्माणका लागि बालबालिकाप्रतिको राष्ट्रिय मूल्य–मान्यता निम्नानुसार तोकिएका छन्ः–

(क) बालबालिका स्वस्थ क्रियाशील तथा सम्वेगात्मक रूपमा सन्तुलित हुनुपर्दछ ।

(ख) जिम्मेवार, मायालु, फरक विचारको कदर र अरूलाई आदर गर्ने हुनु पर्दछ ।

(ग) आत्मविश्वासिलो, सीपयुक्त तथा आत्मनिर्भर हुनु पर्दछ ।

(घ) परिवर्तनलाई आत्मसात गर्ने वा परिवर्तित सन्दर्भमा मिलेर बस्न सक्ने हुनु पर्दछ ।

माथि उल्लेखित राष्ट्रिय मूल्य–मान्यताहरूलाई आधार बनाइ ५ वटा मुख्य क्षेत्रहरूलाई समेटेर मापदण्ड निर्माण गरिएको छ जसमा बालबालिकाको शारीरिक विकास, सामाजिक तथा सम्वेगात्मक विकास, बौद्धिक विकास, भाषिक विकास र साँस्कृतिक विकास पर्दछन् ।

(१) शारीरिक विकास

यस क्षेत्रले बालबालिकाको शारीरिक स्वास्थ्य तथा दैनिक क्रियाकलापमा संलग्न हुने क्षमतालाई समेट्दछ ।


शारीरिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः

  • शरीरका स्थूल अंगहरूको तन्दुरूस्ती तथा समन्वयको प्रदर्शन गर्दछन् ।
  • शुक्ष्म मांसपेशीय अंगहरूको समन्वय र संचालन गर्न सक्षम छन् ।
  • आँखा र औंलाको समन्वय गरी देखाउन सक्षम छन ।
  • विविध सामग्री / वस्तुहरूको ठीक नियमित रूपमा प्रयोग गर्न सक्षम छन् ।
  • आफ्नो इन्द्रिय अंगहरूको प्रयोग गरी खेल्न र सिक्न सक्छन् ।
  • स्वस्थ र शारीरिक रूपमा क्रियाशील/ तन्दुरूस्त छन् ।
  • व्यक्तिगत सरसफाई गरेर देखाउन सक्छन् ।
  • आफ्नो वरिपरीको वातावरण सफा राख्न मद्दत गर्छन् ।
  • सुरक्षित रहने ज्ञान छ र हानीकारक वस्तुबाट टाढा रहने गरेका छन् ।
  • सन्तुलित भोजन खान्छन् ।

this image shows an illustration of children drawing
Government of Nepal/UNICEF Nepal
this image shows an illustration of children washing
Government of Nepal/UNICEF Nepal

शारीरिक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

१.१   शरीरका स्थूल अङ्गहरू (हात, खुट्टा) तन्काउने तथा सन्तुलन गर्ने अभ्यास गर्न प्रोत्साहित गर्ने ।

१.२   निर्देशित तथा स्वतन्त्र खेल खेल्न प्रोत्साहित गर्ने ।

१.३   विभिन्न वस्तुहरू जस्तै रङ्गिन कागज, रङ्गिन क्रेयन, कलम चक, रङ, रङ्गिन पाउडर, माड (गम), कैची, टुक्रा पुरानो कपडा आदिको प्रयोग गरी सूक्ष्म अङ्ग (औंला) तथा मांसपेशीको सञ्चालन र अभ्यास गर्न प्रोत्साहित गर्ने ।

१.४  आफ्नो वरिपरिको प्राकृतिक वातावरणमा आवाज आउने वस्तुहरू खोजतलास गर्न लगाउने र ती वस्तुहरूबाट आवाज निकाल्न प्रोत्साहित गर्ने ।

१.५   टाँक लगाउने र तुना लाउने अभ्यास गराउने ।

१.६   अभिभावक आफैले नमूनाको रूपमा व्यक्तिगत सरसफाई गरी व्यवहारमा देखाउने र सोही अनुसार सरसफाई गर्न प्रोत्साहित गर्ने ।

(२) सामाजिक तथा सम्वेगात्मक विकास

यस क्षेत्रले बालबालिकाहरूको सौहार्दपूर्ण तथा सकारात्मक सम्बन्ध बनाउने क्षमता जसले गर्दा उनीहरू घरपरिवार, विद्यालय र समुदायमा राम्ररी घुलमिल हुन सक्ने हुन्छन् । साथै यस क्षेत्रले बालबालिकाहरूको सम्वेगात्मक सन्तुलन कायम गरी सिकाई तथा ज्ञान हासिल गर्ने कार्यमा संलग्न हुने क्षमतालाई पनि समेट्दछ । 

This image shows an illustration of a family cleaning
Government of Nepal/UNICEF Nepal
This image shows an illustration of children working in a field
Government of Nepal/UNICEF Nepal

सामाजिक तथा सम्वेगात्मक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः

  • परिचित साथी तथा वयस्कहरूसँग सौहाद्र्ध सम्बन्ध देखाउन सक्नेछन् ।
  • अपरिचित वयस्कहरूसँग सौहाद्र्ध सम्बन्ध देखाउन सक्नेछन् ।
  • आफ्नो परिचय दिन सक्छन् ।
  • दैनिक क्रियाकलाप सम्बन्धी जिम्मेवारीहरू लिन सक्छन् ।
  • सबै किसिमका सिकाई क्रियाकलापहरूमा भाग लिन्छन् ।
  • व्यक्तिगत तथा सामुहिक कार्य गर्न स्वनिर्भर हुन सक्छन् ।
  • घरका घरधन्दा र बाल विकास केन्द्रको क्रियाकलापमा संलग्न रहन्छन् ।
  • समूहमा सामग्रीहरू लेनदेन गरि प्रयोग गर्ने र आफ्ना बिचार एक आपसमा बाँड्ने गर्छन् । 
  • आफ्ना साथीहरू र वयस्कहरूसँग आवश्यकता अनुसार उचित व्यवहार गर्छन् ।
  • परिचित र अपरिचित वातावरणमा घुलमिल हुन सक्छन् ।
  • स्वयंको बारेमा सचेतना देखाउँछन् ।
  • आफू र आफ्नो क्षमता प्रति गौरव देखाउँछन् ।
  • अवस्था अनुसार विभिन्न संवेगहरू प्रकट गर्छन् । 
  • अरूको भावना बुझेर सोही अनुसार प्रतिक्रिया जनाउने गर्दछन् ।
  • विभिन्न अवस्थामा सुरक्षाको अनुभूति देखाउने गर्छन् । 
  • नयाँ अनुभवहरू तथा नयाँ कुराहरू सिक्न आत्मविश्वास प्रदर्शन गर्ने गर्दछन् । 
  • आफ्ना संवेगहरू सन्तुलित रूपमा प्रयोग गरेर देखाउन सक्दछन् । 

सामाजिक तथा सम्वेगात्मक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

२.१ दैनिक रूपमा आफूभन्दा ठूलालाई अभिवादन गर्न प्रोत्साहित गर्ने र परिवारका अन्य सदस्यले पनि सोही अनुसार गरेर देखाउने ।

२.२ हालको अवस्थामा भौतिक दुरी कायम गर्दै, अन्य बालबालिकासँग अन्तरक्रिया गर्न र खेल्न प्रोत्साहित गर्ने ।

२.३ रमाइलो वातावरणमा रहेर आफ्नो भावनाहरू निर्धक्क प्रकट गर्न तथा आत्मविश्वासका साथ क्रियाकलापमा भाग लिन अवसर प्रदान गर्ने ।

२.४ आफ्नो पालो पर्खन लाइनमा बस्ने बानी बसाल्न प्रोत्साहित गर्ने ।

२.५ एकले अर्कालाई सहयोग गर्न, भेदभाव नगर्न प्रोत्साहित तुल्याउने खालको कथाहरू सुनाउने ।

२.६ घरायसी काममा उनीहरूको इच्छा र क्षमता अनुसार संलग्न हुन प्रोत्साहित गर्ने ।

(३) बौद्धिक विकास

यस क्षेत्रले भौतिक तथा सामाजिक परिवेशबारे ज्ञान हासिल गर्ने तथा सो बारे विचार गर्न सक्ने क्षमतालाई समेट्दछ । विशेषतः यस क्षेत्रले बालबालिकाहरूको वरिपरीको वातावरणमा उपलब्ध सामानहरू, संस्था र रङ आदिबारेको ज्ञानलाई समेट्दछ ।

This image shows an illustration of children doing different activities
Government of Nepal/UNICEF Nepal

बौद्धिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः

  • खोज तथा अन्वेषण गर्न सक्छन् । 
  • समस्याको समाधान गर्न तथा अनुभवबाट आइपर्ने परिणामको अनुमान गर्न सक्छन् ।
  • सिकाईको विश्लेषण गर्दै प्राप्त निष्कर्षलाई भविष्यको सिकाईमा प्रयोग गर्छन् ।
  • आकार तथा नापको ज्ञान देखाउन सक्छन् । 
  • विभिन्न ज्यामितीय तथा अन्य आकारहरू चिन्न र तिनका बारेमा भन्न सक्छन् ।
  • विभिन्न वस्तुहरूलाई रङको आधारमा चिन्न र तुलना गर्न सक्छन् ।
  • वस्तुहरूको क्रम मिलाएर राख्न तथा वर्गीकरण गर्न सक्छन् ।
  • मौसमलाई हेरेर त्यसका बारेमा वर्णन गर्न सक्छन् । 
  • सूर्य, चन्द्रमा, तारा र आकाशको वर्णन गर्न सक्छन् ।
  • शरीरका अङ्गहरूको नाम भन्न सक्छन् । 
  • सजीव र निर्जीव वस्तुहरू छुट्याउन सक्छन् ।
  • जीवित वस्तुहरूका विभिन्न वासस्थान हुन्छन् भन्ने जान्न/बुझ्न सक्छन् ।
  • दैनिक प्रयोग हुने वस्तुहरू (धातुका वस्तु र अन्य) चिन्न र तिनलाई वर्णन गर्न सक्छन् । 
  • पानीको गुण बारे बताउन सक्छन् ।
  • आफ्नो वरपर प्रयोग हुने केही औजार\उपकरण तथा वस्तुहरू छुट्याउन सक्छन् । 
  • आफ्नो ठाउँमा पाइने विभिन्न प्रकारको यातायातका साधनहरूको वर्णन गर्न सक्छन् । 
  • दिशा /निर्देशन बुझ्न र प्रयोग गर्न सक्छन् । 
  • दुरीको ज्ञान देखाउन र प्रयोग बुझ्न सक्छन् । 
  • वस्तुको स्थान र अवस्थितिको बारेमा बुझ्न सक्छन् । 
  • विभिन्न समयमा गरिने विभिन्न कामहरूबारे कुराकानी गर्न सक्छन् । 
  • हरेक दिनको समयलाई विभिन्न समयमा छुट्याउन सक्छन् । 
  • १ देखि १० सम्मको अङ्क र गिन्तीको ज्ञान देखाउन सक्षम छन् । 
  • उचाइ, लम्बाइ, तौल र आयतन (मात्रा) को अवधारणा बुझ्न र प्रदर्शन गर्न सक्छन् ।
  • विभिन्न सामग्रीको प्रयोग गरेर विभिन्न वस्तु/आकार बनाउन र चित्र कोर्न सक्छन् । 
  • आफ्नो परिकल्पना नाटक तथा अभिनयमा प्रयोग गर्न सक्छन् ।   
  • वास्तविकता र परिकल्पनामा हुने भिन्नता छुट्याउन सक्छन् ।
  • सङ्गीतका विभिन्न सामग्री तथा आवाज प्रयोग गरेर सङ्गीत बनाउन सक्छन् ।  

बौद्धिक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

३.१ डोमिनो, पजल जस्ता वस्तु दिएर खोज तथा अन्वेषण गर्न लगाउने ।

३.२ कथा सुनाउँदा अन्तमा अब के हुन्छ होला भनी सोधेर उसलाई कथा पूरा गर्न लगाउने ।

३.३ विभिन्न आकार नाप, रङ र बुट्टाका वस्तुहरू दिएर ती वस्तुहरू चिन्न, वर्गीकरण गर्न तथा क्रममा मिलाउन लगाउने ।

३.४ विभिन्न विषयका बारेमा जिज्ञासु हुने तथा छलफल गर्ने वातावरण बनाउने ।

३.५ आफ्नो वरिपरि पाइने उपकरण तथा साधनहरू अवलोकन गर्ने अवसर प्रदान गर्ने ।

३.६ वस्तुलाई एकएक गर्दै १-१० सम्म गन्न प्रोत्साहन गर्ने । हात, हावा, बालुवा आदिमा अङ्क लेख्न लगाउने ।

This image shows a family talking

 

(४) भाषिक विकास

यस क्षेत्रले बालबालिकाहरूको भाषिक ज्ञान, भाषाको बुझाई तथा प्रयोग गर्ने क्षमता जस्तो कि पढाइ र लेखाइ सीपका साथै प्रभावकारी रूपमा आफ्नो भनाइ ब्यक्त गर्ने क्षमतालाई समेट्दछ ।


भाषिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः

  • अरूले बोलेको कुरा सुन्न र ठीकसँग जवाफ दिन सक्छन् । 
  • सजिला वाक्यहरूको प्रयोग गर्दै बोल्न सक्छन् । 
  • बालबालिकाहरूले एक अर्का तथा चिनजानका ठूलो मान्छेसँग कुरा गर्न सक्छन् ।
  • पूर्व पढाइका सीपहरू देखाउन सक्षम हुनेछन् ।
  • पूर्व लेखन सीपहरू(विभिन्न धर्सा एवं बुट्टाहरू) देखाउन सक्छन् ।

४.१ बालबालिकालाई चाख लाग्दा कथा सुनाउने र बालबालिकालाई पनि उक्त कथा दोहोर्याएर भन्न प्रोत्साहित गर्ने । कथासँग सम्बन्धित खुला प्रश्नहरू सोध्ने ।भाषिक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

४.२ चित्र कथा पढ्दा औंला सारेर पढ्न प्रोत्साहन गर्ने ।

४.३ चित्रहरूको व्याख्या गर्न, डोमिनो खेल्न, तथा चित्र/ शब्द जोडा मिलाउन प्रोत्साहित गर्ने ।

४.४ बालबालिकालाई कुरा गर्न र आफ्ना विचारहरू व्यक्त गर्न प्रोत्साहित गर्ने ।

४.५ बालबालिकालाई चिनो लगाउने, ढाँचा सार्ने जस्ता क्रियाकलापहरू गर्न तथा माटो, बालुवा, कालोपाटी आदिमा कोर्न प्रोत्साहन गर्ने ।

४.६ सूचना र निर्देशन सुन्न र सोही अनुसार कार्य गर्न प्रोत्साहित गर्ने ।

(५) साँस्कृतिक विकास

माथि उल्लेखित विविध साँस्कृतिक राष्ट्रिय मूल्य मान्यतालाई सम्बोधन गर्न तथा राष्ट्रको साँस्कृतिक सम्पदाको जगेर्नाका लागि यो क्षेत्र समावेश गरिएको छ ।


साँस्कृतिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः

  • विभिन्न व्यक्तिहरूको आ–आफ्नै आवश्यकता तथा फरक–फरक संस्कृति हुन्छन् भन्ने बुझ्ने छन् र तिनीहरूको आदर गर्ने छन् । 
  • बालबालिकाहरूले हामी नपाली हौं भन्ने बुझ्छन् ।
  • आफ्नो परिवारको साधारण मूल्य मान्यता बुझेर अनुशरण गर्न सक्छन् । 
  • आफ्नो समुदायको मूल्य मान्यता बुझेर अनुशरण गर्ने तथा बाल विकास केन्द्रको दैनिक कार्यतालिकाको महत्व दिएर अनुसरण गर्छन् । 

५.१ अन्य साथीहरू तथा वयस्कहरूको चालचलन, लवाइ–खवाइबारे उनीहरूको भनाइ आदर साथ सुन्न प्रोत्साहित गर्ने । साँस्कृतिक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

५.२ विभिन्न राष्ट्रिय चिन्हहरूसँग परिचित हुने अवसर प्रदान गर्ने ।

५.३ आदरपूर्वक राष्ट्रिय गान सुन्न र गाउन अवसर प्रदान गर्ने ।

५.४ आफ्नो परिचय दिन तथा अरूको परिचय लिन अवसर प्रदान गर्ने ।

५.५ स्थानीय तहमा हुने साँस्कृतिक क्रियाकलाप बारे अभिनय गर्ने अवसर प्रदान गर्ने ।

५.६ भौतिक दुरी कायम गर्दै स्थानीय तहमा उपलब्ध साँस्कृतिक सम्पदा (जस्तै मन्दिर, गुम्बा आदि)को अवलोकन गर्न लैजाने तथा सो सम्बन्धित चित्र तथा अन्य सामग्री सङ्कलन गर्ने अवसर प्रदान गर्ने ।

माथि उल्लेखित सूचकहरूबाट के बुझिन्छ भने पूर्व प्राथमिक कक्षाका बालबालिकाले साधारणतः अभिभावकले सोच्ने क-ख-ग, A-B-C-D, वा संख्या भन्दा अरु धेरै कुराहरू सिक्नु पर्ने रहेछ । हालाकि विभिन्न अनुसन्धान अनुसार, बालबालिकाले सिक्ने अन्य विकासात्मक पक्ष जीवनभरि काम लाग्ने गरेको पाईन्छ । तर, शैक्षिक गुणस्तर परिक्षण केन्द्रले (२०७६) गरेको अनुसन्धान अनुसार ३९ प्रतिशत बालबालिकामात्र माथि उल्लेखित मापदण्ड पूर्ण रुपमा पुरा गर्न सक्षम थिए ।

त्यसैले घरमा रहेको हालको अवस्थामा बालबालिकालाई केवल क-ख-ग, A-B-C-D, चिन्न र लेख्न लगाउनु भन्दा उनीहरूको सर्वाङ्गीण अर्थात् शारीरिक, सामाजिक तथा सम्वेगात्मक, बौद्धिक, भाषिक र साँस्कृतिक विकासको अवसर प्रदान गरौं ।