नेपालमा पूर्व प्राथमिक शिक्षामा धेरै उपलब्‍धि हासिल, अझ धेरै गर्न बाँकीः युनिसेफ

युनिसेफको पूर्व प्राथमिक शिक्षामा लक्षित पहिलो विश्वब्यापी प्रतिवेदनद्वारा शिक्षकहरूमा लगानी, गुणस्तरीय मापदण्डको प्रयोग र समतामूलक विस्तार गर्न आह्वान

09 अप्रिल 2019
A child learning in early childhood classes
UNICEF Nepal/2012/CSKarki

काठमाडौं, चैत्र २६, २०७५ - नेपालको पूर्व प्राथमिक शिक्षाको भर्ना दर २०५७ सालबाट २०७४ सालसम्म आइपुग्दा १२ प्रतिशत बाट ८६ प्रतिशतमा पुगेको छ । पूर्व प्राथमिक शिक्षाको पहुँचमा नेपालको यो फड्कोका लागि युनिसेफले प्रकाशित गरेको नयाँ विश्वब्यापी प्रतिवेदनमा सराहना गरेको छ ।

युनिसेफको पहिलो पूर्व प्राथमिक शिक्षा माथिको विश्वब्यापी प्रतिवेदन ‘सिकाइका निम्ति तयार विश्वः प्रारम्भिक शिक्षालाई प्राथमिकता’ का अनुसार नेपालको दुई दशकको प्रगति विश्वमा नै उदारहणीय छ । यसका लागि नेपाललाई युनिसेफले पूर्व प्राथमिक तहको शिक्षा क्षेत्रमा उच्च प्रदर्शकको संज्ञा दिएको छ । नेपालले २०७३ सालमा गरेको शिक्षा ऐनको आठौं संशोधनले एक वर्षसम्म पूर्व प्राथमिक शिक्षा लिनुपर्ने प्रावधानलाई कानुनमा संलग्न गर्नुका साथै यसलाई देशको निशुल्क तथा अनिवार्य आधारभूत शिक्षामा  समेत संलग्न गरेको छ । विगत १२ वर्षको अवधिमा प्रारम्भिक बाल विकास केन्द्रहरूको संख्यामा ३५ गुणाको वृद्धि भएको छ । २०६० सालमा यसको संख्या १०३८ रहेकोमा वृद्धि भएर २०७२ मा ३५,९९१ पुगेको थियो ।

विज्ञानले प्रमाणित गरेको छ कि कम्तीमा एक वर्षको पूर्व प्राथमिक शिक्षा प्राप्त गरेका बालबालिकामा महत्वपूर्ण कुशलताको विकास भएको हुन्छ जसले उनीहरूलाई विद्यालयमा उत्कृष्ट प्रदर्शन गर्न र कक्षा दोहो¥याउने वा विद्यालय छोड्ने सम्भावनाबाट टाढा रहन मद्दत गर्छ । बाल्यकालमा प्राप्त गरेको पूर्व प्राथमिक शिक्षाले जीवन भर प्रभाव पार्दछ । गुणस्तरीय पूर्व प्राथमिक शिक्षा प्राप्त गरेका बालबालिकाको स्वस्थ जीवनयापन गर्ने, भविष्यमा रोजगारी पाउने र आर्थिक रूपमा सम्पन्न हुने सम्भावना बढि हुन्छ भने अपरिपक्व अवस्थामा गर्भधारण गर्ने र बच्चा जन्माउने तथा लागु औषध, मद्यपान र आपराधिक गतिविधिमा संलग्न हुने सम्भावना कम हुन्छ ।

नेपालमा पनि पूर्व प्राथमिक शिक्षा प्राप्त नगरेका बालबालिकाको दाँजोमा शिक्षा प्राप्त गर्नेहरूको प्रारम्भिक सिकाइ तथा गणितीय कुशलतामा विकास भएको पाइएको छ । २०७१ सालमा गरिएको एक राष्ट्रिय सर्वेक्षणअनुसार नेपालमा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा समावेश गराइएका तीनदेखि पाँच वर्ष उमेरका बालबालिकामा १७ गुणा बढी प्रारम्भिक सिकाइ तथा गणितीय कुशलता विकास भएको देखिएको छ ।

तथापि नेपाललगायत अन्य धेरै मुलुकहरूमा तीव्र गति लिएको प्रारम्भिक बाल शिक्षा कार्यक्रमले सधैं गुणस्तर कायम गरेको भने छैन । नेपालमा राष्ट्रिय शिक्षा बजेटको केवल ३ प्रतिशत मात्र पूर्व प्रारम्भिक शिक्षामा खर्च गरिन्छ । यो गुणस्तरीय प्रारम्भिक बाल स्याहार तथा शिक्षा सेवालगायत राष्ट्रिय न्यूनतम मापदण्डको विकास, उचित भौतिक पूर्वाधारको विकास तथा बाल विकास सेवामा संलग्न मानवस्रोतको क्षमता विकास गर्न पर्याप्त छैन । नेपालले सरकारी बजेटबाट वार्षिकरूपमा पूर्व प्राथमिक तहका प्रत्येक बालबालिकाका निम्ति रु. १५५३ जति खर्च गर्ने गर्दछ भने तान्जानियाले रु. २८८४, जिम्बाब्वेले रु. २७७३ र ताजकिस्तानले रु. २६६२ जति खर्च गर्ने गर्दछ । परिणामतः पूर्व प्राथमिक शिक्षाका निम्ति घरधुरीले गर्ने खर्च सरकारले गर्ने खर्चको अनुपातमा बढी हुनेगर्दछ । नेपालमा हरेक घरधुरीको  पूर्ण खर्चको ६३ प्रतिशत अंश पूर्व प्राथमिक शिक्षाका निम्ति रहेको छ । यो अंश प्राथमिक शिक्षाको लागि भने ३६ प्रतिशत मात्र रहेको छ ।

युनिसेफले यस प्रतिवेदनमा सबै सरकारहरूलाई आफ्नो बजेटको कम्तीमा १० प्रतिशत बजेट दिगो विकास लक्ष्यको बुँदा नं. ४.२ प्राप्त गर्ने प्रयोजनमा लगाउन आह्वान गरेको छ । यस बुँदाले सन् २०३० भित्र सबै बालबालिकामा गुणस्तरीय प्रारम्भिक बाल विकास, स्याहर एवं पूर्व प्राथमिक शिक्षाको पहुंच हुनु पर्छ जसले गर्दा उनीहरू प्राथमिक शिक्षा प्राप्त तयार हुनेछन् भनेको छ ।

“अर्थशास्त्रका नोबेल पुरस्कार विजेता जेम्स हेकम्यानले गरेको पछिल्लो अध्ययनअनुसार, बाल विकास कार्यक्रमहरूमा लगानी गरेको समाजले सो लगानीको १३.७ प्रतिशतसम्म प्रतिफल प्राप्त गर्नसक्छ । यो प्रतिफल दोस्रो विश्व युद्ध पछिको अमेरिकाको शेयर बजार मूल्यको प्रतिफलभन्दा कैयौं गुणा बढी हो । यो प्रतिफललाई प्रतिस्पर्धात्मक रूपमा उत्कृष्ट व्यापार गर्न सफल सार्वजनिक तथा निजी लगानीको प्रतिफल संग तुलना पनि गर्न सकिन्छ,” युनिसेफका प्रतिनिधि तोमो होजुमीले भन्नु भयो ।  “प्रारम्भिक बाल शिक्षा प्राप्त गर्ने बालबालिकाको संख्या वृद्धि गर्ने कुरामा नेपालले ठूलो सफलता हासिल गरेको छ । यससँगै जुनसुकै सामाजिक तथा आर्थिक अवस्थाबाट आएका बालबालिकालाई दिने पूर्व प्राथमिक शिक्षाको गुणस्तरीयतामा पनि सुधार गरेको खण्डमा देशले थप सफलता प्राप्त गर्न सक्थ्यो । हामीले कसैलाई पनि पछाडि नछोड्ने दिगो विकास लक्ष्यको सिद्धान्तलाई आत्मसात् गर्दै कुनै बालबालिका नछुटुन् भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ ।“

यस प्रतिवेदन एवं अन्य सम्बन्धित अध्ययनका केही प्रमुख पक्षहरू तल उल्लेख गरिएका छन्ः

  • गरिबीको प्रभावः तथ्यांक उपलब्ध भएका ६४ मुलुकहरूका धनी परिवारका बालबालिकाको दाँजोमा सबैभन्दा गरिब बालबालिकाको प्रारम्भिक बाल शिक्षा कार्यक्रमहरूमा संलग्न हुने दर सात गुणा कम रहेको छ । नेपालमा सबैभन्दा धनी २० प्रतिशत घरधुरीको दाँजोमा गरिब २० प्रतिशत घरधुरीका तीनदेखि पाँच वर्षका बालबालिकाले पूर्वप्राथमिक शिक्षा प्राप्त गर्ने सम्भावना दुई गुणा कम रहेको पाइन्छ । २०७१ सालमा यो संख्या गरिब परिवारका निम्ति ४१ प्रतिशत थियो भने धनीका निम्ति ८३ प्रतिशत रहेको थियो । २०७१ सालको तथ्यांकअनुसार सबैभन्दा धनी २० प्रतिशत तीनदेखि पाँच वर्षका बालबालिका मध्ये ६५ प्रतिशतमा प्रारम्भिक सिकाइ तथा गणितीय कुशलता विकास भएको पाइएको छ भने सबैभन्दा गरिब २० प्रतिशत तीनदेखि पाँच वर्ष उमेरका बालबालिका मध्ये १२ प्रतिशतमा मात्रै प्रारम्भिक सिकाइ तथा गणितीय कुशलता विकास भएको पाइएको छ ।
  • द्वन्द र प्रकोपको प्रभावः द्वन्द र प्रकोपबाट प्रभावित ३३ मुलुकमा बस्ने पूर्व प्राथमिक शिक्षा स्तरका बालबालिकामध्ये दुई–तिहाइभन्दा बढी बालबालिका प्रारम्भिक बाल शिक्षा कार्यक्रमहरूमा भर्ना भएका छैनन् । तथापि पूर्व प्राथमिक शिक्षाबाट सबैभन्दा बढी फाइदा कसैले प्राप्त गर्छन् भने ती यही समूहका बालबालिका हुन् । पूर्व प्राथमिक शिक्षाले संकट प्रभावित कलिला बालबालिकालाई सिकाइ र खेलका निम्ति सुरक्षित स्थान र आफ्ना भावनाहरू प्रस्तुत गर्ने एक माध्यम प्रदान गरेर आघातसँग जुध्न मद्दत पुग्छ । नेपालका निम्ति पनि यो निकै महत्वपूर्ण रहेको छ किनकि विश्वका धेरै मुलुकहरूमध्ये नेपाल एक विपद प्रभावित मुलुक हो ।
  • शैक्षिक उपलब्धिको चक्रः तथ्यांक उपलब्ध भएका मुलुकहरूमध्ये केवल प्राथमिक तहको शिक्षा वा औपचारिक शिक्षा नपाएका आमाबाट जन्मेका बालबालिकाको दाँजोमा माध्यमिक तह वा उच्च शिक्षा प्राप्त गरेका आमाबाट जन्मेका बालबालिकाको प्रारम्भिक शिक्षा कार्यक्रममा सहभागी हुने सम्भावना पाँच गुणा बढी रहन्छ । यसरी बालबालिकाको विकासको चक्र सुरु गर्नका निम्ति शिक्षा अति आवश्यक रहेको तथ्य पुष्टि हुन्छ ।

सम्पादकलाई अनुरोधः
मल्टीमिडिया सामग्री डाउनलोड गर्न कृपया यहाँ जानुहोस्
प्रतिवेदन डाउनलोड गर्नका निम्ति कृपया यहाँ थिच्नुहोस्

 

मिडिया सम्पर्कहरू

तानिया धाख्वा

प्रमुख, सञ्चार शाखा

युनिसेफ नेपाल

सम्पर्क: 977-9801244524

युनिसेफ को बारेमा 

युनिसेफले आफ्ना सम्पूर्ण गतिविधि बालबालिकाको अधिकार सुनिश्चित गर्न र कल्याणकारी सेवा उपलव्ध गराउन केन्द्रित गर्दछ । यसले आफ्ना साझेदारसँग मिलेर १९० वटा देश र स्थानमा प्रतिवद्धतालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको छ । सर्वाधिक जोखिममा रहेका र पिछडिएका बालबालिकामा पहुँच बनाउन विशेष प्रयास गर्दै यसले सबै क्षेत्रका बालबालिकाका निम्ति काम गर्दछ ।

थप जानकारीको लागी:  www.unicef.org

युनिसेफ नेपाललाई फेसबुकट्वीटरमाइंन्‍स्‍टाग्राम फलो गर्नुहोस् ।