कमसल खानाले संसारभरका बालबालिकाको स्वास्थ्य विग्रिदैं, युनिसेफको चेतावनी

गरिबी, शहरीकरण, जलवायु परिवर्तन र कमसल खानेकुराले अस्वस्थ बन्दै नेपालका ४३ प्रतिशत बालबालिका कुपोषित, दुई वर्षमुनिका दुईमध्ये एक बालबालिकाले कमसल खाना खाँदै

15 अक्टोबर 2019
A woman holds flood water soaked rice in Banke District, western Nepal, Tuesday 15 August 2017.
UNICEF Nepal/2017/SJThapa

न्यूयोर्क/काठमाडौं, २८ असोज २०७६ — विश्वका करोडौं बालबालिका कमसल खानाबाट प्रभावित हुनु चिन्ताजनक भएको चेतावनी युनिसेफले बालबालिका, खाना र पोषणको बारेमा आज जारी गरेको नयाँ प्रतिवेदनमा दिएको छ । 

विश्वका बालबालिकाको अवस्था २०१९ः बालबालिका, खाना र पोषण (द स्टेट अफ द वल्र्डज चिल्ड्रेन २०१९ः चिल्ड्रेन, फुड एण्ड न्युट्रेसन) ले पाँच वर्षमुनिका तीनमध्ये कम्तीमा एक बालबालिका — वा २० करोडभन्दा धेरै — कम पोषण वा अधिक पोषणको शिकार भएको जनाएको छ । ६ महिनादेखि दुई वर्ष उमेरका तीनमध्ये झण्डै दुई बालबालिकालाई उनीहरुको शरीर र मस्तिष्कको विकासका लागि चाहिने खाना खुवाइएको छैन जसले उनीहरुको मस्तिष्क विकास, सिकाइ, प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्ने र संक्रमण बढ्ने र कतिपय अवस्थामा मृत्यु समेत हुने जोखिममा राखेको छ ।

नेपालका पाँच वर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे वा मोटा छन् । त्यसै गरी, ६ महिनादेखि दुई वर्षसम्मका करीव ४५ प्रतिशत बालबालिकाले मात्र आठ खालका खाना समूहमध्ये कम्तीमा पाँच समूहको खाना खाइरहेका छन् । यो उमेर समूहका अधिकांश बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन् भने अण्डा वा माछा वा मासु खानेको संख्या एक तिहाइ मात्र छ । 

“पछिल्ला केही दशकमा प्राविधिक, सांस्कृतिक र सामाजिक विकासका बाबजुद हामीले सबैभन्दा आधारभूत तथ्यमा ध्यान दिन बिर्सेका छौंः यदि बालबालिकाले कमसल खाना खान्छन् भने उनीहरुको जीवन पनि त्यस्तै हुन्छ”, युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भन्नुभयो । “करोडौं बालबालिका अस्वस्थ खानामा बाँचिरहेका छन् किनभने उनीहरुसँग राम्रो खानाको छनोट छैन । हाम्रो कुपोषणको बुझाइ बदल्नुपर्ने भएको छः कुपोषण बालबालिकाले पर्याप्त मात्रामा खान पाउने मात्र नभई सही खाना खाने पनि हो । यो आजको हाम्रो साझा चुनौती हो ।” 

प्रतिवेदनले २१ औं शताब्दीका बालबालिकामा देखिएका सबै खालका कुपोषणको सबैभन्दा विस्तृत मुल्यांकन उपलब्ध गराएको छ । यसले कुपोषणको तेहेरो बोझलाई उल्लेख गरेको छः पाँच वर्षमुनिका बालबालिकाको कम पोषण, आवश्यक पोषकतत्वको कमीले भइरहेको नदेखिने भोकमरी र मोटोपना । यो प्रतिवेदनले नेपालको निम्न तथ्यलाई पनि उजागर गरेको छः 
-    ११ लाख बालबालिका पुड्का अर्थात् होचा छन् ।
-    करीव २९०,००० बालबालिका ख्याउटे अर्थात् दुब्ला छन् ।
-    १३ लाख बालबालिका —अर्थात् दुईमध्ये एक जनामा— भिटामिन ए र आइरनजस्ता आवश्यक पोषकतत्वको कमी छ ।
-   करीव ३६,००० बालबालिका बढि तौलका वा मोटा छन् ।

प्रतिवेदनले बालबालिकाको जीवनको शुरुवाती दिनबाट नै कमसल खानाको अभ्यास शुरु हुने गरेको चेतावनी दिएको छ । स्तनपानले जीवन जोगाउन सक्ने भएपनि, नेपालका ६६ प्रतिशत बालबालिकालाई मात्र पूर्ण स्तनपान गराइन्छ भने नवजात शिशुहरुलाई फर्मुला खुवाउने चलन बढ्दै गइरहेको छ । 

६ महिना पुगेपछि बालबालिकालाई नरम वा ठोस खानेकुरा खुवाउन शुरु गरिन्छ तर धेरै बालबालिकालाई शुरुमै गलत खानेकुरा खुवाउन शुरु गरिने प्रतिवेदनले चिन्ता व्यक्त गरेको छ । नेपालका ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि दुई वर्षको अवधीमा कुनै फलफुल वा तरकारी खान पाउँदैनन् । दुई तिहाइ बालबालिकाले अण्डा, माछा वा मासु खाँदैनन् ।

बालबालिका हुर्किदैं गर्दा उनीहरुलाई दिइने वा उनीहरुले खाने अस्वस्थकर खानेकुरा पनि निकै चिन्ताजनक छ । अनुपयुक्त बजारीकरण र विज्ञापनले शहरसँगै ग्रामिण क्षेत्रमा तयारी खानेकुरा र अत्याधिक गुलियो पेयपदार्थजस्ता प्रशोधित खानेकुराको खपत बढिरहेको छ । 

उदाहरणका लागि, न्यून तथा मध्यम आय भएका विद्यालय जाने उमेरका किशोरकिशोरीमध्ये ४२ प्रतिशतले दिनमा कम्तीमा एक पटक कार्बोनेटेड गुलियो पेय पदार्थ पिउने गरेको तथ्यांक छ भने ४६ प्रतिशतले सातामा कम्तीमा एक पटक तयारी खानेकुरा खाने गरेका छन् । उच्च आय भएका देशका किशोरकिशोरीमा यो संख्या क्रमशः ६२ प्रतिशत र ४९ प्रतिशत छ ।

फलस्वरुपः संसारभर नै बालबालिका र किशोरकिशोरीेमा बढी तौल र मोटोपनाको मात्रा बढिरहेको छ । सन् २००० देखि २०१६ सम्मको अवधीमा, ५ देखि १९ वर्ष उमेरका बालबालिका र किशोरकिशोरीमा यो अनुपात दोब्बर बढेको छ । अहिले यो उमेरका ५ मध्ये १ बालबालिका र किशोरीकिशोरीमा मोटोपना देखिएको छ । सन् १९७५ को तुलनामा, यो उमेर समूहका बालिकाहरु १० गुणा र बालकहरु १२ गुणा मोटोपनाबाट प्रभावित हुने गरेका छन् । 

नेपालमा, बालबालिका र किशोरकिशोरी (५ देखि १९ वर्ष) मा हुने मोटोपना पछिल्लो चार दशकमा २९ गुणाले बढेको छ । आज, नेपालका यो उमेर समूहका १३ मध्ये १ जनामा मोटोपना छ । बढि तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ । यसका अर्थ, आर्थिक रुपले सम्पन्न र शहरका परिवारहरुमा मोटोपना हुने सम्भावना धेरै रहन्छ ।

प्रतिवेदनका अनुसार, सबै खालका कुपोषणको सबैभन्दा ठूलो भार गरिब र सिमान्तकृत समुदायका बालबालिका र किशोरकिशोरीमा छ । सबैभन्दा गरिब परिवारका ५ मध्ये १ ले मात्र स्वस्थ विकासका लागि चाहिने खानेकुरा पर्याप्त मात्रामा खान पाउँछन् । 

प्रतिवेदनले जलवायुसम्वन्धी विपद्हरुले गम्भीर खाद्य संकट सिर्जना गर्ने कुरालाई पनि ध्यानाकर्षण गराएको छ । उदाहरणका लागि, खडेरीका कारण कृषिमा ८० प्रतिशत नोक्सानी र क्षति पुग्दछ र यसले बालबालिका र परिवारका लागि उपलब्ध खानेकुरासँगै त्यो खानाको गुणस्तर र मुल्यमा पनि नाटकीय प्रभाव पार्दछ ।

सबै खालका कुपोषणको बढ्दो संकटलाई सम्वोधन गर्नका लागि, युनिसेफले सरकार, निजी क्षेत्र, दातृ निकाय, अभिभावक, परिवार र व्यापारिक समुदायलाई निम्न उपायहरु अवलम्बन गर्न जरुरी आव्हान गरेको छः 

१. अस्वस्थ खानेकुराको माग घटाउन पोषण शिक्षा सुधार गर्ने र कानूनको प्रयोग गरी परिवार, बालबालिका र किशोरकिशोरीलाई पोषिलो खानाको माग गर्न सशक्त बनाउने । 
२. स्वस्थ, उपयुक्त र पहुँच गर्न सकिने खानाको प्रावधानलाई प्रोत्साहन गर्दै खाद्यपदार्थ उत्पादक र आपुर्तिकर्तालाई बालबालिकाको हितमा काम गर्न लगाउने ।
३. सही र बुझ्न सजिलो हुने लेबलको प्रयोग गर्दै र अस्वस्थकर खानेकुराको बजारीकरणमा कडा नियन्त्रण गर्दै बालबालिका र किशोरकिशोरीका लागि स्वस्थ खाद्य वातावरण सिर्जना गर्ने ।
४. स्वास्थ्य, खानेपानी तथा सरसफाइ, शिक्षा र सामाजिक सुरक्षाजस्ता सहयोगी संयन्त्रको परिचालन गरी सबै बालबालिकामा पोषणको प्रतिफल विस्तार गर्ने ।
५. कार्ययोजनालाई मार्गदर्शन गर्न र प्रगति विश्लेषण गर्न उच्च स्तरीय तथ्यांक र प्रमाणको संकलन, विश्लेषण र प्रयोग गर्ने ।

“हामीले स्वस्थ खानेकुराको लडाइँको धरातल गुमाउँदैछौं”, फोरले भन्नुभयो । “यो हामी आफैले जित्न सक्ने लडाइँ होइन । अस्वस्थ खानाको मूल कारणलाई सम्बोधन गर्नका लागि सरकारहरु, निजी क्षेत्र र नागरिक समुदायले बाल पोषणलाई प्राथमिकतामा राखेर सहकार्य गर्न जरुरी छ ।”

#######

फोटो, बीरोल, पुरा प्रतिवेदन, फ्याक्टसिट, ग्राफ र डाटासेटका लागि, कृपया यहाँ क्लिक गर्नुहोस् । पुरा प्रतिवेदन यहाँबाट पनि डाउनलोड गर्न सकिन्छ । 
 

मिडिया सम्पर्कहरू

सब्रिना सिधु

निसेफ न्यूयोक

सम्पर्क: +1 917 4761537

तानिया धाख्वा

प्रमुख, सञ्चार शाखा

युनिसेफ नेपाल

सम्पर्क: 977-9801244524

युनिसेफको बारेमा


युनिसेफले आफ्ना सम्पूर्ण गतिविधि बालबालिकाको अधिकार सुनिश्चित गर्न र कल्याणकारी सेवा उपलव्ध गराउन केन्द्रित गर्दछ । यसले आफ्ना साझेदारसँग मिलेर १९० वटा देश र स्थानमा प्रतिवद्धतालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको छ । सर्वा्धिक जोखिममा रहेका र पिछडिएका बालबालिकामा पहुँच बनाउन विशेष प्रयास गर्दै यसले सबै क्षेत्रका बालबालिकाका निम्ति काम गर्दछ । थप जानकारीको लागिः www.unicef.org

युनिसेफ नेपाललाई फेसबुक, ट्वीटरमा र इन्स्टाग्राम फलो गर्नुहोस् ।