युनिसेफका सद्भावना दूत डेभिड बेकह्यामद्वारा विश्व खोप सप्ताहको क्रममा विश्वव्यापी खोप अभियानको नेतृत्त्व

अप्रिल महिनाको अन्त्यसम्म ‘UNICEF’ मेन्सन गर्दै #VaccinesWork ह्यासट्याग प्रयोग भएका सामाजिक सञ्जालका प्रत्येक पोस्ट बराबर १ अमेरिकी डलर प्रदान गर्ने विश्वव्यापी साझेदारहरूको प्रतिवद्धता

23 अप्रिल 2021
This image shows David Beckham
UNICEF/UN0446918/

न्यूयोर्क, २०७८ बैशाख १० - युनिसेफ सद्भावना दूत एवं सेभेन फन्ड फर युनिसेफ (7 Fund for UNICEF) का संस्थापक डेभिड बेकह्यामले खोप प्रतिको विश्वास बढाउन तथा आफ्ना बालबालिकालाई घातक रोगहरू विरुद्वको खोप लगाउन विश्व भरिका अभिभावकहरूलाई प्रेरित गर्नको लागि विश्वव्यापी अभियानको नेतृत्व गर्दै हुनुहुन्छ।

विश्व खोप सप्ताहको पुर्व सन्ध्यामा सार्वजनिक गरिएको एउटा सशक्त भिडियोमा बेकह्यामले कोभिड-१९ को कारणले हामीले गर्न नपाएका बिभिन्न क्रियाकलापहरूको बारेमा कुराकानी गर्नुभएको छ, जस्तै, परिवारका सदस्यहरूसँगको अंकमाल, साथीहरू एवं प्रियजनसँग बिताइने समय आदि। साथै, अभिभावकहरू आफैं सुरक्षित रहनको लागि खोप लगाउन हौसला दिंदै बालबालिकालाई भ्यागुते रोग, दादुरा एवं पोलियो जस्ता रोगहरूबाट सुरक्षित राख्नका लागि नियमित खोप कार्यक्रमहरू मार्फत प्रदान गरिने खोप लगाउन पनि परिवारहरूलाई अनुरोध गर्नुभएको छ।

"हामीले समस्याहरूलाई कति सहज रूपमा लिन्छौं भन्ने कुरा गत वर्ष कोभिड-१९ ले उजागर गर्यो, तर खोपको शक्ति/महत्त्वको बारेमा पनि हामीलाई स्मरण गरायो," बेकह्यामले भन्नुभयो। "खोपले काम गर्छ र हरेक वर्ष दशौँ लाख मानिसहरूको जीवन बचाउँछ। हाम्रा प्रियजनको स्वास्थ्यको लागि खोप कति महत्त्वपूर्ण छ भन्ने कुरा युनिसेफसँगको मेरो सहकार्य मार्फत बुझेको छु। अहिले पनि विश्वका थुप्रै बालबालिकाले घातक रोगहरूबाट सुरक्षित राख्ने खोपहरू लगाउने अवसर प्राप्त गर्न सकेका छैनन्। त्यसैले, आफू तथा आफ्ना बालबालिकालाई खोप लगाउनको लागि विश्वभरिका अभिभावकहरूलाई प्रेरित गर्ने उद्देश्यका साथ युनिसेफ र यसका साझेदारहरूले सञ्चालन गर्न लागेको विश्व खोप सप्ताहमा जोडिन पाउँदा मलाई अत्यन्तै गर्व लागेको छ।”

विश्व भरिबाट सहभागी हुने स्वास्थ्यकर्मी, शिक्षक तथा खोप विज्ञहरूसँग खोपको बारेमा अन्तरक्रिया गर्नको लागि आयोजना गरिने अनलाइन कार्यक्रमहरूको शृंखलामा बेकह्यामका अलावा ओर्लान्दो ब्लुम, सोफिया कार्सन, ओलिभिया कोल्म्यान, एञ्जेलिक किजो, जेरेमि लिन, अलिसा मिलानो, जेजि वेयर लगायतका युनिसेफ सद्भावना दुत एवं समर्थकहरू सहभागी हुनुहुनेछ। बेनिन, जोर्डन तथा पेरूमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूले बालबालिकालाई घातक रोग विरुद्वको खोप लगाउनुको महत्त्वका बारेमा आफ्न्नो ज्ञान तथा अनुभव प्रस्तुत गर्नुहुनेछ।

खोपहरूको प्रभावकारिता सम्बन्धमा अनलाईन सामग्रीमार्फत सन्देश प्रवाह गर्ने उद्देश्य सहित युनिसेफले आजदेखि अभिभावक, स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई खोपको अनलाइन पैरवीकर्ता बन्न प्रेरित गर्नको लागि आफ्ना विश्व स्तरीय साझेदार एवं दाताहरूसँग सहकार्य गर्नेछ। युनिसेफका सामाजिक सञ्जाल पृष्ठ उल्लेख भएका र #VaccinesWork ह्यासट्याग प्रयोग भएका पोस्टहरूमा गरिने प्रत्येक लाइक, शेयर तथा कमेन्ट वापत युनाइटेड नेशन्स फाउन्डेशनको जीवनमा खोप अभियान (शट@लाईफ क्याम्पेन)बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनले १ अमेरिकी डलर - कुल अधिकतम रकम ५० लाख अमेरिकी डलरसम्म - प्रदान गर्नेछन्। जीवन बचाउन आवश्यक पर्ने खोप बालबालिकाले प्राप्त गर्न सकुन भन्ने अभिप्रायले यो सहयोग सङ्कलन उपलब्ध गराउन लागिएको हो।

"बन्दाबन्दीमै एक वर्ष बिताउँदा विद्यालयहरू बन्द भएको, नियमित लगाउनु पर्ने खोपहरू छुटेको, अनलाइनबाटै जन्मदिन मनाएको र पारिवारिक जमघटहरू रद्द भएको जस्ता परिस्थितिको सामना गरेका विश्वभरिका मानिसहरूले अहिले कोभिड-१९ विरुद्वको खोप लगाईरहेका छन् वा लगाउने दिनको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् । यहि सेरोफेरोमा अन्य खोपहरूले हाम्रो जीवनमा खेल्ने अत्यन्तै महत्वपूर्ण भूमिकाको बारेमा पनि हामीलाई स्मरण भईरहेको छ,"  युनिसेफका कार्यकारी निर्देशक हेनेरिटा फोरले बताउनुभयो। "सामान्य जीवनशैलीमा फर्किनको लागि कोभिड-१९ विरुद्वको खोप अत्यन्तै महत्वपूर्ण हुने कुरा हामीले बुझिरहेको अवस्थामा विश्वभरिका थुप्रै बालबालिकाको लागि खोप लगाएर रोकथाम गर्न सकिने थुप्रै रोगविरुद्वको खोपमा समेत पहुँच नहुनु "सामान्य" कुरा बनिरहेको छ। हामी यस्तो किसिमको "सामान्य परिस्थिति" मा भने पक्कै पनि फर्कनु हुँदैन।"

विश्व भरि प्रत्येक वर्ष १ करोड ४० लाख बालबालिकाले रोकथाम गर्न सकिने रोग विरुद्वको खोपबाट वञ्चित हुन्छन, जसमध्ये धेरै बालबालिका स्वास्थ्य सेवा लगायत अन्य अत्यावश्यक सेवाको पहुँच नपुगेका दुर्गम गाउँ, द्वन्दग्रस्त क्षेत्र तथा सुकुम्बासी बस्तीमा बसोबास गर्दछन्।  कोभिड महामारीको कारणले भएको बन्दाबन्दी र आपूर्तिमा भएको अवरोधले गर्दा रोकथाम गर्न सकिने रोगबाट बालबालिकाको मृत्यु हुने क्रम अझै बढेकाले गत वर्ष अवस्था झनै खराब रहेको थियो।

हरेक वर्ष अप्रिल महिनाको अन्तिम साता सञ्चालन गरिने विश्व खोप सप्ताहको उद्देश्य खोपको प्रयोग मार्फत सबै उमेर समूहका मानिसहरूलाई रोगबाट सुरक्षित राख्नु हो। "खोपले हामीलाई नजिक ल्याउँछ" भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको विश्व खोप सप्ताह २०२१ ले मानिसहरूलाई एक आपसमा नजिक ल्याउन तथा जीवनभरि नै सबै ठाउँमा बसोबास गर्ने सबै मानिसहरूको सुस्वास्थ्यमा सुधार ल्याउन खोपको महत्वलाई प्रवर्द्धन गरी विश्वव्यापी रूपमा खोप कार्यक्रम सञ्चालन गर्नका लागि आव्हान गर्नेछ।

युनिसेफ सद्भावना दुतहरूसँग गरिएको अनलाइन कुराकानी FacebookInstagram मार्फत सार्वजनिक गराईनुका साथै विश्व खोप सप्ताह अवधिभरि नै यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

भिडियोहरू यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ

मिडिया सम्पर्कहरू

हेलेन वाईली
युनिसेफ न्‍यु योर्क
सम्पर्क: +1 917 244 2215
इमेल: hwylie@unicef.org

युनिसेफको बारेमा

युनिसेफले विश्वकै सबै भन्दा वन्चितिकरणमा परेका बालबालिकासम्म पुग्नको लागि विश्वकै चुनौतीपुर्ण क्षेत्रहरुमा काम गर्दछ । हामी १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा सबैका लागी राम्रो संसार बनाउन हरेक बालबालिकासँग काम गर्छौं ।

युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारी पाउन  www.unicef.org मा जानुहोस्।

TwitterFacebookInstagram र YouTube मा हामीलाई फलो गर्नुहोस् । 

युनाइटेड नेशन्स फाउन्डेशनका बारेमा

युनाइटेड नेशन्स फाउन्डेशन मानवता विरुद्व आइपर्ने चुनौतीलाई सम्बोधन गर्न, समस्या समाधानका लागि बहुक्षेत्रीय  पहलहरू निर्माण गर्न  तथा विश्वव्यापी प्रगति हासिल गर्ने कार्यका लागि संयुक्त राष्ट्रसंघको रणनीतिक साझेदारको रूपमा काम गर्न स्थापना गरिएको स्वतन्त्र कल्याणकारी संस्था हो। थप जानकारीको लागि https://unfoundation.org/ मा हेर्न सक्नुहुन्छ।

जीवनमा खोप अभियान (शट@लाईफ)को बारेमा

शट@लाईफ विश्वभरिका बालबालिकाको जीवन बचाउनका लागि बाल्यकालमा लगाइने खोप पनि  एउटा अत्यन्तै प्रभावकारी माध्यम हुने कुरालाई प्रवर्द्धन गर्नको लागि युनाइटेड नेशन्स फाउन्डेशन अन्तर्गत सञ्चालित एउटा सामुदायिक स्तरको पैरवी अभियान हो।  बालबालिकाको लागि विश्वव्यापी खोप कार्यक्रममा सहयोग तथा लगानी गर्नको लागि हामीले सार्वजनिक सचेतना र समुदाय स्तरमा गरिने पैरवी कार्यहरू मार्फत सर्वसाधारण, कंग्रेस (संसद) सदस्य, व्यावसायिक संस्था तथा नागरिक समाजका साझेदारहरूसँग सहकार्य गर्दै त्यसको नेतृत्व गर्दछौं।  

थप जानकारीको लागि www.ShotAtLife.orgमा हेर्न सक्नुहुनेछ।