दादुराबाट मृत्यु  हुनेको संख्या सन् २०१६ को तुलनामा ५० % ले वृद्वि भएर २०१९ मा २,०७,५००  पुग्यो 

12 नोभेम्बर 2020
This image shows a healthworker preparing to vaccinate a child in Kathmandu
UNICEF Nepal/2020/LPNgakhusi

न्यूयोर्क/जेनेभा/एटलान्टा, २०७७ कार्तिक २७ - २०१९ मा दादुरा रोगीको संख्यामा भारी वृद्वि हुँदै पछिल्लो २३ वर्ष यताकै अत्याधिक रह्यो। विश्व स्वास्थ्य संगठन र संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) द्वारा संयुक्त रूपमा प्रकाशित विवरण अनुसार २०१९ मा ८६९,७७० जना दादुराका बिरामी भेटिए, जुन संख्या विश्व स्वास्थ्य संगठन कार्यरत सबै क्षेत्रमा गरि १९९६ यता देखिएको सबै भन्दा धेरै हो। २०१६ यता दादुराको कारणले मृत्यु हुनेको संख्यामा ५० प्रतिशतले वृद्वि भई २०१९ मा मात्रै अनुमानित २,०७,५०० जनाको मृत्यु भयो।  

२०१० देखि २०१६ सम्म विश्वव्यापी रूपमै स्थिर प्रगति देखिएकोमा २०१९ सम्म आइपुग्दा दादुराका बिरामीको संख्यामा वृद्वि भयो। दादुराको कारणले हाल सम्मकै थोरै मानिसले ज्यान गुमाएको वर्ष २०१६ को तथ्यांकलाई २०१९ को तथ्यांकसँग तुलना गर्दा बिरामीको संख्या र मृत्यु दुबै बढ्नुको प्रमुख कारण दादुरा रोकथामको लागि आवश्यक खोपहरू (एमसिभी १ र एमसिभी २) समयमा दिन नसक्नु हो। 

"दादुराको प्रकोप तथा त्यसको कारण हुने मृत्युको रोकथाम कसरी गर्ने भन्ने बारेमा हामीलाई थाहा छ"विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेभ्रिएससले भन्नुभयो। "विश्वका सबै क्षेत्रका बालबालिकालाई दादुराबाट बचाउन हामी असफल भइरहेको सन्देश यो तथ्याङ्कले स्पष्ट रूपमा दिएको छ। हरेक व्यक्तिसम्म दादुरा खोपको पहुँच पु-र्याउन तथा यो प्राणघातक भाइरसलाई रोक्ने कार्यमा देशहरू तथा समुदायलाई  सहयोग गर्नको लागि सामुहिक रूपमा लाग्नु आवश्यक छ।"

भाइरसबाट सुरक्षित नबनाइएका व्यक्तिमा भाइरस संक्रमण भएपछि उनीहरूबाट खोप नै नलगाएका वा लगाए पनि पूर्ण रूपमा नलगाएका मानिसहरूमा फैलिएर प्रकोपको रूप लिन्छ। दादुरा नियन्त्रण गर्दै प्रकोप तथा त्यसबाट हुने मृत्युको रोकथामको लागि एमसिभि १ र एमसिभि २ खोप ९५ प्रतिशत जनसंख्यालाई लगाउनु पर्दछ, र राष्ट्रिय तथा स्थानीय रूपमै सो दर कायम गर्नुपर्दछ। विश्वव्यापी रूपमै एमसिभि खोप लगाउने जनसंख्या विगत एक दशक देखि ८४ देखि ८५ प्रतिशतको बीचमा रहेको छ भने निरन्तर वृद्वि भईरहेको एमसिभि २ लगाउनेको संख्या हालसम्म ७१ प्रतिशत मात्रै पुगेको छ। दादुरा तथा यसको महामारीको कारणले हुने मृत्यु रोकथाम गर्नको लागि खोपको दुवै मात्रा लगाउनेको संख्या कुल जनसंख्याको ९५ प्रतिशत हुनुपर्नेमा हाल निकै कम रहेको छ।  

कोभिड-१९ महामारीसँग लड्दै गर्दा दादुराको संकट बढ्ने अवस्था आउन दिनुहुँदैन 

२०२० मा भेटिएका दादुराका बिरामीको संख्या केही कम देखिए पनि कोभिड-१९ नियन्त्रणका लागि अबलम्बन गरिएका उपायहरूले  खोप सेवामा अवरोध सिर्जना गर्दै दादुरा महामारीको रोकथाम तथा न्युनिकरणमा प्रभाव पारिरहेका छन्। यो महिना (नोभेम्बर) सम्म आइपुग्दा विभिन्न २६ देशमा सन्चालित दादुरा खोप अभियानहरू स्थगित भएकोले ९ करोड ४० लाख भन्दा धेरै मानिसहरूले खोप प्राप्त गर्न नसक्ने जोखिम रहेको छ। यी मध्ये थुप्रै देशहरूमा हाल दादुराको महामारी देखिएको छ। २०२० मा सन्चालन गर्नुपर्ने अभियान स्थगित गरेका देशहरू मध्ये ब्राजिल, सेन्ट्रल अफ्रिकन रिपब्लिक, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया, नेपाल, नाइजेरिया फिलिपिन्स र सोमालिया गरि ८ वटाले मात्रै शुरूवाती अवरोध पश्चात आफ्ना अभियान पुन: सुचारू गरेका छन्। 

"कोरोना भाइरसको सङ्कट आउनु भन्दा अघिसम्म विश्व दादुराको सङ्कटसँग जुधिरहेको थियो जसको अन्त्य अझैसम्म पनि भएको छैन,"युनिसेफका कार्यकारी निर्देशक हेनेरिटा फोरले भन्नुभयो। " कोभिड-१९ महामारीसँग स्वास्थ्य सेवा प्रणालीहरूमाथि दबाब बढाईरहेको हालको अवस्थामा कुनै एउटा एउटा प्राणघातक रोग विरुद्व लडिरहँदा त्यस्तै प्रकारको अर्को रोग विरुद्वको लडाईं गुमाउनुहुँदैन। यसको अर्थ, फैलिँदै गैरहेको कोभिड-१९ महामारी विरुद्व लड्दै गर्दा पनि हामीले खोपद्वारा रोकथाम गर्न सकिने अन्य रोगहरू विरुद्व खोप अभियान सन्चालन गर्नको लागि साधन श्रोत को व्यवस्था गर्नुपर्दछ।" 

दादुरा नियन्त्रण असफल हुनुका थुप्रै कारणहरू छन् तिनलाई सम्बोधन गरिनुपर्दछ 

जोखिममा रहेका देशहरूमा दादुरा विरुद्वको खोप सुरक्षित रूपमा प्रदान गर्न तथा सेवा प्रदायकहरूलाई  उक्त जीवन रक्षक खोपका फाईदाहरूको बारेमा बुझाउनको लागि खोप कार्यक्रमका विश्वव्यापी साझेदारहरूले त्यहाँका नेतृत्वकर्ता र जनस्वास्थकर्मीलाई संलग्न गराईरहेका छन्। २०७७ कार्तिक २१ गते विश्व स्वास्थ्य संगठन र युनिसेफले संयुक्त रूपमा दादुरा तथा पोलियो महामारी रोकथाम तथा आवश्यक प्रतिकार्यका लागि आपतकालीन आव्हान गरेका थिए। 

दादुराको भाइरस अत्यन्तै संक्रामक हुने हुँदा त्यसले असुरक्षित बालबालिका, किशोरकिशोरी तथा वयस्कहरू सजिलै फेला पार्दछ" संयुक्त राज्य अमेरिकाको सिडिसीको रोग नियन्त्रण द्रुत शाखा प्रमुख तथा दादुरा र रूबेला नियन्त्रण पहल व्यवस्थापन समुहका अध्यक्ष डा. रोबर्ट लिङ्किन्सले भन्नुभयो।"संक्रमण देखिनु दादुरा विरुद्वको खोप कार्यक्रमको कमजोर पहुँचको संकेत मात्रै नभएर अत्यन्तै जोखिममा रहेका मानिसहरूसम्म अत्यावश्यक स्वास्थ्य सेवाहरू नपुगेको हुन सक्ने एउटा सुचक हो। कोभिड-१९ को कारण हाल कायम रहेका यात्रा प्रतिबन्धहरू खुकुलो भई मानिसहरूको यात्रा तथा हिंडडुलमा वृद्वि हुनु अघि नै  हामीले बालबालिकासम्म खोप पु-र्याउन सामुहिक पहल गरेमा जीवनहरू बच्नेछन्।" 

अमेरिकी रेडक्रस, संयुक्त राष्ट्रसंघीय प्रतिष्ठान (युनाइटेड नेसन्स फाउन्डेशन), संयुक्त राज्य अमेरिकाको सिडिसी, युनिसेफ र विश्व स्वास्थ्य संगठनका साथै गावी खोप सहकार्य (भ्याक्सिन अलाएन्स), बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन लगायतका विश्वव्यापी खोप कार्यक्रमका साझेदारहरू सम्मिलित दादुरा तथा रूबेला नियन्त्रण पहल ले दादुरा रोगको वर्तमान संकटलाई सम्बोधन गर्न तथा विश्वका सबै क्षेत्रमा दादुरा तथा अन्य रोग विरुद्वका खोप लगाउने कार्यमा भईरहेको ढिलाईलाई सम्बोधन गर्न पर्याप्त श्रोत साधनको व्यवस्था सुनिश्चित गर्नको लागि अन्य सरोकारवालासँग मिलेर काम गरिरहेको छ। दादुरा र रूबेला नियन्त्रण पहलले सार्वजनिक गरेको दादुरा तथा रूबेला नियन्त्रणको लागि रणनीतिक प्रारूप २०२१-२०३० ले देशहरूका खोप सेवा प्रणालीलाई सुदृढ तुल्याई बालबालिकालाई खोप प्रदान गराउँदै दादुरा उन्मुलनको लक्ष्य तर्फको प्रगति उल्टिने क्रमसँग जुध्नको लागि सहयोग गर्नेछ। साझेदारीमा गरिएको रणनीतिक परिवर्तनले सबै खोपहरूको सुरक्षित वितरण, दादुराको प्रकोपको शिघ्र तथा प्रभावकारी पहिचान र उपचारलाई सुदृढ पार्नको लागि केन्द्रित रहनेछ। 

साझेदारहरूका भनाई 

"यी चिन्ताजनक तथ्यांकहरू हाम्रो लागि कोभिड-१९ महामारीका कारण विश्वभरिका स्वास्थ्य सेवा प्रणालीहरूलाई  व्यस्त राखेको समयमा पनि अन्य प्राणघातक रोगहरू विरुद्व जारी कामहरूलाई पनि निरन्तरता दिनु पर्दछ भन्ने चेतावनीको रूपमा प्रस्तुत भएका छन्। दादुरा पुर्ण रूपमा रोकथाम गर्न सकिने रोग हो र हामीसँग शक्तिशाली, सुरक्षित र कम मुल्यमै खोप उपलब्ध रहेको वर्तमान अवस्थामा यो रोगबाट कसैले पनि ज्यान गुमाउने अवस्था आउनुहुँदैन। कोभिड-१९ को कारणले खोप कार्यक्रमको पहुँच गम्भीर रुपमा अवरुद्व भएकोले दादुरा प्रकोपको जोखिम वृद्वि भएको छ।  त्यसकारण, प्रकोपको जोखिम कम गर्न तथा यो जीवन रक्षक खोपबाट कोही पनि बालबालिका वन्चित नहुने सुनिश्चित गर्नको लागि देशहरूले दादुराको खोप लगाउन छुटेकाहरूको लागि नियमित सेवा मार्फत नै खोप तत्काल प्रदान गर्न प्राथमिकतामा राख्नुपर्दछ।" - खोप सहकार्यको रूपमा रहेको गावीका प्रमुख कार्यकारी अधिकृत  डा. सेथ बर्कली

"हामीसँग सुरक्षित, सुलभ तथा प्रमाणित खोप उपलब्ध हुँदा हुँदै पनि हाम्रो पुस्ताकै उच्च तहमा दादुरा प्रकोप देखिनु हामीले सोच्न पनि नसक्ने कुरा हो र खोपले रोकथाम गर्न सकिने रोगको कारण कुनै बालबालिकाले जीवन गुमाउनु हुँदैन। साझेदारहरूसँगको सहकार्यमा खोपको पहुँचमा सुधार गर्न तथा सबै ठाउँका सबै मानिसहरूले स्वस्थ जीवन बाँच्न पाउन भनि प्रकोपसँग तीव्र रूपमा जुध्नको लागि एउटा सशक्त योजना प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व लागेको छ"- संयुक्त राष्ट्रसंघीय प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एलिजावेथ कसेन्स    

“कोभिड-१९ को कारणले दादुरा संक्रमण तथा त्यसको कारण हुने मृत्युको संख्यामा वृद्वि हुने कुरामा हाम्रो ध्यान आकृष्ट भएको छ। दादुरा संक्रमणको कुनै सिमाना हुँदैन र अझ बढी बालबालिकालाई खोप दिंदै रोकथाम गर्न सकिने यो रोग विरुद्वको लडाईंलाई निरन्तरता दिनको लागि हामी सबै मिलेर काम गर्नु अपरिहार्य छ। रेड क्रस र रेड क्रेसेन्टका स्वयंसेवकहरूले खोपबाट दिर्घकालीन रूपमै वन्चित समुदायमा रहेका परिवारका बालबालिकालाई सुरक्षित राख्न सहयोग गर्दछन्। आउनुहोस्, हामीसँग सहकार्य गर्नुहोस्।" - अमेरिकी रेडक्रसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत गेल म्याकगभर्न  

मिडिया सम्पर्कहरू

सब्रिना सिधु
निसेफ न्यूयोक
सम्पर्क: +1 917 4761537
इमेल: ssidhu@unicef.org
एमि रोल्याण्ड
सिडिसी,संयुक्त राज्य अमेरिका, एटलान्टा
सम्पर्क: +1 678 332-9601
इमेल: HRowland@cdc.gov

दादुरा तथा रूबेला रोकथामका लागि पहल (ग्लोबल मिजल्स एण्ड रूबेला इनिसीएटिभ)को बारेमा 

 दादुरा तथा रूबेला रोकथामका लागि पहल (एम एण्ड आरआई) अमेरिकी रेडक्रस,  संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी), युनिसेफ, संयुक्त राष्ट्रसंघ प्रतिष्ठान (युनाईटेड नेसन्स फाउण्शडेन) बीचको साझेदारी हो, जसले खोपका लागि सहकार्यको रूपमा रहेको गावी तथा अन्य सरोकारवालासँग मिलेर काम गरिरहेको छ। दादुरा,रूबेला तथा जन्मजात रूबेला मुक्त विश्व निर्माण गर्दै त्यसलाई कायम गर्नको लागि यो पहल प्रतिवद्व रहेको छ। सन् २००० देखि एम एण्ड आरआईले विश्व भरिका बालबालिकाको लागि ५.५ अर्ब  भन्दा धेरै डोज खोप उपलब्ध गराउनुको साथै  खोप सम्मको पहुँचमा वृद्वि, महामारी विरुद्वको प्रतिकार्य, अनुगमन तथा मुल्यांकन तथा खोपको मागमा सहयोग गर्दै २ करोड ५५ लाख भन्दा धेरै बालबालिकाको जीवन बचाएको छ।  

 

दादुरा सम्बन्धी थप जानकारी: 

विश्व स्वास्थ्य संगठन : तथ्य पृष्ठ 

सिडिसी: दादुरा सम्बन्धी अद्यावधिक विवरण 

विश्व स्वास्थ्य संगठन: दादुरा प्रकोप निगरानी  सम्बन्धी पछिल्लो तथ्यांक  

युनिसेफ : खोप सेवा सम्बन्धी अद्यावधिक विवरण   

विश्व स्वास्थ्य संगठन : कोभिड-१९ महामारीको अवस्थामा खोप कार्यक्रम सन्चालनको लागि पछिल्लो मार्गनिर्देशन