रोकथाम गर्न सकिने बालमृत्यु उन्मुलनतर्फ विगत केहि दशकमा भएको प्रगति कोभिड-१९ को कारणले गुम्न सक्ने र मृत्युको पुरानै अवस्था फर्कन सक्ने विभिन्न संस्थाहरूको चेतावनी

सन् २०१९ मा विश्वभर इतिहासकै सर्वाधिक कम अर्थात् ५२ लाख बालबालिकाको मृत्यु भएकोमा कोभिड-१९ महामारीले गर्दा बाल तथा मातृ स्वास्थ्य सेवाहरू अवरुद्व हुन पुगेकाले थप लाखौं बालबालिकाको जीवन जोखिममा परेको छ

18 सेप्टेम्बर 2020

न्यूयोर्क/जेनेभा/काठमाडौं, ६ भाद्र २०७७ - युनिसेफ, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभाग र विश्व बैंक समूहद्वारा संयुक्त रुपमा जारी गरिएको बाल मृत्युदर सम्बन्धी पछिल्लो अनुमानअनुसार सन् १९९० मा १ करोड २५ लाख रहेको पाँच वर्ष मुनिको बालमृत्युको संख्या २०१९ मा आइपुग्दा सर्वाधिक कम अर्थात् ५२ लाखमा झरेको छ।  

त्यसयता, युनिसेफ र विश्व स्वास्थ्य संगठनले गरेका सर्वेक्षणका अनुसार स्वाथ्य सेवामा कोभिड-१९ का कारणले भैरहेको अवरोधले दशकौंको अथक प्रयासबाट हासिल भएको उपलब्धिलाई गुमाउने जोखिम बढेको छ ।

"रोकथाम गर्न सकिने बालमृत्युको उन्मुलन तर्फ निकै अगाडि बढिसकेको विश्व समुदायको बाटोमा कोभिड-१९ महामारीले व्यवधान खडा गरिदिएको छ," युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्नुभयो। "स्वास्थ्य सेवा प्रणालीमा परेको चापको कारणले बालबालिका उपचारबाट वन्चित हुने तथा कोभिड-१९ संक्रमणको शिकार भइन्छ कि भन्ने डरले महिलाहरू अस्पतालमा शिशुलाई जन्म दिन डराउने अवस्था सिर्जना भएको छ। अवरुद्व भएका स्वास्थ्य प्रणाली तथा सेवाहरू पुन: सन्चालनमा ल्याउनको लागि तत्काल लगानी नगरिने हो भने लाखौंको संख्यामा पाँच वर्ष मुनिका बालबालिका, विशेष गरि नवजात शिशुहरूको मृत्यु हुन सक्छ ।" 

विगत ३० वर्षमा बाल मृत्युको प्रमुख कारणको रूपमा रहेका महिना नपुग्दै जन्मने, जन्मदाँ कम तौल हुने, जन्मने क्रममा आउने जटिलता, नवजात शिशुमा हुने सेप्सिस, निमोनिया, झाडापखाला तथा मलेरिया आदिको रोकथाम वा उपचारका लागि आवश्यक स्वाथ्य सेवाहरूले लाखौं बालबालिकाको जीवन बचाउन निकै ठुलो भूमिका खेलेका छन्।   

बाल मृत्यु दरको आंकलनको लागि गठन गरिएको संयुक्त संयुक्त राष्ट्र संघीय संस्थाहरूको समूह (युएन आइजीएमइ) ले तयार पारेको आँकलन अनुसार पाँच वर्ष मुनिको बाल मृत्यु कम गर्ने दिशामा उल्लेख्य प्रगति गरेको छ। २०१९ मा सो दर प्रति जीवित जन्मेका मध्ये ३१ जना रहेको थियो जुन सन् १९९० को तुलनामा ७८ प्रतिशतले कम हो। सहश्राब्दी विकास लक्ष्य ४ हासिल गर्ने थोरै देशहरू मध्ये नेपाल पनि एक हो।  

विश्व भरिकै देशहरूमा अहिले श्रोत साधनको कमी तथा कोभिड-१९ बाट संक्रमित हुने डरको कारण स्वास्थ्य सेवा लिने अनिच्छाले गर्दा स्वास्थ्य परीक्षण, खोप, सुत्केरी अघि र पछिको स्याहार जस्ता बाल तथा मातृ स्वास्थ्य सेवाहरू अवरुद्व भैरहेका छन्।  

केहि महिना अगाडि युनिसेफले  गरेको एउटा सर्वेक्षण गरेका ७७ वटा देशहरू मध्ये ६८ प्रतिशत मा बाल स्वास्थ्य परीक्षण तथा खोप सेवाहरूमा केहि न केहि अवरोध आउनुका साथै ६३ प्रतिशत देशहरूमा नियमित गर्भवती परीक्षण तथा ५९ प्रतिशत देशहरूमा सुत्केरी भएपछिको स्वास्थ्य सेवामा अवरोध भएको पाईएको छ।  

१०५ वटा देशहरूमा  हालसालै विश्व स्वास्थ्य संगठनले गरेको एउटा सर्वेक्षणका अनुसार ५२ प्रतिशतले अस्वस्थ बालबालिकाको स्वास्थ्य सेवा तथा ५१ प्रतिशतले कुपोषण व्यवस्थापन सेवा प्रवाहमा अवरोधको सामना गरिरहेका छन् ।

त्यसै गरि नेपालमा बन्दाबन्दीको प्रारम्भिक चरणमा परिवार कल्याण महाशाखासंगको सहकार्यमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले सम्पन्न गरेको तीव्र अध्ययनका अनुसार बन्दाबन्दी हुनुभन्दा अघिको तुलनामा गर्भवती परीक्षणमा ६० % तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा ३५ % ले कमी आएको छ। नियमित गर्भवती परीक्षण गर्नु तथा स्वास्थ्य संस्थामा सुत्केरी हुनु आमा र शिशु दुबैको जीवन बचाउनको लागि अत्यन्तै महत्वपूर्ण हुन्छ।  

यी स्वास्थ्य सेवाहरू रोकथाम गर्न सकिने नवजात शिशु तथा बाल मृत्यु हुनबाट बचाउनको लागि महत्वपूर्ण हुन्छन्।  जस्तै, विश्व स्वास्थ्य संगठनका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तालिम प्राप्त व्यावसायिक स्वास्थ्यकर्मी (मिडवाइफ) हरूबाट सेवा प्राप्त गर्ने महिलाहरूको शिशु खेर जाने सम्भावना १६ प्रतिशत र महिना नपुग्दै शिशु जन्मिने सम्भावना २४ प्रतिशतले कम हुन्छ ।  

"एक वर्ष नपुग्दै मृत्यु हुने शिशुहरूको संख्या हालसम्मकै कम हुनुले विश्वले आफ्नो प्रतिकार्यको केन्द्रबिन्दुमा स्वास्थ्य र कल्याणलाई राखेमा के कस्ता परिवर्तनहरू हासिल गर्न सकिन्छ भन्ने कुराको संकेत हो," विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेससले भन्नुभयो। "हाम्रा बालबालिका तथा भावी पुस्ताको सवालमा हासिल भैसकेका उल्लेख्य उपलब्धिहरूलाई कोभिड-१९ को कारणले पुरानै अवस्थामा फर्किनबाट रोक्नु पर्दछ। बरू, के कसरी जीवनहरू बचाउन सकिन्छ भन्ने बारेमा हामीसँग भएको ज्ञानलाई उपयोग गर्दै थप सुदृढ एवं उत्थानशील स्वास्थ्य प्रणालीको लागि आवश्यक लगानी कार्यलाई निरन्तरता दिनुपर्दछ।"   

युनिसेफ र विश्व स्वाथ्य संगठनले गरेका सर्वेक्षण गरेका देशहरूबाट संकलित जवाफका आधारमा स्वास्थ्य सेवा प्राप्त गर्नमा आएको अवरोधका प्रमुख कारक तत्वहरूमा संक्रमणको डरले अभिभावकहरू बालबालिकालाई स्वास्थ्य केन्द्रसम्म नलैजानु; यातायातमा अवरोध; विभिन्न सेवा तथा सुविधाहरू स्थगित वा बन्द हुनु; मास्क तथा पन्जा जस्ता सुरक्षा सामाग्रीहरूको अभावले संक्रमणको डरले वा नियमित स्थानभन्दा अन्त्यत्र खटाईएकाले स्वास्थ्यकर्मीको कमी; र आर्थिक कारणहरू रहेका छन् । सबै भन्दा प्रभावित देशहरूको रूपमा अफगानिस्तान, बोलिभिया, क्यामरून, केन्द्रिय अफ्रिकी गणतन्त्र, लिब्या, मदागास्कर, पाकिस्तान, सुडान र यमन लगायत रहेका छन्।    

सन् २०१९ मा हरेक ९ मध्ये ७ वटा देशहरूमा बाल मृत्यु दर प्रति एक हजार जीवित जन्म मध्ये ५० रहेको थियो। सो वर्ष हरेक १७ बालबालिका मध्ये १ जनाको ५ वर्ष उमेर नपुग्दै मृत्यु भएको अफगानिस्तानको स्वास्थ मन्त्रालयका अनुसार बालबालिका तथा गर्भवतीलाई स्वास्थ्य संस्थामा लैजाने क्रममा उल्लेख्य कमी आएको छ । कोभिड-१९ भाइरसको डरले गर्दा सुत्केरी हुनु अघि तथा पछिको स्वास्थ्य सेवा लिन परिवारहरू अनिच्छुक देखिंदा यसै पनि जोखिममा रहेका गर्भवती महिला तथा नवजात शिशुहरू थप खतरामा परेका छन् ।    

कोभिड-१९ महामारी अघिको अवस्थामा पनि नवजात शिशुहरू मृत्युको सबै भन्दा उच्च जोखिममा रहन्थे।  २०१९ मा प्रत्येक १३ सेकेण्डमा एक जना नवजात शिशुको मृत्यु भएको थियो।  साथै, १९९० मा पाँच वर्ष मुनिको बाल मृत्यु संख्यामा नवजात शिशुको संख्या ४० प्रतिशत रहेकोमा गत वर्ष बढेर ४७ प्रतिशत पुग्यो। अत्यावश्यक स्वास्थ्य सेवामा भैरहेका गम्भीर अवरोधहरूको कारण नवजात शिशुहरू थप जोखिममा पर्न सक्छन्।  जस्तै- २०१९ मा प्रत्येक ३८ मध्ये १ जना नवजात शिशुको मृत्यु भएको क्यामरूनमा युनिसेफले हालसालै गरेको सर्वेक्षणका अनुसार नवजात शिशुको लागि अत्यावश्यक सेवा, गर्भवती परीक्षण, स्त्रीरोग तथा सुत्केरी पछिको स्वास्थ्यहरूमा लगभग ७५ प्रतिशतले कमी आएको छ।   

गत मे महिनामा जोन हप्किन्स विश्वविद्यालयले गरेको प्रारम्भिक प्रक्षेपणले कोभिड-१९ का कारण हुने अवरोधले गर्दा दैनिक ६००० जति थप बालबालिकाको मृत्यु हुन सक्ने देखाएको छ।  

यी प्रतिवेदन तथा सर्वेक्षणहरूले सुत्केरी हुनु अघि  पछि आमा तथा शिशुको लागि अत्यावश्यक स्वास्थ्य सेवालाई पुन: सुचारू एवं सुधार गर्नको लागि तत्काल काम गर्नुपर्ने आवश्यकता रहेको प्रकाश पारेका छन् ,जसमध्ये नवजात शिशुको स्याहारको लागि दक्ष स्वास्थ्यकर्मीको उपलब्धता पनि एक हो।  अभिभावकहरूसम्म पुगेर उनीहरूमा रहेको डर भगाएर आश्वस्त पार्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।    

विश्व भरि नै वर्षौं लगाएर भएको प्रगतिलाई कोभिड-१९ महामारीले ठप्प परिदिएको छ।" विश्व बैंक अन्तर्गतको स्वास्थ्य, पोषण तथा जनसंख्या विभागका विश्व निर्देशक मुहम्मद अलि पटेले भन्नुभयो। "बाल मृत्युदरलाई कम गर्न प्रमुख भूमिका खेलिरहेका जीवन रक्षक स्वास्थ्य सेवाहरूलाई बचाईराख्नु अत्यावश्यक छ। हामीले सरकारहरू तथा साझेदारहरुसँग मिलेर आमा तथा बालबालिकाका लागि आवश्यक सेवाहरू सुनिश्चित गर्नको लागि स्वास्थ्य सेवा प्रणालीहरूलाई पुन:सुचारू गर्नेछौं " 

'नयाँ प्रतिवेदनले बाल मृत्युदर कम गर्नमा विश्वव्यापी रूपमै प्रगति भैरहेको कुरा दर्शाएको छ" संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभाग अन्तर्गतको जनसंख्या महाशाखाका निर्देशक जोन विल्मोले भन्नु भयो। "बालबालिकाको स्वास्थ्यको लागि अत्यावश्यक स्वास्थ्यसेवाहरूमा कोभिड-१९ महामारीले पारिरहेको नकारात्मक प्रभावको बारेमा प्रकाश पार्नुका साथै यो प्रतिवेदनले बाँच्ने तथा स्वस्थ रहने बालबालिकाको आवश्यकतामा रहेको व्यापक असमानताहरूलाई सम्बोधन गर्नको लागि ध्यान दिनुपर्ने निचोड पनि निकालेको छ। " 

######

कोभिड-१९ को कारणले सिर्जना भएका अवरोध सम्बन्धमा युनिसेफले गरेको सर्वेक्षण सम्बन्धी थप जानकारीको लागि यहाँ जानुहोस

मुख्य प्रतिवेदनको पेज : https://data.unicef.org/resources/levels-and-trends-in-child-mortality/

तथ्यांक : https://data.unicef.org/resources/dataset/child-mortality/

व्याख्या : https://data.unicef.org/topic/child-survival/under-five-mortality/

मिडिया सम्पर्कहरू

सब्रिना सिधु
निसेफ न्यूयोक
सम्पर्क: +1 917 4761537
इमेल: ssidhu@unicef.org
फादेला चैब
विश्व स्वास्थ्य संगठन जेनेभा
सम्पर्क: +41 79 475 5556
इमेल: chaibf@who.int

About UN IGME

The United Nations Inter-agency Group for Child Mortality Estimation or UN IGME was formed in 2004 to share data on child mortality, improve methods for child mortality estimation, report on progress towards child survival goals and enhance country capacity to produce timely and properly assessed estimates of child mortality. UN IGME is led by UNICEF and includes the World Health Organization, the World Bank Group and the United Nations Population Division of the Department of Economic and Social Affairs. For more information visit: http://www.childmortality.org/