कोभिडको कारणले दक्षिण एसियामा ५ वर्षमुनिका थप ३९ लाख बालबालिका सुकेनासबाट प्रभावित हुन सक्ने - युनिसेफ
विश्वव्यापी रूपमा मातृ तथा बाल पोषण अवस्था सुधारको लागि मानवीय सहायता संस्थाहरूले २.४ अर्ब अमेरिकी डलर सहयोगका लागि आव्हान गरिरहेको समयमा कोभिड-१९ को कारणले हुन सक्ने कुपोषणको रोकथाम र उपचारको लागि तीव्र गतिमा काम गर्न युनिसेफ अनुरोध गर्दछ
- उपलब्ध:
- English
- नेपाली
काठमाडौं, २०७७ श्रावण १३ - कोभिड-१९ को आर्थिक सामाजिक प्रभाव स्वरूप सन् २०२० मा दक्षिण एसियाका ५ वर्ष मुनिका थप ३९ लाख बालबालिकामा सुकेनासको कारणले गम्भीर कुपोषण हुन सक्ने चेतावनी युनिसेफले आज दिएको छ।
द ल्यान्सेट (The Lancet) मा प्रकाशित एक विश्लेषणका अनुसार विश्व भरिका ६७ लाख बालबालिका सुकेनासबाट प्रभावित हुन सक्ने आंकलन गरिएकोमा आधा भन्दा बढी (५८ प्रतिशत वा ३९ लाख) दक्षिण एसियाबाट मात्रै हुने अनुमान गरिएको छ।
"कोभिड-१९ का बिरामी भेटिन थालेको ७ महिना बित्दै गर्दा यो रोगको कारणले भन्दा पनि यसको रोकथामका उपायहरूका कारणले बालबालिकालाई हानि पुगिरहेको कुरा स्पष्ट छ" युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भन्नुभयो। "घरपरिवारहरूमा गरीबी तथा खाद्य असुरक्षाको दर बढ्नुका साथै अत्यावश्यक पोषण सेवा तथा आपूर्ति शृंखलाहरू अवरुद्व र खाद्यान्नको मूल्य वृद्वि भएको छ । फलस्वरूप, बालबालिकाको पोषणमा कमी आएको छ र कुपोषणको दर वृद्वि हुनेछ।"
सुकेनास कुपोषणको अत्यन्तै गम्भीर स्वरूप हो जसले बालबालिकालाई अत्यन्तै दुब्लो र शारीरिक रूपमा कमजोर बनाउँदै उनीहरूलाई मृत्युको जोखिमा पुर्याउनुको साथै शारीरिक वृद्वि, विकास र सिकाइमा कमजोर बनाउँछ । युनिसेफका अनुसार कोभिड-१९ महामारी भन्दा अघि २०१९ मै विश्वका ४ करोड ७० लाख बालबालिका सुकेनासबाट प्रभावित थिए जसमध्ये आधा भन्दा बढी अर्थात् २ करोड ५० लाख दक्षिण एसियाका थिए। तत्काल कुनै ठोस कदम नचालिने हो भने अबको एक वर्ष भित्र विश्वभर सुकेनास बाट ग्रसित बालबालिकाको संख्या ५ करोड ४० लाख पुग्न सक्नेछ, जुन सहश्राब्दी भरिकै अत्याधिक संख्या हो।
दि लान्सेट (The Lancet) विश्लेषणका अनुसार न्यून तथा मध्य आय भएका देशहरूमा कोभिड-१९ को आर्थिक तथा सामाजिक प्रभावको कारण सुकेनास पिडित पाँच वर्ष मुनिका बालबालिकाको संख्यामा १४.३ प्रतिशतले वृद्वि हुन सक्छ। कुपोषणको दरमा यस प्रकारको वृद्विसंगै भिटामिन ए वितरण तथा स्तनपानको दरमा आउने कमीले गर्दा विश्वभर प्रति महिना थप १०,००० बालबालिकाको मृत्यु हुन सक्छ।
बालबालिकामा सुकेनास लाग्ने अनुमानित दर ठुलो संकटको सुरुवाती झलक मात्रै भएको चेतावनी संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूले दिएका छन् । कोभिड-१९ ले पोषण सेवामा अवरोध हुन पुग्ने तथा कम पोषिलो खाना खान बाध्य हुने अवस्था आउने हुँदा महिला तथा बालबालिकामा पुड्कोपना, सुक्ष्म पोषक तत्वको कमी, मोटोपना जस्ता समस्यामा वृद्वि हुनेछ। महामारीको शुरुवाती महिनामा युनिसेफले तयार पारेका प्रतिवेदनका अनुसार अत्यावश्यक, धेरै जसो जीवन बचाउने प्रकारका, पोषण सेवाहरूको उपलब्धतामा ३० प्रतिशतले कमी आउने अनुमान गरिएकोमा दक्षिण एसियाको अवस्था थप चिन्ताजनक रहेको छ। जस्तै, बन्दाबन्दीका शुरुवाती साताहरूमा नेपाल र भारतमा सुकेनासको उपचार ठप्प भएको थियो भने स्वास्थ्यकर्मीमाझ संक्रमणको त्रास र व्यक्तिगत सुरक्षा साधनको अभावले गर्दा गम्भीर सुकेनास लागेका बालबालिकाको उपचार कार्यमा अफगानिस्तानमा ४० प्रतिशत तथा बंगलादेशमा ७५ प्रतिशतले कमी आयो। साथै, दक्षिण एसियाका अधिकांश देशहरूमा भिटामिन ए खुवाउने कार्य रोकिंदा ५ वर्ष मुनिका लाखौँ बालबालिकामा सबै भन्दा आवश्यक पर्ने वर्तमान समयमै रोग प्रतिरोधात्मक क्षमताको अभाव भैरहेको छ। अत्यावश्यक पोषण सेवा केहि हदसम्म पुन: सुचारू भएता पनि पहिलेको अवस्थामा अझै पुगिसकेको छैन।
"स्तनपानका अभ्यासहरूमा पर्न सक्ने सम्भावित प्रभावको सम्बन्धमा पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। आमाहरूमा कोभिड-१९ को संक्रमण भएता पनि बच्चालाई स्तनपान गराउनको लागि उनीहरुलाई प्रोत्साहित गर्न तथा सहयोग गर्न अत्यन्तै आवश्यक छ" दक्षिण एसियाको लागि युनिसेफका क्षेत्रीय निर्देशक जिन गफले भन्नुभयो। "आमाको दुधले बच्चालाई उत्कृष्ट पोषण प्रदान गर्नुको साथै थुप्रै प्रकारका प्राणघातक रोगहरूबाट बचाउँछ" उहाँले थप उल्लेख गर्नुभयो।
आज सार्वजनिक भएका लान्सेट प्रतिवेदनमाथिको टिप्पणी मा युनिसेफ, खाद्य तथा कृषि संगठन, विश्व खाद्य कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनका प्रमुखहरूले कोभिड-१९ को कारणले खास गरि न्युन तथा मध्यम आय भएका देशहरूमा पोषणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको र त्यस्तो अवस्थाको सबैभन्दा खराब असर बालबालिकाले भोग्नुपर्ने चेतावनी दिनुभएको छ। पोषणको गुणस्तरमा कमी, पोषण सेवामा व्यवधान, र महामारीले निम्त्याएको आघातको कारणले थप बालबालिका तथा महिलाहरूमा पनि कुपोषण भैरहेको छ।
जोखिमयुक्त देशहरूमा मातृ तथा बाल पोषणलाई सुरक्षित राख्न मानवीय सहायता संस्थाहरूलाई यो वर्षको अन्त्यसम्मका लागि २ अर्ब ४० करोड अमेरिकी डलरबराबरको आर्थिक श्रोतको आवश्यकता रहेको छ। निम्न उल्लेखित कार्यहरू गरि बालबालिकाको पोषण अधिकार सुरक्षित गर्नको लागि संयुक्त राष्ट्र संघ अन्तर्गतका विभिन्न निकायहरूका प्रमुखहरूले आव्हान गर्नु भएको छ :
- खाद्यान्न उत्पादक, प्रशोधनकर्तालाई संरक्षण, व्यापार निषेधलाई निरूत्साहन र खाद्यान्न बजारलाई अत्यावश्यक सेवाको रूपमा मान्यता आदि कार्यहरू गर्दै कोभिड-१९ प्रतिकार्यको एउटा अत्यन्तै महत्वपुर्ण पक्षको रुपमा पौष्टिक, सुरक्षित तथा सुपथ खाद्यान्नमा पहुँच सुरक्षित गर्ने;
- स्तनपानको संरक्षण, आमाको दुध प्रतिस्थापन गर्ने तत्वहरूको अनुपयुक्त बजारीकरणको रोकथाम, र पौष्टिक तथा विविधता युक्त खानामा बालबालिका तथा महिलाहरूको पहुँच सुनिश्चित गर्दै मातृ तथा बाल पोषणलाई सहयोग गर्न निर्णायक रूपमा लगानी गर्ने;
- जीवन सुरक्षा गर्ने अन्य पोषण सेवाहरूको विस्तारसंगै बालबालिकामा हुने सुकेनासको शीघ्र पहिचान तथा उपचार सेवाहरू लाई पुन: सकृय तुल्याई थप वृद्वि गर्ने;
- विद्यालयहरु बन्द रहेको समयमा घरमै पुगेर खाद्यान्न वितरण गर्ने, घरमा लैजानको लागि खाद्यान्न उपलब्ध गराउने, नगद वा भौचर उपलब्ध गराउने आदि मार्फत जोखिममा रहेका बालबालिकासम्म पुगेर पौष्टिक र सुरक्षित विद्यालय खाजाको व्यवस्थालाई निरन्तरता दिने, र
- अत्यन्तै गरीब तथा अति प्रभावित घरपरिवारहरूसम्म सुरक्षित खाद्यान्नमा पहुँच लगायतका अत्यावश्यक सेवाहरू र पौष्टिक खानामा पहुँच सुरक्षित गर्नको लागि सामाजिक सुरक्षालाई विस्तार गर्ने .
"पोषण सेवाहरूलाई पुन: सुचारू गर्नको लागि दक्षिण एसिया भरि नै गरिएका पहलहरूबाट हामी उत्साहित छौं" जिन गफले भन्नुभयो। "थप बालबालिकामा सुकेनास लाग्न नदिन तथा लागिसकेकाहरूको पहिचान गरि उपचार गर्नको लागि स्वास्थ्य तथा सामाजिक सुरक्षाको क्षेत्रमा हामीले सहकार्य गर्नु अत्यन्तै जरूरी छ।
मिडिया सम्पर्कहरू
About UNICEF
UNICEF works in some of the world’s toughest places, to reach the world’s most disadvantaged children. Across 190 countries and territories, we work for every child, everywhere, to build a better world for everyone. For more information about UNICEF and its work for children, visit www.unicef.org. For more information about COVID-19, visit www.unicef.org/coronavirus. Information on UNICEF’s Immunization programme, available here. Follow UNICEF on Twitter and Facebook.
The UNICEF South Asia region include Afghanistan, Bangladesh, Bhutan, India, the Maldives, Nepal, Pakistan and Sri Lanka.