गत आठ वर्षमा वर्षेनी २ करोडभन्दा धेरै बालबालिका दादुराको खोपबाट बञ्चित, अहिलेको विश्वव्यापी महामारीका लागि त्यो जिम्मेवार – युनिसेफ

सन् २०१८ मा नेपालमा दादुराको संक्रमण साढे दुई गुणाले बढ्यो

25 अप्रिल 2019
A girl getting vaccinated
UNICEF Nepal/2015/KPanday
On 9 September 2015, children receives immunization vaccines in Barpak, the epicenter of devastating earthquake that struck Nepal.

काठमाडौं, १२ बैशाख २०७६– सन् २०१० देखि २०१७ सम्ममा संसारका करीव १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन् जुन औसतमा वर्सेनी २ करोडभन्दै धेरै भएको युनिसेफले जनाएको छ ।
खोप नलगाएका बालबालिका रहेका क्षेत्रहरू बढ्दै जाँदा अहिले संसारका कैयन् देशमा दादुराको महामारी फैलिएको छ ।

नेपालका केही क्षेत्रमा पनि दादुरा संक्रमणका घटनाहरू बढेका छन् । सन् २०१८ मा नेपालमा २४७ जनालाई दादुराको संक्रमण भएको थियो जुन सन् २०१७ को तुलनामा साढे दुई गुणा धेरै हो । सन् २०१७ मा यो संख्या ९९ थियो ।

‘आज हामीले केही देशहरूमा देखिरहेको दादुराको महामारीको धरातल केही वर्षअघि नै बनेको थियो,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्नुभयो । ‘दादुरा भाइरसले खोप नलगाएका बालबालिकालाई भेटिहाल्छ । यदि हामी अहिले यो खतरनाक तर रोक्न सकिने रोगलाई फैलिनबाट रोक्न गम्भीर छौं भने हामीले धनी र गरिब सबै देशहरूका हरेक बालबालिकालाई खोप लगाउनुपर्छ ।’ 

सन् २०१९ को पहिलो तीन महिनामा संसारभर एक लाख १० हजारभन्दा धेरै दादुराका संक्रमणहरू देखिएका छन् जुन गत वर्ष सोही अवधीको तुलनामा करीव तीन गुणा धेरै हो । सन् २०१७ मा, करीव एक लाख १० हजार मानिसको दादुराका कारण मृत्यु भएको थियो जसमा अधिकांश बालबालिका थिए । यो सन् २०१६ को तुलनामा २२ प्रतिशतले धेरै हो । 

बालबालिकालाई दादुराबाट जोगाउन यसको दुई मात्रा खोप लगाउनु आवश्यक हुन्छ । तथापी, खोपमा पहुँच नहुनु, उचित स्वास्थ्य सेवाको कमी, केही ठाउँमा खोपमाथि डर र शंकाजस्ता कारणले सन् २०१७ मा दादुराको खोपको पहिलो मात्रा लगाउने बालबालिका जम्मा ८५ प्रतिशत थिए । जनसंख्या वृद्धिका बाबजुद पनि यो संख्या पछिल्लो दशकमा स्थिर रहेको थियो । संसारभर दोस्रो मात्रा लगाउने बालबालिकाको संख्या अझ कम अर्थात् ६७ प्रतिशत थियो । विश्व स्वास्थ्य संगठनले प्रतिरक्षाका लागि खोप लगाउनेको संख्या कम्तीमा ९५ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ ।

पछिल्लो तथ्यांकअनुसार, उच्च आय भएका मुलुकहरूमा दादुराको खोपको पहिलो मात्रा पाउने ९४ प्रतिशत छन् भने दोस्रो मात्रा पाउने ९१ प्रतिशत मात्र छन् । 

उच्च आय हुने मुलुकहरुमध्ये, सन् २०१० देखि २०१७ सम्म खोपको पहिलो मात्राबाट बञ्चित बालबालिकाको संख्या संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा पछिल्लो आठ वर्षमा २५ लाखभन्दा धेरै बालबालिकाले दादुराको खोप प्राप्त गरेका छैनन् । दोस्रो र तेस्रो क्रममा फ्रान्स र संयुक्त अधिराज्य छन् जहाँ क्रमशः ६ लाख आठ हजार र पाँच लाख २९ हजार बालबालिकाले दादुराको खोप लगाएका छैनन् । 

मध्य र न्यून आय भएका मुलुकहरूमा यो अवस्था निकै चिन्ताजनक छ । सन् २०१७ मा नाइजेरियाका एक वर्षमुनिका करीव ४० लाख बालबालिकाले दादुराको खोपको पहिलो मात्रा पाएका थिएनन् । सोही वर्ष भारतमा २९ लाख, पाकिस्तान र इन्डोनेसियामा १२ लाख र इथियोपियामा ११ लाख बालबालिकाले दादुराको खोपको पहिलो मात्रा पाएनन् । 

संसारभर दादुराको खोपको दोस्रो मात्रा लगाउनेहरूको संख्या अझ कम छ । सन् २०१७ मा खोप प्राप्त नगरेका बालबालिकाको संख्या सबैभन्दा धेरै रहेका शीर्ष २० मुलुकमध्ये ९ मुलुकले दोस्रो मात्रा शुरु गरेका नै छैनन् । उपसहारा अफ्रिका क्षेत्रका २० देशहरूले उनीहरूको राष्ट्रिय खोप तालिकामा दोस्रो मात्रा संलग्न गरेका छनन् जसले वार्षिक रुपमा एक करोड ७० लाखभन्दा धेरै शिशुहरूको जीवनलाई जोखिममा राखेको छ । 

युनिसेफले मिजल्स एण्ड रुबेला इनिसियटिभगाभी, द भ्याक्सिन अलायन्सजस्ता साझेदारहरूसँग मिलेर दादुराको यो संकटलाई यसरी सम्बोधन गरिरहेको छः

  • खोपको मूल्यमा सम्झौताः दादुराको खोपको मूल्य सधैं कम राख्ने,
  • सेवा नपुगेका क्षेत्र र बालबालिकाको पहिचानमा विभिन्न देशहरूलाई सहयोग गर्ने,
  • खोप र सम्वन्धित सामग्रीहरूको खरीद गर्ने,
  • नियमित खोप कार्यक्रममा रहेका अन्तरलाई सम्बोधन गर्न पुरक खोप अभियान सञ्चालन गर्न सहयोग गर्ने,
  • सम्वन्धित देशहरूलाई राष्ट्रिय खोप तालिकामा दोस्रो मात्रा शुरु गर्न सहकार्य । सन् २०१९ मा क्यामरुन, लाइबेरिया र नाइजेरियाले दादुरा खोपको दोस्रो मात्रा खोप शुरु गर्दैछन् ।
  • खोपलाई चाहिने सही तापक्रम कायम राख्न सौर्य शक्ति र मोवाइल प्रविधीको प्रयोगजस्ता नवीन प्रयोगको शुरुवात । 

‘दादुरा टाढासम्म फैलिन्छ,’ फोरले भन्नुभयो । ‘सबैका लागि प्रतिरक्षा बढाउन यसले समेट्ने क्षेत्र बढाउने मात्र नभई उपयुक्त मात्रामा खोपको दर कायम राख्नु पनि महत्वपूर्ण छ ।’


सम्पादकहरूका लागि जानकारी

सम्वन्धित फोटो र बीरोल यहाँ डाउनलोड गर्न सकिन्छ 

विश्लेषणको बारेमा
यो विश्लेषण युनिसेफ र विश्व स्वास्थ्य संगठनले सन् २०१७ का लागि १९४ वटा देशहरूको राष्ट्रिय खोपले समेटेको अनुमानको आधारमा गरिएको हो । अन्तरिम दादुरा र रुबेलाको तथ्यांक अप्रिल २०१९ मा विश्व स्वास्थ्य संगठन जेनेभामा पठाइएको मासिक तथ्यांकमा आधारित छ । उच्च आय भएका देशका लागि, विश्व बैंकले आयका आधारमा जुलाई २०१८ मा गरेको देशको बर्गीकरण हेर्नुहोस् ।

विश्व खोप सप्ताहको बारेमा
अप्रिल महिनाको अन्तिम साता मनाइने विश्व खोप सप्ताहले रोगका विरुद्ध सबै उमेरका मानिसलाई जोगाउन खोपको प्रयोग प्रवर्धन गर्ने लक्ष्य राख्दछ । सप्ताहमा युनिसेफको प्रयास बारेमा थप जानकारीका लागि, यहाँ क्लिक गर्नुहोस्

मिजल्स एण्ड रुबेला इनिसियटिभको बारेमा
युनिसेफ मिजल्स एण्ड रुबेला इनिसियटिभको सदस्य हो जुन विश्व स्वास्थ्य संगठन, सीडीसी, युनाइटेड नेसन्स फाउन्डेसन र अमेरिकन रेडक्रससहितका संस्थाहरूको निजी सार्वजनिक साझेदारी हो । यसले संसारभर दादुरा र रुबेला नियन्त्रण र उन्मुलनका लागि काम गर्छ । 
 

मिडिया सम्पर्कहरू

तानिया धाख्वा

प्रमुख, सञ्चार शाखा

युनिसेफ नेपाल

सम्पर्क: 977-9801244524

सब्रिना सिधु

निसेफ न्यूयोक

सम्पर्क: +1 917 4761537

युनिसेफ को बारेमा 

युनिसेफले आफ्ना सम्पूर्ण गतिविधि बालबालिकाको अधिकार सुनिश्चित गर्न र कल्याणकारी सेवा उपलव्ध गराउन केन्द्रित गर्दछ । यसले आफ्ना साझेदारसँग मिलेर १९० वटा देश र स्थानमा प्रतिवद्धतालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको छ । सर्वाधिक जोखिममा रहेका र पिछडिएका बालबालिकामा पहुँच बनाउन विशेष प्रयास गर्दै यसले सबै क्षेत्रका बालबालिकाका निम्ति काम गर्दछ ।

थप जानकारीको लागी:  www.unicef.org

युनिसेफ नेपाललाई फेसबुकट्वीटरमाइंन्‍स्‍टाग्राम फलो गर्नुहोस् ।