‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम लैङ्गिक हिंसा रोकथामका लागि १६ दिने विश्व अभियानमा आबद्ध 

11 डिसेम्बर 2023
People in panel discussion for 16 days of activism
EWPM/2023/AAdhikary
A policy discussion led by Ms. Rita Sah, Author, focusing on investing in the prevention of Gender-Based Violence. The panelists include Ms. Devu KC, Under Secretary at the Ministry of Sports and Social Welfare; Ms. Kalapana Chaudhary, Vice Chair of Krishnasavaran Agnisair Rural Municipality in Saptari district; Ms. Sunaina Thakur, Entrepreneur in Mithila Art, representing the Federation of Nepalese Chamber of Commerce (FNCCI); and Rabindra Mahato from the Youth Network in Madhesh. From right to left, they engage in an intense discussion on investing in the prevention of Gender-Based Violence.

जनकपुर, २२ मङ्सिर २०८० - नेपाल सरकार, नेपालस्थित युरोपेली संघको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्र संघले, 'सशक्त महिला, समृद्ध नेपाल’ नामक संयुक्त कार्यक्रममार्फत ‘महिला र बालिका विरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ भन्ने विश्वव्यापी नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमको आयोजना गरेको छ ।

मधेश प्रदेश सभाका महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति माननीय रुपा कुमारी यादव,  नेपालको संयुक्त राष्ट्रसंघको आवासीय प्रतिनिधिको तर्फबाट युएन वुमनकी राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पचेको र युरोपेली संघका प्रतिनिधिमण्डल कर्पोरेसनका उपप्रमुख ईलोइजा आस्टुल्डाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल सरकार, युरोपेली संघ, संयुक्त राष्ट्रसंघीय नियोग, नागरिक समाज, नीति निर्माता, निजी क्षेत्र सम्बद्ध संस्थाका प्रमुख तथा मधेश प्रदेशका युवाहरूको समेत सहभागिता रहेको थियो । 

कार्यक्रममा नीति निर्माता, स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि, निजी क्षेत्र, लैङ्गिक समानताको वकालत गर्ने युवा तथा नागरिक समाजबिच धरातलीय यथार्थलाई बुझ्ने र लैङ्गिक हिंसालाई सम्बोधन गर्नका लागि विविध दृष्टिकोणलाई एकीकृत गर्ने विषयलाई प्रोत्साहित गरिएको थियो ।

‘लैङ्गिक हिंसा रोकथाम र समानताका लागि भएका प्रयासमा प्रगति भए पनि चुनौती कायम छ,’ मधेश प्रदेश सभाका महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति माननीय रुपा कुमारी यादवले भन्नुभयो, ‘देशको ७५३ पालिकामध्ये ११५ वटा मात्रै पालिकाले लैङ्गिक हिंसा रोकथाम कोष स्थापना गरेका छन् । यसले स्थानीय तहमा लैङ्गिक हिंसा रोकथाम कोषको क्षेत्र विस्तार गर्न अत्यन्त आवश्यक रहेको देखाउँछ ।’

कार्यक्रममा महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्नका लगानी गर्ने र हिंसा र उत्पीडनमुक्त जीवन जिउन सकारात्मक पुरुषार्थ र पुरुषको भूमिमा जोड दिँदै कचहरी नाटक पनि प्रदर्शन गरिएको थियो । यसको साथै, लैङ्गिक हिंसा रोकथाममा लगानी वृद्धि गर्न प्रोत्साहन गर्नका लागि विभिन्न सरोकारवालाहरूसँग नीतिमा आधारित अन्तरक्रिया पनि गरिएको थियो । नीतिहरूको पुनरावलोकन, आर्थिक सशक्तीकरण तथा महिला अधिकार र समानतालाई प्रवर्द्धन गर्ने विषयमा अन्तरक्रिया केन्द्रित थियो । अन्तरक्रियाले नीति तथा लैङ्गिक हिंसा रोकथामबिच रहेको अन्तर हटाउनेमा जोड दिएको थियो ।

‘लैङ्गिक हिंसाका धेरै रूप हुन्छन्, यसले आर्थिक असमानता र सामाजिक मान्यतामा जरा गाडेको हुन्छ,’ युरोपेली संघको कर्पोरेसन उपप्रमुख ईलोइजा आस्टुल्डाले भन्नुभयो, ‘युरोपेली संघ लैङ्गिक हिंसा रोकथाममा लगानी गर्न नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्ध छ ।’

महिला अधिकारवादी सङ्गठनको योगदानको दिगोपनके वकालतका साथै लैङ्गिक हिंसा नियन्त्रणका लागि सार्वजनिक तथा निजी लगानीको महत्त्वमाथि पनि कार्यक्रममा प्रकाश पारिएको थियो ।

 ‘महिला तथा बालिकाविरुद्धको हिंसा विश्वव्यापी चासो हो, यो कुनै सीमामा मात्रै सीमित छैन, त्यसैले यसमा तत्काल सामूहिक प्रयास आवश्यक छ । सन् २०३० सम्ममा १५-४९ वर्ष उमेर समूहका महिलामा शारीरिक/यौन हिंसालाई ६.५% सम्म घटाउने नेपालको प्रतिबद्धता पुरा गर्न प्रत्येक प्रादेशिक तहमा लैङ्गिक हिंसा रोकथामको प्रभावकारी योजना र रणनीतिक लगानी अत्यावश्यक छ ।  महिलासम्बन्धी निकायहरूमा रहेको असमान शक्ति सम्बन्धलाई तोड्न आवश्यक छ । महिला तथा बालिकाविरुद्ध हुने हिंसासँग लड्न हामीले संयुक्त उद्देश्य, सचेतना वृद्धि, निर्दिष्ट बजेटको विनियोजन, महिला सङ्गठनहरूका लागि समर्थन बढाउने र कार्यस्थलमा महिलाको सुरक्षा तथा आर्थिक स्थायित्वको सुनिश्चितताको वकालत गर्नुपर्छ,’ नेपालस्थित संयुक्त राष्ट्रसंघको आवासीय संयोजकको तर्फबाट युएन वुमनकी राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज-पचेकोले भन्नुभयो ।

मधेश प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि तथा नियोगका प्रमुखहरूले एउटा स्मारक पट्टामा हस्ताक्षर गरी कार्यक्रमको समापन गरेका थिए । सरकारी प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाज तथा युवाहरूले स्मारक पट्टामा हस्ताक्षर गर्दै लैङ्गिक हिंसा रोकथामका लागि आफूहरूको लगानी रहने संयुक्त प्रतिबद्धता जाहेर गरेका थिए । महिला सम्बद्ध सङ्गठनमा लगानी, कानुनी उपायहरूमा जोड, दोषीमाथि कानुनी कारबाही र फोकाल प्वाइन्टको रूपमा पीडितको सेवालाई सुदृढ गर्ने नै कार्यक्रमको मुख्य निष्कर्ष रहेको थियो ।

###

मिडिया सम्पर्कहरू

अम्बर मैनाली
युरोपियन युनियन
सम्पर्क: +97714429445
सिम्रिका शर्मा
संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधीको कार्यालय
सम्पर्क: 5523200 Ext. 1519

सशक्त महिलासमृद्ध नेपाल’ संयुक्त कार्यक्रमबारे

‘सशक्त महिला, समृद्ध नेपाल’ नेपाल सरकार, युरोपेली संघ र राष्ट्र संघको संयुक्त अभियान हो, जसको लक्ष्य लैङ्गिक समानता, महिला सशक्तीकरण र नेपालमा समावेशी वृद्धिको विकासलाई प्रोत्साहित गर्ने रहेको छ । यो संयुक्त अभियानले हानिकारक सामाजिक मूल्यमान्यतालाई चुनौती दिने, निर्वाचित जनप्रतिनिधिहरूले सामना गरिरहेको चुनौती बाबजुद राजनीतिमा महिला सहभागितालाई प्रवर्द्धन गर्ने प्रयास गर्नेछ ।