कोभिड -१९ को कारणले थप १५ करोड बालबालिका गरिबीमा धकेलिएको युनिसेफ र सेभ द चिल्ड्रेनले जनाएका छन्

पछिल्लो विश्लेषणका अनुसार महामारी शुरु भएपछि बहुआयामिक गरिबीमा बाँच्ने अवस्थाको कारण शिक्षा, स्वास्थ्य सेवा, आवास, पोषण, सरसफाई तथा पानीमा पहुँचबाट वन्चित भएका बालबालिकाको संख्यामा १५ प्रतिशतले वृद्वि भएको छ

25 सेप्टेम्बर 2020
This image shows a silhouette of a mother lifting up her child
UNICEF Nepal

न्यूयोर्क / लन्डन / काठमाडौं, असोज ७, २०७७ - युनिसेफ र सेभ द चिल्ड्रेनद्वारा तयार पारि आज प्रकाशित एक विश्लेषणका अनुसार कोभिड-१९ महामारीको कारण बहुआयामिक गरिबीमा बाच्न बाध्य भएका बालबालिकाको संख्या १ अर्ब २० करोड पुगेको छ।  निम्न तथा  निम्न-मध्यम आय भएका देशहरूमा अभावमा बाँचिरहेका बालबालिकाको संख्यामा यो वर्षको शुरूवात संगै आएको महामारीका कारणले १५ प्रतिशत अथवा १५ करोडले वृद्वि भएको हो।  

बहुआयामिक गरिबीको विश्लेषण गर्नको लागि ७० भन्दा बढी देशहरूमा रहेको शिक्षा, स्वास्थ्य सेवा, आवास, पोषण, सरसफाई तथा पानीसम्मको पहुँच सम्बन्धी तथ्यांकको प्रयोग गरिएको छ। महामारी भन्दा अगाडि विश्लेषण गरिएका केही देशहरूमा ४५ प्रतिशत बालबालिका यी उल्लेखित मध्ये कम्तीमा एउटा आवश्यकता पुरा गर्नबाट वन्चित रहेको कुरा उक्त विश्लेषणले प्रकाश पारेको छ।    

अवस्था चिन्ताजनक रहेको कुरा विश्लेषणले चित्रण गरिरहँदा आगामी महिनाहरूमा थप जटिल अवस्था आउन सक्ने चेतावनी युनिसेफले दिएको छ। आगामी अवस्थाको अनुगमन गर्न तथा त्यससंग जुध्नको लागि सम्बन्धित सरकारहरू र नागरिक समाजसंग सहकार्य गर्न सेभ द चिल्ड्रेन र युनिसेफ प्रतिवद्व रहेका छन्।   

"कोभिड-१९ र यसलाई थप फैलनबाट रोक्नको लागि लागु गरिएका बन्दाबन्दीको कारण लाखौ बालबालिकालाई गरिबी तर्फ धकेलिदिएको छ" युनिसेफका कार्यकारी निर्देशक हेनेरिटा फोरले भन्नुभयो। "गरिबीको  रेखाबाट माथि उठ्ने अवस्थामा पुग्नै  लागेका परिवारहरू पुन: गरिबी तर्फ नै धकेलिएका छन् भने अन्य थुप्रै परिवारहरूले जीवनमै अनुभव नगरेको अभावको अवस्थाबाट गुज्रनु परिरहेको छ। हाम्रा लागि सबै भन्दा चासोको कुरा त के हो भने, हामी संकटको शुरूवाती चरणमा नै छौं।"   

प्रतिवेदनले बालबालिकाले भोग्नु परिरहेको गरिबीले मौद्रिक मुल्यभन्दा ठूलो अर्थ राख्ने उल्लेख गरेको छ । मौद्रिक गरिबी मापनका लागि घरपरिवारको आयको महत्व रहने भए पनि बालबालिकाले भोग्नु परेको गरिबीको सन्दर्भमा त्यसले आंशिक रूपमा मात्रै चित्रण गरिरहेको हुन्छ। बालबालिकाले भोग्नु परिरहेको गरिबी पूर्ण रूपमा बुझ्नको लागि सबै सम्भावित बञ्चितीकरणहरूको सिधा विश्लेषण गरिनुपर्दछ। यसले स्वास्थ्य सेवा, शिक्षा, पोषण, पानी, सरसफाई तथा आवासजन्य अभावहरूलाई सम्बोधन गर्दै बहुआयामिक गरिबीको अन्त्य गर्नको लागि बहुक्षेत्रीय नीतिहरू पनि लागु गर्नुपर्ने आवश्यकता तर्फ पनि इंगित गर्दछ।

बालबालिकालाई गरिबीबाट माथि उठाउन तथा थप खराब अवस्था आउन नदिनको लागि उनीहरूका परिवारहरूलाई सामाजिक सुरक्षा, समावेशी आर्थिक नीति, सामाजिक सेवामा लगानी, श्रम बजारमा सुधार आदि मार्फत सहयोग गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ, जसमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचका साथै बालबालिकाको शिक्षालाई दुर शिक्षामार्फत निरन्तरता दिनको लागि आवश्यक उपकरण तथा प्रविधिहरू उपलब्ध गराउने;  तलबी बिदा र बाल स्याहार जस्ता परिवार मैत्री नीति तथा कार्यक्रमहरूमाथि लगानी गर्ने आदि पर्दछन्।  

 "यो महामारीले इतिहासकै सबै भन्दा ठुलो विश्वव्यापी शैक्षिक आपतकाल अवस्था सृजना गरिसकेको छ, र गरिबी बढिरहेको कारणले जोखिममा रहेका अधिकांश बालबालिका तथा उनीहरूका परिवारहरूलाई उनीहरुले व्यहोर्नुपरेको क्षतिको सामना गर्न निकै अप्ठेरो परेको छ' सेभ द चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत इङ्गर आशिंगले भन्नुभयो। "शिक्षाको अवसर गुमाउने बालबालिका बालश्रम वा बालविवाहको लागि बाध्य पारिने तथा त्यसकै कारण भविष्यमा गरिबीको चक्रमा पर्ने सम्भावना बढी हुन्छ। बालबालिकाको यो सिंगो पुस्ता नै यो महामारीले पिडित भएको अवस्थाको बारेमा हामीले सोच्न सक्दैनौं । यसको असर कम गर्न सम्बन्धित देशका सरकारहरू तथा अन्तर्राष्ट्रिय समुदायले आवश्यक पहलहरू गर्नुपर्दछ।  

थप बालबालिका गरिबीमा धकेलिएका मात्रै होइन, पहिले नै गरिबीमा बाँचिरहेका बालबालिका झन् गरिबीमा धकेलिंदै छन्। कोहि बालबालिका एक वा एक भन्दा बढी आवश्यकताबाट बन्चित भैरहँदा अन्य केहिले कुनै पनि अभावको सामना गर्नु नपरेको पनि हुनसक्छ, त्यसैले औसतमा प्रति बालबालिका अभावको सामना गर्नु परेको दरको माध्यमबाट समग्र बालबालिकाको गरिबीको अवस्था थाहा पाउन सकिन्छ।  महामारी भन्दा अगाडि प्रति बालबालिका अभावको औसत दर ०.७ रहेकोमा अहिले १५ प्रतिशतले बढेर ०.०८५ पुगेको अनुमान गरिएको छ।  

"थप बालबालिका विद्यालय, औषधि, खानेकुरा, पानी तथा आवास जस्ता जीवनका आधारभूत आवश्यकताहरूबाट वन्चित हुने अवस्था आउन नदिनको लागि हामीले तत्कालै कदम चाल्नुपर्दछ" फोरले भन्नुभयो। "नगद प्रवाह तथा बालबालिका सहायता, दुर शिक्षाका अवसर, स्वास्थ्य सेवाहरू र विद्यालय खाजा लगायतका सुविधा समेटेर सामाजिक सुरक्षा प्रणालीलाई तीव्र विस्तार गर्दै सरकारहरूले सबै भन्दा बन्चितिकरणमा परेका बालबालिका तथा उनीहरूका परीवारहरूलाई प्राथमिकतामा राखेर सहायता प्रदान गर्नुपर्दछ। अहिले नै यी अत्यावश्यक कार्यका लागि लगानी गरेमा भविष्यमा आइपर्न सक्ने आपतकालीन अवस्थाको लागि तयार रहन सहयोग पुग्छ "

बालबालिकाले गरिबीको अवस्थामा रहेको नेपालमा कोभिड-१९ ले गम्भीर प्रभाव पारेको छ। महामारी आउनु अघि १३ लाख बालबालिका गरिबीमा बाँचिरहेकोमा मध्य भदौमा आइपुग्दा सो संख्या बढेर ७० लाख पुगेको अनुमान गरिएको छ, जसमध्ये धेरै बालबालिका पोषण युक्त खाना तथा शिक्षा लगायतका एक भन्दा बढी आवश्यकता पुरा गर्नबाट वन्चित छन्। 

मिडिया सम्पर्कहरू

जर्जिना थम्पसन
युनिसेफ मुख्यालय
सम्पर्क: +१ ९१७ २६५ ४५२४
इमेल: gthompson@unicef.org
नताशा डस सान्तोस
सेभ द चिल्ड्रेन
सम्पर्क: +४४ ७७८७ १९१९५७

सेभ चिल्ड्रेनको बारेमा 

सेभ द चिल्ड्रेन सबै बालबालिकाले बाँच्न तथा शिक्षा हासिल गर्ने अवसर पाउनुका साथै दुर्व्यवहार, घृणा तथा शोषणबाट सुरक्षित रहने संसारमा विश्वास गर्दछ। ११७ देशहरूमा हामीले गरिरहेका कार्यहरू मार्फत सबै भन्दा वन्चितिकरणमा परेका तथा सिमान्तकृत बालबालिका सम्म पुगेर उनीहरूलाई बाँच्न, शिक्षा हासिल गर्न तथा सुरक्षित रहन सहयोग गर्दछौं ।   

कोभिड-१९ को बारेमा थप जानकारीको लागि : www.savethechildren.net/coronavirusresponse

 

युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा बंचितिकरणमा परेका बालबालिकासम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरुमा काम गर्दछ  १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं । युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि  www.unicef.org मा जानुहोस्। 

कोभिड-१९ सम्बन्धी थप जानकारी तथा बालबालिका र परिवारहरूलाई सुरक्षित राख्ने सम्बन्धी मार्गनिर्देशनको लागि :  www.unicef.org/coronavirus