कोभिड –१९: गरीबीमा बाँचिरहेका बालबालिकाको संख्या यस वर्षको अन्त्य सम्ममा ८ करोड ६० लाख सम्मले वृद्धि हुने

सेभ द चिल्ड्रेन र युनिसेफले गरेको एउटा नयाँ विश्लेषण अनुसार यदि तुरुन्तै कुनै कदम नचालिएको खण्डमा न्युन एवं मध्यम आम्दानी भएका मुलुकका गरीब परिवारमा जीवन यापन गरिरहेका बालबालिकाको संख्या १५ प्रतिशतले वृद्धि भई ६७ करोड २० लाखसम्म पुग्न सक्ने खुलासा भएको छ

01 जुन 2020
This image shows the silhouette of a child
UNICEF Nepal

काठमाडौ, २०७७ जेठ १९: सेभ द चिल्ड्रेन र युनिसेफद्वारा आज सार्वजनिक गरिएको एउटा नयाँ विश्लेषण अनुसार कोभिड–१९ को विश्व्यापी महामारीले निम्त्याएको आर्थिक संकटले सन २०२० को अन्त्य सम्ममा  थप ८ करोड ६० लाख बालबालिकालाई पारिवारिक गरीबीमा धकेल्न सक्छ । यो संख्या हाल गरीबीमा बाँचिरहेका कुल बालबालिकाको १५ प्रतिशत हो ।  

विश्वव्यापी महामारीले सृजना गरेको आर्थिक समस्याबाट परिवारहरूलाई सुरक्षित राख्नको लागि तत्काल कुनै कदम नचालिएको खण्डमा न्युन तथा मध्यम आय भएका मुलुकहरूमा गरीबीको राष्ट्रिय तहमुनि बाँचिरहेका बालबालिकाको संख्या यो वर्षको अन्त्य सम्ममा ६७ करोड २० लाख पुग्न सक्ने कुरा उक्त विश्लेषणले प्रकाश पारेको छ । यिनीहरूमध्ये झन्डै दुइ तिहाई बालबालिका अफ्रिकाको सहारा क्षेत्र र दक्षिण एसियामा बसोबास गर्दछन् । 

सबै भन्दा उल्लेख्य वृद्धि हुन सक्ने युरोप र मध्य एसियाली देशहरूमा ४४ प्रतिशतकोे वृद्धि दर रहन सक्छ भने दक्षिण अमेरिका तथा क्यारेबियन देशहरूमा २२ प्रतिशतले वृद्धि हुन सक्छ । 

“विश्वव्यापी कोरोना भाइरस महामारीले निम्त्याएको एउटा कल्पनै नगरिएको आर्थिक–सामाजिक संकटका कारण संसारभरिकै परिवारहरूको श्रोत साधन रित्तिंदैै गइरहेको छ, “ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्नुभयो । “परिवारहरूमा आइपरेको आर्थिक संकटको स्तर तथा गहनता हेर्दा त्यसले बालगरीबी घटाउनका लागि वर्षोंसम्म गरिएका प्रगतिहरूलाई पछाडि धकेल्दै बालबालिकालाई अत्यावश्यक सेवाहरूबाट बन्चित गराउने खतरा देखिएको छ । संयुक्त पहलहरू नगरिएको खण्डमा मुश्किलले जीवनयापन गरिरहेका परिवारहरू गरीबीमा धकेलिन सक्नेछन, र अत्यन्तै गरीब परिवारहरूले  दशक कै अत्यन्तै उच्च अभावको अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ ।"

महामारी तथा त्यसलाई नियन्त्रण गर्न लागु गरिएका नीतिहरूले निम्त्याएको विश्व्यापी आर्थिक संकटले दोहोरो प्रभाव पार्न सक्ने चेतावनी सेभ द चिल्ड्रेन र युनिसेफले दिएका छन् । तत्काल आम्दानी गुमाउनु भनेको परिवारहरूमा खाद्यान्न र पानी लगायतका आधारभुत आवश्यकताहरू पुरा गर्ने, स्वास्थ्य सेवा तथा शिक्षा हासिल गर्ने क्षमता कम हुनुका साथै बाल विवाह, हिंसा, शोषण र दुव्र्यहारको जोखिम बढ्नु हो । आर्थिक संकुचनको अवस्था आएमा परिवारहरू निर्भर रहने सेवाहरूको पहुँच र गुणस्तरमा पनि ह्रास आउन सक्छ । 

सामाजिक सेवाहरू वा क्षतिपुर्ति जन्य अवसरहरूमा अत्यन्तै गरीब परिवारहरूको पहुँच नभएमा नियन्त्रण तथा भौतिक दुरी कायम गर्नुपर्ने कुराहरूमा उनीहरूको क्षमता कम हुन्छ, र त्यसले उनीहरूलाई झन संक्रमणको जोखिममा धकेल्छ ।  
“कोभिड–१९ महामारीका कारण अचानक आइपर्ने गरीबीले बालबालिकालाई अत्यन्तै प्रभावित पार्नेछ  । बालबालिका अल्पकालीन भोकमरी र कुपोषण समेतको उच्च जोखिममा रहेका छन, जसले उनीहरूलाई जिन्दगी भरिनै प्रभावित पार्न सक्दछ । यदि अहिले नै निर्णायक  रुपमा काम गर्ने हो भने  हामीले अत्यन्तै गरीब देशहरू तथा उच्च जोखिममा रहेका बालबालिकामाथि यो महामारीले पार्न सक्ने प्रभावलाई रोकथाम एवं नियन्त्रण गर्न सक्छौं । यो प्रतिवेदन विश्वलाई नै ब्युँझाउने एउटा दस्तावेजको रुपमा रहनुपर्छ । बालबालिकालाई गरीबीबाट जोगाउन नै सकिँदैन भन्ने होइन,’’ सेभ द चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत ईँगर एशिंगले भन्नु भयो । 

महामारी भन्दा अगाडि सम्म विश्वभरिका दुइ तिहाई बालबालिकाको कुनै पनि प्रकारको सामाजिक सुरक्षामा पहुँच थिएन । त्यसकारण, उनीहरूका परिवार आर्थिक संकटहरूको सामना गर्न असक्षम छन् र पुस्तैनी गरीबीको खतरनाक चक्रमा अझ धकेलिएका छन् । अफ्रिकामा जम्मा १६ प्रतिशत बालबालिका मात्रै सामाजिक सुरक्षाको दायरामा समेटिएका छन् । 

करोडौं बालबालिका बहुआयामिक गरीबीमा रहेका छन – अर्थात, स्वास्थ्य सेवा, शिक्षा, उचित पोषण वा उपयुक्त बासस्थानको सुविधामा उनीहरूको पहुँच छैन । यसले सामाजिक सेवाहरूमा सरकारहरूले गरेका लगानी समतामुलक रुपमा भइरहेका छैनन् भन्ने कुरा देखाउँछ ।

यसअघि नै द्वन्द र हिंसाबाट प्रभावित देशहरूमा बसोबास गर्ने बालबालिकाको लागि यस संकटका प्रभावले अस्थिरता सृजना हुने र परिवारहरू गरीबीमा धकेलिने जोखिम बढाइदिनेछ । द्वन्दका कारण सहायताको आवश्यकतामा बाँचिरहेका विश्व भरिकै बालबालिका मध्ये सबै भन्दा धेरै बसोबास गर्ने मध्य पुर्व क्षेत्र तथा उत्तरी अफ्रिकामा युवा बेरोजगारी दर सबै भन्दा बढी छ भने उक्त क्षेत्रमा बसोबास गर्ने बालबालिकाको कुल संख्या मध्ये आधा हिस्सा बहुआयामिक गरीबीमा बाँचिरहेका छन् । 

कोभिड–१९ ले नेपालमा रहेका बालबालिकामा गम्भीर असर देखाउन शुरू गरिसकेको छ, जसले पछिल्लो समयमा भएको प्रगतिलाई पछाडि धकेल्न सक्छ । विश्व बैंकका अनुसार सन् २०१८ मा नेपाली आप्रवासी कामदरहरूले  झन्डै ९ अर्ब रुपैया (८.१ अर्ब अमेरिकी डलर)  स्वदेश पठाएका  थिए । विप्रेषण प्राप्त गर्ने देशहरूको सुचीमा नेपाल विश्वकै १९ औ स्थानमा रहेको थियो । विप्रेषणको अधिकांश हिस्सा पारिवारिक खर्च र बालबालिकाको शिक्षामा खर्च हुने गर्दछ । 

केहि दशक यता प्रगति देखिएको भएता पनि, यो संकट आउनु अघि नै नेपालका बालबालिकाले आफ्ना अधिकार हासिल गर्ने कुरामा गम्भीर अवरोधहरूको सामना गरिरहेका थिए । हरेक तीन बालबालिका मध्ये कम्तीमा १ जनामा पुड्कोपना रहेको छ । केहि सुधार भैरहेको देखिए पनि पाँच वर्ष मुनिको बाल मृत्युदर अझै बढी नै छ । अहिले प्रत्येक १०००० जीवित जन्ममा मा ३९ बालबालिकाको मृत्यु हुने गरेको छ । नेपालमा हाल झन्डै १ करोड बालबालिका गरीबीमा बाँचिरहेको र अझै धेरै बालबालिका बहुआयामिक गरीबीमा बाँचिरहेको अनुमान गर्न सकिन्छ  । सरकारले हाल सम्म १५ लाख घरधुरीहरू बिभिन्न हिसाबले जोखिममा रहेको कुरा पहिचान गरेको छ । यो संख्या नेपालका कुल घरधुरीको २० प्रतिशत भन्दा बढी भएकाले ठुलो संख्यामा बालबालिका जोखिम रहेको देखिन्छ । कोभिड–१९ को प्रभावले नेपाली अर्थतन्त्र कमजोर हुंदै गर्दी यी जोखिमहरू बढ्ने सम्भावना रहन्छ । 

नेपालका  शिक्षा क्षेत्रले अहिले नै शिक्षाको न्युन गुणस्तर, सामाजिक समावेशिताको अभावका कारण पहुँचमा असमानता, अपांगता र भौगोलिक व्यवधान जस्ता थुप्रै चुनौतीहरूको सामना गरिरहेको छ । कोभिड–१९ को कारणले विद्यालयहरू बन्द भएर कक्षाहरू इन्टरनेट मार्फत अनलाइन सञ्चालन भएको अवस्थामा गुणस्तरीय इन्टरनेटको सुविधा नभएका वा इन्टरनेटमा पहुँच नै नभएका अत्यन्तै गरीब, बञ्चितिकरणमा परेका र ग्रामीण बालबालिकालाई अत्यन्तै असुविधा भएको छ, । यस्तो अवस्थाले  प्रविधिले निम्त्याएको विभाजनलाई थप बढावा दिएको छ ।

गरीब परिवारका बालबालिकामा कोभिड–१९ ले पार्ने प्रभावलाइ सम्बोधन र निराकरण गर्नको लागि नगद प्रवाह, विद्यालय खाजा र बालबालिकाका लागि लाभ लगायत समावेश गरि सामाजिक सुरक्षा प्रणाली र कार्यक्रमहरूको द्रुत एवं ठुलो स्तरको विस्तार गर्नको लागि सेभ द चिल्ड्रेन र युनिसेफ आव्हान गर्दछन् ।  यी सबै संवेदनशील लगानीहरूले तत्कालको आर्थिक वित्तीय आवश्यकता सम्बोधन गर्नुका साथै भविष्यमा आइपर्न सक्ने संकटहरूको सन्दर्भमा गरिने तयारीको लागि आधार बनाउनेछन् ।

सरकारहरूले  परिवारहरूलाई सहयोग गर्नको लागि अन्य स्वरूपका सामाजिक सुरक्षा, वित्तीय नीति, रोजगारी र श्रम बजारमा गरिने पहलहरूमा पनि लगानी गर्नुपर्दछ । यसमा गुणस्तरीय शिक्षा र अन्य सेवाहरूमा विश्वव्यापी पहुँचमा विस्तार ; र तलबी विदा  तथा बाल स्याहार जस्ता परिवार मैत्री नीतिहरूमा गरिने लगानी पर्दछन् । कोभिड–१९ ले असर गरेपछिको समयमा थुप्रै देशहरूले सामाजिक सुरक्षा कार्यक्रमहरूको स्तर वृद्धि गरिसकेका छन् ।  केहि उदाहरणहरूः

  • इण्डोनेसियामा आधारभुत पारिवारिक उपभोगका लागि मासिक रुपमा नगद सहायता प्रदान गर्ने थेकरतु सेम्बाको कार्यक्रमले थप २ करोड जनतामा आफ्नो पहुँच विस्तार गरेको छ भने मासिक नगद सहायतालाई डेढ लाख रुपिया बाट बढाएर २ लाख रुपिया पुर्‍याएको  छ;
  • मंगोलिया सरकारले बालबालिकाको नगद मासिक कार्यक्रम मार्फत प्रदान गरिने मासिक सहायतालाई ६ महिनाको लागि २० हजार टुगरीक बाट ५ गुणा वृद्धि गरेर १ लाख टुगरीक पु¥याएको छ ;  
  • अर्जेन्टिनामा बाल भत्ता कार्यक्रमले आफ्ना वर्तमान लाभग्राहीका लागि ३,१०० अर्जेन्टिनि पेसो (४७ अमेरिकी डलर)ले वृद्धि गरेको छ;
  • दक्षिण अफ्रिकामा १ करोड २८ लाख बालबालिका सम्म पुग्ने बाल सहायता अनुदान र अन्य सामाजिक सुरक्षा योजनाहरूले थप नगद प्रदान गरिरहेका छन्;
  • जर्जियामा थप ७० हजार परिवारलाई सहायता प्रदान गर्न, र  ३ वा सो भन्दा बढी बालबालिका भएका २१००० परिवारलाई ६ महिना सम्म मासिक थप १०० जीइल (३१ अमेरिकी डलर) प्रदान गर्नको लागि लक्षित सामाजिक सहायता (टीएसए) कार्यक्रमलाई अस्थायी रुपमा विस्तार गरिनेछ । 
  • अर्मेनियामा पारिवारिक लाभ प्रणालीमा आवद्ध भएका योग्य परिवारहरूले  ५० प्रतिशत थप सहायता प्राप्त गर्नेछन् ।
  • कोलम्बियाले हाल अन्य कुनै पनि सरकारी सहयोग कार्यक्रम मार्फत सहयोग प्राप्त नगरेका परिवारहरूका लागि नगद सहायता प्रदान गर्न ऐक्यवेद्वता आम्दानी कार्यक्रम तयार गरेको छ । जोखिममा रहेका २० लाख परिवारले २१ मे सम्ममा प्रति परिवार ३ लाख २० हजार पेसो (अमेरिकी डलर ८१) प्राप्त गरे, जुन रकम  मार्च र मे महिनामा समान दुइ किस्तामा प्रदान गरिएको थियो । 
  • पेरुमा, सरकारले ग्रामीण परिवार, स्वतन्त्र कामदार र जोखिम रहेका परिवारकोलागि ऐक्यवेद्वता बोनस प्रदान गर्नुका साथै ६८ लाख घरधुरीको लागि नयाँ राष्ट्रिय ऋणपत्र प्रदान गर्दैछ । दुर्गम क्षेत्रमा बसोबास गर्ने, जनजाति र आप्रवासीहरूमा विषेश ध्यान केन्द्रित गर्नु आवश्यक हुन्छ । 

प्रस्तुत विश्लेषण आईएमएफ र विश्व बैंकले गरेका आर्थिक प्रक्षेपण, आम्दानीको वितरणमा विगतमा आएका परिवर्तन सम्बन्धी युएनयू डब्लूआईडीइआर बाट प्राप्त ऐतिहासिक प्रमाण, र बहुसूचक सर्वेक्षण (MICS) तथा जनसांख्यिकीय स्वास्थ्य सर्वेक्षण (DHS) बाट प्राप्त जनसांख्यिक तथ्याङ्कमा आधारित रहेको छ ।

मिडिया सम्पर्कहरू

जर्जिना थम्पसन
युनिसेफ मुख्यालय
सम्पर्क: +१ ९१७ २६५ ४५२४
इमेल: gthompson@unicef.org
नताशा डस सान्तोस
सेभ द चिल्ड्रेन
सम्पर्क: +४४ ७७८७ १९१९५७

सेभ द चिल्ड्रेनको बारेमा  

सेभ द चिल्ड्रेन एउटा यस्तो संसारमा विश्वास गर्दछ, जहाँ सम्पुर्ण बालबालिकाले शिक्षाको अवसर प्राप्त गर्दछन्, र दुव््र्यवहार, अवहेलना  तथा शोषणबाट सुरक्षित रहन्छन् । ११७ देशहरूमा रहेको हाम्रो सञ्जालमार्फत हामी अत्यन्तै बञ्चित तथा सिमान्तकृत बालबालिकासम्म पुगेर उनीहरूलाई बाँच्न, शिक्षा प्राप्त गर्न र सुरक्षित रहन सहयोग गर्छौं । 

कोभिड–१९ को बारेमा थप जानकारीको लागि www.savethechildren.net/coronavirusresponse मा जान सक्नुहुन्छ ।


युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा बञ्चितिकरणमा परेका बालबालिकासम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण ठाउँहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भुभागहरूमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं ।  

 Twitter र Facebook मा हामीलाई पाउनुहोस् ।  

कोभिड–१९ को बारेमा थप जानकारी तथा बालबालिका तथा परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने सम्बन्धमा मार्र्गिनर्देशन प्राप्त गर्नको लागि यो वेबसाइट  www.unicef.org/coronavirus मा जानुहोस् ।