कोरोनाभाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी रहेको साबुन पानीले हात धुने सुविधा अझै अर्बौंको पहुँच बाहिर - युनिसेफ

19 मार्च 2020
This image shows a child washing hands with soap and smiling
UNICEF Nepal

न्युयोर्क, ३० फागुन २०७६ – सहि तरिकाले साबुन पानीले हात धुनुलाई कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी मानिएको छ तर युनिसेफले दिएको जानकारीअनुसार, करोडौं मानिस यो आधारभूत सुविधाबाट बञ्चित रहेका छन् । सबैभन्दा पछिल्लो तथ्यांकका अनुसार संसारभर हरेक ५ जना मध्ये ३ जनासँग मात्र हात धुने सुविधा उपलब्ध छ । नेपालमा कुल जनसंख्याको आधा भन्दा धेरैको पहुँचमा साबुन पानीले घरमै हात धुने सुविधा छैन ।

यो महामारी फैलिंदै गरेको अवस्थामा कोभिड-१९ को रोकथामका लागि हात धुनुको महत्व बारे युनिसेफले सबैलाई सम्झाउँदै आएको छ र संसारभरका सबैलाई यो आधारभूत सुविधाको पहुँच पुर्याउन कोशिस गर्दै आएको छ।

अन्य कैयौं रोगहरूका साथै कोरोनाभाइरसबाट आफु र अन्यलाई जोगाउन साबुनपानीले हात धुनु सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो। “तर पनि करोडौं मानिसकालागि यो सुविधा पहुँच बाहिर छ”, युनिसेफका कार्यक्रम विभागका निर्देशक सञ्जय विजेसकेराले बताए। “यो कुनै जादुको छडी होइन, तर आफु तथा आफ्ना परिवारलाई सुरक्षित राख्नका लागि के कस्ता कदमहरू चाल्नु पर्छ भनेर जानकारी दिन हामी प्रयासरत छौं र सबैजना सम्म आधारभूत सरसफाई तथा स्वच्छताका यी सुविधा पुर्‍याउन हाम्रो कोशिस धेरै अगाडिदेखि निरन्तर जारी छ”, उनले थपे

संसारका धेरै ठाउँमा बालबालिका, अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी तथा समुदायका अन्य सदस्यलाई आफ्नो घर, स्वास्थ्य संस्था, विद्यालय र अन्त कतै पनि हात धुने आधारभूत सुविधा उपलब्ध छैन। पछिल्लो अनुमान अनुसार:

  • संसारको ४० प्रतिशत जनसंख्या, अर्थात ३ अर्ब मानिसको घरमा साबुन पानीले हात धुने सुविधा छैन । अति कम विकसित राष्ट्रका लगभग तीन चौथाई मानिसको घरमा हात धुने आधारभूत सुविधा उपलब्ध छैन ।
  • ४७ प्रतिशत विद्यालयमा साबुन पानीले हात धुने सुविधा नभएका कारण विद्यालय जाने उमेरका ९० करोड बालबालिका प्रभावित भएका छन् । संसारभरका एक तिहाई विद्यालय तथा अति कम विकसित राष्ट्रका आधाजसो विद्यालयमा बालबालिकाहरूले हात धुने ठाउँ उपलब्ध छैन।
  • १६ प्रतिशत अर्थात प्रत्येक ६ मध्ये १ स्वास्थ्य संस्थाका बिरामी जाँच गरिने स्थानमा प्रयोग गर्न योग्य शौचालय वा हात धुने सुविधा उपलब्ध छैन । नेपालमा ५४ प्रतिशत स्वास्थ्य संस्थाहरूमा बिरामी जाँच गरिने स्थानमा हात धुने सुविधा उपलब्ध छैन । त्यसैगरी स्वास्थ्य संस्थाका बहिरंग विभागहरूमा कीटाणुनाशक तत्व ५९ प्रतिशत मात्र उपलब्ध छन् भने स्वास्थ्य संस्थाका सुत्केरी गराउने कक्षहरूमा पानीको उपलब्धी केवल ६९ प्रतिशत मात्र छ ।

अत्याधिक जनघनत्व हुनुका साथै बजार, सार्वजनिक यातायात वा धार्मिक स्थलहरूजस्ता स्थानहरूमा बढि भिडभाड हुने हुनाले शहरी क्षेत्रको जनसंख्या श्वासप्रश्वास सम्बन्धी भाइरल रोगबाट झनै जोखिममा रहेका हुन्छन् । अनौपचारिक बसोबास मध्येको सबैभन्दा अस्तब्यस्त र अव्यवस्थित मानिने - शहरी क्षेत्र भित्र बिपन्न झुपडी बस्तीका बासिन्दा विशेष जोखिममा रहन्छन् । यसकारणपनि हात धुनु अत्यन्तै महत्वपूर्ण हुनजान्छ । तथापि:

  • अफ्रिकाको उप-सहारा खण्डको शहरी क्षेत्रमा बसोबास गर्ने ६३ प्रतिशत जनसंख्या (अथवा २५ करोड ८० लाख) आधारभूत हात धुने सुविधाबाट बञ्चित छन् । दक्षिण अफ्रिकाका ४७ प्रतिशत जनसंख्या (लगभग १ करोड ८० लाख मानिस) को घरमा पनि आधारभूत हात धुने सुविधा उपलब्ध छैन जबकि त्यहाँका सबैभन्दा सम्पन्न बासिन्दासंग यो सुविधा हुने सम्भावना १२ गुणा बढि रहेको छ ।
  • केन्द्रिय तथा दक्षिण एसियामा शहरी क्षेत्रमा बसोबास गर्ने २२ प्रतिशत अथवा १५ करोड ३० लाख मानिस हात धुने सुविधाबाट बञ्चित छन् । बंगलादेशको शहरी क्षेत्रमा बसोबास गर्ने ५० प्रतिशत (२ करोड ९० लाख) जनसंख्या, तथा भारतको शहरी क्षेत्रमा बसोबास गर्ने २० प्रतिशत (वा ९ करोड १० लाख) मानिसको घरमा आधारभूत हात धुने व्यबस्था उपलब्ध छैन ।
  • पूर्वी एसियामा इन्डोनेसियाका २० प्रतिशत (४ करोड १० लाख) शहरी क्षेत्रका बासिन्दा, फिलिपिन्सका १५ प्रतिशत (७० लाख) बासिन्दाका घरमा आधारभूत हात धुने व्यबस्था उपलब्ध छैन ।
  • नेपालमा शहरी क्षेत्रमा बसोबास गर्ने ३३ प्रतिशत वा १० मध्ये ३ जना मानिसहरूमा साबुन पानीले हात धुने सुविधाको पहुँच छैन ।

स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कोभिड-१९ तथा अन्य संक्रमणबाट जोगाउन तथा थप संक्रमण फैलिन नदिन पनि हात धुनु अत्यन्तै महत्वपूर्ण छ । कोरोना भाइरस प्रभावित देशहरूका स्वास्थ्य सेवा प्रणालीमा यसको असर बढ्दै गइरहेको बेला श्वासप्रश्वास तथा झाडापखालाका सामान्य रोगहरूबाट जोगिन पनि साबुन पानीले हात धुनु एकदमै महत्वपूर्ण मानिएको छ ।

संसारभरका बालबालिका तथा तिनका अभिभावकहरूसम्म हात धुने उपयुक्त व्यवस्था सुनिश्चित गर्न युनिसेफ संसारभर कार्यरत छ। यसका अतिरिक्त, सरकारसंगको सहकार्यमा हात धुनका लागि आवश्यक नीति, रणनिति तथा कार्ययोजनाहरूको निर्माण गरि युनिसेफले ९० भन्दा बढि देशहरूमा हात धुनुको प्रवर्धन गरिरहेको छ । आम संचार माध्यमका साथै सामुदायिक स्वास्थ्यकर्मी तथा स्थलगत कार्यकर्ताहरूसँगको सहकार्यमा हामीले हात धुने बानीको प्रवर्धन गर्न हामीले राष्ट्रिय हात धुने अभियानलाई सघाएका छौं र विद्यालय तथा शिक्षकहरूसँगको सहकार्यमा बालबालिकालाई हात धुनुको महत्व बुझाउन निरन्तर काम गरिरहेका छौं ।

कोरोनाभाइरस विरुद्धको अभियान अन्तर्गत युनिसेफले आम नागरिकलाई हात धुने उत्तम तरिकाको बारेमा बुझाइरहेको छ।

  • बगिरहेको पानीमा हात भिजाउने,
  • भिजेको हातमा मनग्गे साबुन लगाउने,
  • हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,
  • बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
  • सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।

थप जानकारी

साबुन पानीले हात धुने सम्बन्धी नेपाली भाषामा जानकारी यहाँ उपलब्ध छ ।

कोभिड-१९ बारेमा जानकारी र थप सामग्री यहाँ उपलब्ध छ ।

मिडिया सम्पर्कहरू

कर्टिस कुपर
युनिसेफ न्युयोर्क
सम्पर्क: १ ९१७ ४७६ १४३५
इमेल: kacooper@unicef.org

युनिसेफको बारेमा

अत्यन्त संवेदनशील र वहिष्कृत बालबालिकासम्म पुग्नकालागि युनिसेफले संसारकै अत्यन्तै कठिन क्षेत्रहरूमा काम गर्दछ। हरेक स्थानमा, हरेक बालबालिकाको हक हित र सबैको लागि सुन्दर भविष्य निर्माण गर्न संसारका १९० देश र भूभागहरूमा हामी कार्यरत छौं ।  युनिसेफ र बालबालिकाका लागि युनिसेफले गरेका कामहरुको बारेमा थप जानकारीका लागि हाम्रो वेबसाईट www.unicef.org/nepal मा जानुहोस् ।

युनिसेफको ट्विटर तथा फेसबुकमा पनि सम्पर्कमा रहनुहोस् ।