कोभिड -१९ को कारणले सिकाइमा पुगेको क्षति न्युनीकरणका लागि नेपाल सरकार तथा विकास साझेदारहरूद्वारा अभियानको शुभारम्भ 

13 जनवरी 2021

काठमाडौँ, नेपाल, २०७७ पौष २८: विद्यालयको सुरक्षित पुन:सञ्चालन तथा वैकल्पिक शिक्षाका विभिन्न विधिहरूको प्रयोगमार्फत कोभिड -१९ महामारी तथा यसपछि पनि बालबालिकालाई निरन्तर सिकाइमा सघाउनको लागि नेपाल सरकारले साझेदारहरूको सहयोगमा आजबाट एउटा शैक्षिक अभियानको शुभारम्भ गरेको छ। 

नेपालमा महामारी रोकथामको लागि लागु गरिएका स्थानीय तथा राष्ट्रिय बन्दाबन्दीको कारणले विद्यालयहरू लामो समयसम्म बन्द रहँदा झन्डै ८५ लाख बालबालिकाको सिकाइ प्रकृया जोखिममा परेको थियो । स्थानीय सरकारहरूले कोभिड-१९ को जोखिम कम भएको वा नियन्त्रणमा आएको आंकलन गर्दै केही क्षेत्रहरूमा विद्यालयहरू पुन:सञ्चालन गरेतापनि अझै पनि संक्रमणको जोखिम व्याप्त रहेकाले विद्यालय पुन:सञ्चालनमा थप चुनौतीहरू देखिएका छन् ।  

यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले युनिसेफ नेपाल, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल शिक्षक महासंघ  र नेपाल शिक्षा समूहसँगको सहकार्यमा विद्यालय सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ मा आधारित रही सिकाइ निरन्तरता अभियानको विकास गरेको हो । यसमा सी.एम.सी नेपाल, एजुकेशन पेजेज, एन्फो, प्लान इन्टरनेसनल, सेभ द चिल्ड्रेन, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, यूनाईटेड मिसन टु नेपाल, बिबिसी मिडिया एक्सन मार्फत यु.के.एड, यु.एस.ए.आइ.डीको सहयोगमा सञ्चालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रम २, भि.एस.ओ र विश्व शिक्षासँगको सहकार्य रहेको छ ।  अन्य संघसंस्थाहरूलाई पनि अभियानमा जोड्ने क्रम जारी छ ।

कोभिड-१९ को सन्दर्भमा सरकारद्वारा जारी गरिएको विद्यालय पुन:सञ्चालन सम्बन्धी कार्यढाँचाअनुरुप यस अभियानले विद्यालयहरू पुन:सञ्चालनमा आएका क्षेत्रहरूमा संक्रमण रोकथाम गर्न पालना गर्नुपर्ने जनस्वास्थ्य सुरक्षा मापदण्डको बारेमा जानकारी प्रदान गर्दै अभिभावक, स्याहारकर्ता , शिक्षक, विद्यालय व्यवस्थापन पदाधिकारी तथा स्थानीय सरकारहरूलाई संलग्न गराउनुका साथै यस चुनौतीपूर्ण समयमा बालबालिकाको सिकाइले निरन्तरता पाएको सुनिश्चित गर्नको लागि वैकल्पिक शिक्षाका विधिहरूको प्रभावकारी प्रयोग गर्न पनि प्रोत्साहन गर्दछ। विशेष गरी विपन्न, दुर्गममा बसोबास गर्ने तथा सिमान्तकृत बालबालिकाको निरन्तर सिकाइको लागि थप एवं लक्षित सहयोग प्रदान गर्न तथा उनीहरूले विद्यालय छाड्ने अवस्था आउन नदिन अभियान केन्द्रित रहनेछ । 

“यो अभियानबाट सम्पूर्ण विद्यार्थीहरूको सिक्न पाउने हक सुनिश्चित गर्न तथा विद्यार्थीहरूले उपलब्ध सुविधाअनुरुप सिकाइका लागि सहज वातावरण सृजना गर्न मद्दत गर्ने छ भन्ने अपेक्षा गरिएको छ,” शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक, घनश्याम अर्यालले भन्नुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न वैकल्पिक शिक्षाका विधिहरू तयार पार्नको लागि प्रदेश तथा स्थानीय सरकार र विकास साझेदारहरूसँग सहकार्य गर्दै आएको छ । वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्ने सरकारी निर्देशिका अनुरुप यी नमुना तयार पार्ने क्रममा  विद्यार्थीहरूलाई पाँच वटा समूहमा वर्गीकरण गरिएको छ, जसमा (क) कुनै पनि सञ्चार माध्यममा पहुँच नभएका (ख) रेडियोमा पहुँच भएका (ग) टेलिभिजनमा पहुँच भएका  (घ) कम्प्युटरमा पहुँच भएका तर इन्टरनेट सुविधा नभएका (ङ) इन्टरनेटमा पहुँच भएका बालबालिकाका समूह छन् । 

यी वैकल्पिक शिक्षाका विधिहरूको प्रभावकारी प्रयोगमा सिकाइ निरन्तरता अभियान केन्द्रित रहेको छ, जस अन्तर्गत नेपाल टेलिकमको सी.यु.जी. सेवालाई क्रियाशील बनाउँदै टेलिफोन/एसएमएस जस्ता प्रविधिको कम प्रयोग हुने विधिको प्रयोग गरी शिक्षकहरूलाई परिचालन गर्ने योजना छ । साथै, बालबालिकाको शिक्षामा अभिभावकहरूको महत्त्वपूर्ण भुमिकाको कदर गर्दै विशेष रेडियो कार्यक्रम, गृह विद्यालय कार्यक्रम तथा सिकाइ सहयोगका लागि अभिभावक समूहको प्रवर्द्धन गरिनेछ। 

“सिकाइ निरन्तरता अभियानको महत्वपूर्ण पाटोको रुपमा विकास एवं प्रवर्द्धन भईरहेका वैकल्पिक शिक्षाका विधिहरूले विद्यालय बन्दबाट प्रभावित बालबालिकाको लागि मात्र नभई विद्यालय पुन: सञ्चालन हुने क्रममा रहेका स्थानहरूका लागि पनि महत्वपूर्ण सावित हुन सक्छन्," नेपालको लागि युनिसेफ प्रतिनिधि एल्के विसले भन्नुभयो । "शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन पदाधिकारीहरूलाई यी निर्देशिका, सिकाइका साधन एवं दृष्टिकोणहरू उपलब्ध गराइएमा भविष्यमा आउन सक्ने संकटको समयमा पनि बालबालिकाको सिकाइ निरन्तर रहने कुरा सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ ।"  

मिडिया सम्पर्कहरू

रामचन्द्र तिमिल्सिना
योजना तथा अनुगमन शाखा अधिकृत
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
सम्पर्क: ९७७-१-६६३५१३४
तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: tdhakhwa@unicef.org

युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा बंचितिकरणमा परेका बालबालिकासम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरूमा काम गर्दछ  १९० भन्दा बढी देशहरु तथा भुभागहरूमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं । युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि  www.unicef.org मा जानुहोस्।  

अन्तर्राष्ट्रिय बाल दिवसको बारेमा थप जानकारी

Twitter र Facebook मा हामीलाई पाउनुहोस्