बायु संवाद: नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा - नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघ नेपाल

26 अप्रिल 2025
a view of people standing
UNICEF Nepal/2025

काठमाडौं, १३ वैशाख २०८२ - देशभरिका १०० भन्दा बढी बालबालिका तथा युवा आज काठमाडौंमा आयोजित बालबालिका तथा युवा (बायु) संवादका लागि भेला भएका थिए। यो राष्ट्रिय संवाद नेपाल सरकारको आयोजनामा हुन गइरहेको अन्तर्राष्ट्रिय सगरमाथा संवादको अगाडि बालबालिका तथा युवाको नेतृत्वमा जलवायु परिवर्तन प्रतिकार्यका विषयमा केन्द्रित कार्यक्रम थियो। २४ वर्ष मुनिका युवाले नेपालको झन्डै आधा जनसंख्या ओगट्ने अवस्थामा, यो कार्यक्रमले एक महत्त्वपूर्ण सन्देश दिएको छ: जलवायु संकटको अग्रपंक्तिमा बालबालिका र युवाहरू छन्, र उनीहरूले तत्काल प्रतिकार्यका लागि सबैलाई आह्वान गरिरहेका छन्। 

नेपाल सरकार र संयुक्त राष्ट्रसंघ (युनिसेफ, एफएओ र यूएनडीपी)ले युवा सञ्जालहरू — नेपलिज युथ फर क्लाइमेट एक्सन, माउन्टेन युथ हब, वर्ल्ड फुड फोरम नेपाल, ग्लोबल युथ बायोडाइभर्सिटी नेटवर्क र क्लिन इनर्जी नेपाल — सँगको सहकार्यमा संयुक्त रूपमा आयोजना गरेको यो कार्यक्रमले बालबालिका तथा युवाहरूलाई जलवायु संवादको केन्द्रमा राख्ने प्रयास गरेको थियो। कार्यक्रममा नेपाल सरकारका प्रतिनधिहरू, नागरिक समाज, विकास साझेदारहरू, निजी क्षेत्र, मिडिया र जलवायु विज्ञहरू सहभागी भएका थिए। 

“जलवायु परिवर्तन भविष्यको चिन्ता होइन, यो आजकै यथार्थ हो,” २०-वर्षीय निश्चल भट्टले भने। “हामी युवासँग परिवर्तन ल्याउने जोश र शक्ति छ। र हामी जलवायु न्यायसहितको र उत्थानशिल समाज निर्माणमा योगदान दिनका लागि अनुकूल वातावरणको माग गरिरहेका छौँ।“

जलवायु परिवर्तनमा उनीहरूको योगदान धेरै कम भएतापनि बालबालिका तथा युवाहरूले यसको परिणाम सबैभन्दा बढी बेहोर्नुपरेको छ। अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद्, र प्रदूषित हावा-पानीका कारण उनीहरूको स्वास्थ्यमा जोखिम, कुपोषणमा वृद्धि र अध्ययनमा बाधा पुगिरहेको छ। नेपालमा सङ्क्रामक कीटजन्य रोगहरू, खाद्य सुरक्षा तथा विद्यालयहरू बन्द हुनुसँग जलवायु परिवर्तन जोडिएको छ – र यी सबै चुनौतीले बालबालिका तथा युवाहरू बढी प्रभावित छन्। 

“सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार राख्छन्। जलवायु परिवर्तनले यस अधिकारलाई दैनिक रूपमा जोखिममा पारिरहेको छ,” नेपालका लागि संयुक्त राष्ट्रसंघका कार्यवाहक आवासीय संयोजक डा .एलिस अकुङ्गाले भन्नुभयो। “तर आजको संवादले प्रमाणित गर्छ कि बालबालिका र युवा पीडित मात्र होइनन् — उनीहरू परिवर्तनका शक्तिशाली संवाहक पनि हुन्। जलवायु प्रतिकार्यका सबै तहमा उनीहरूको आवाजले मार्गदर्शन गर्नुपर्छ।“ 

बायु संवादमा बालबालिका तथा युवाहरूको नेतृत्त्वमा गरिएको जलवायु संकट समाधानहरूको प्रदर्शनी, भिडियो प्रदर्शन, जलवायु उत्थानशीलतासम्बन्धी विज्ञ सत्रहरू र दुईवटा अन्तरपुस्तीय प्यानल छलफलहरू समावेश थिए । पहिलो सत्रमा शिक्षा, स्वास्थ्य, पानी जस्ता आधारभूत सेवाहरूमा जलवायु परिवर्तनको प्रभावबारे छलफल गरिएको  थियो । दोस्रो सत्रमा जेठ २ देखि ४ गते हुन गइरहेको सगरमाथा संवादको मूल विषयसँग मेल खाने गरी पर्वतीय पारिस्थितिकी, जलवायु परिवर्तन र मानवताको भविष्यबारे प्रकाश पारिएको थियो ।    संवादमा बालबालिका, किशोरकिशोरी तथा युवाहरूले जलवायु परिवर्तनसम्बन्धी आफ्ना प्रत्यक्ष अनुभवहरू तथा स्थानीयस्तरमा गरिरहेका प्रयासहरू पनि साझा गरेका थिए।

कार्यक्रमको एउटा मुख्य उपलब्धि भनेको सहभागी बालबालिका तथा युवाद्वारा तयार गरिएको घोषणापत्र हो — जसमा उनीहरूले जलवायु परिवर्तनप्रति उत्थानशील नेपाल निर्माणका लागि आफ्ना मागहरू, प्रतिबद्धताहरू र प्रस्तावित कार्यहरू समेटेका छन्। यो घोषणापत्र सगरमाथा संवादअघि यसको सचिवालयमा बुझाइनेछ, जसले तेस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदान (Nationally Determined Contribution - NDC) को तयारी र आगामी COP30 लगायतका नीतिगत प्रक्रिया र दस्तावेजमा बालबालिका तथा युवाको दृष्टिकोण समावेश गर्न सहयोग गर्नेछ।

“बालबालिका र युवालाई हाम्रो जलवायु प्रतिबद्धताको केन्द्रमा राख्दै नेपाल विश्वभर नै उदाहरण बनेकोमा हामी गर्व गर्छौं,” कार्यक्रमका प्रमुख अतिथि माननीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले भन्नुभयो। “हाम्रो दोस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदानले बालबालिका तथा युवाको आवश्यकतालाई पहिल्यै समावेश गरिसकेको छ, र यो विश्वकै सबैभन्दा समावेशी दस्तावेजहरूमध्ये एक हो। अब हामी तेस्रो NDC झन् समावेशी बनाउन प्रतिबद्ध छौं। यस बायु संवाद युवाहरूका आवाजलाई नीतिमा, व्यवहारमा र हरियाली तथा उत्थानशील नेपालको यात्रामा परिणत गर्ने अत्यन्तै महत्वपूर्ण मञ्च हो।“

उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएका वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले बालबालिका र युवाको अगुवाईमा भएको यस कार्यक्रमको प्रशंसा गर्दै संवादका निष्कर्षले नेपालका नीति तथा योजनालाई मार्गदर्शन गर्ने बताउनुभयो ।


#####
 

मिडिया सम्पर्कहरू

डा. प्रकाश सिंह थापा
उप–सचिव
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय
सम्पर्क: ९८६०९१३९८७
सिम्रिका शर्मा
संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधीको कार्यालय
सम्पर्क: 5523200 Ext. 1519

About UNICEF

UNICEF promotes the rights and wellbeing of every child, in everything we do. Together with our partners, we work in 190 countries and territories to translate that commitment into practical action, focusing special effort on reaching the most vulnerable and excluded children, to the benefit of all children, everywhere.

For more information about UNICEF and its work for children, visit www.unicef.org 

Follow UNICEF Nepal on Twitter , Facebook and Instagram