अपाङ्गतासंग सम्बन्धित विभेदको सामना गर्न खेलकूद सहयोगी
खेलकूदले अपाङ्गता भएका व्यक्तिहरूको सीप र क्षमतालाई मुख्य रुपमा प्रकाश पारेर उनीहरू विरुद्धको हेय र विभेद कम गर्न सहयोग गर्छ ।
- उपलब्ध:
- English
- नेपाली
काठमाडौं, २४ माघ २०७५ – नेपाल तथा पाकिस्तानका महिला दृष्टिविहीन क्रिकेट खेलाडीबिच भएको टी–२० अन्तराष्ट्र्रिय सिरिजमा नेपाली टोलीको सफल सहभागिता एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा दुवै पक्षको व्यापक सराहनाले यो दर्शाएको छ कि, खेलकूदले अपाङ्गता भएका व्यक्तिहरूको सीप र क्षमतालाई मुख्य रुपमा प्रकाश पारेर उनीहरू विरुद्धको हेय र विभेद कम गर्न सहयोग गर्छ ।
नेपाल महिला दृष्टिविहीन क्रिकेट टोली यस सिरिजमा विजयी भएर आज ट्रफीसहित घर फर्केकोमा बधाई दिन पाउँदा युनिसेफ, युएनडीपी, युएनएफपीए, युएन वुमेन र स्वीस सरकार विकास सहयोग निकै हर्षित छ । नेपाल दृष्टिविहीन क्रिकेट संघलाई अन्तर्राष्ट्रिय सिरिज खेल्नका लागि सहयोग उपलब्ध गराउन पाएकोमा हामी खुशी छौं र यी प्रतियोगिताहरूले महिला दृष्टिविहीन क्रिकेट खेलाडीहरूको सीप बृद्धि, आत्मबल विकास र परिवर्तनका वाहकका रुपमा काम गर्नका लागि उनीहरूको सशक्तीकरणमा सहयोग पु¥याउन सक्यो भन्ने विश्वास लिएका छौं ।
अपाङ्गता भएका महिला तथा बालिकाहरूले प्रायः बहुसामाजिक अवरोधहरूको सामना गर्नु परेको हुन्छ र नेपालभरि नै अपाङ्गताका आधारमा विभेद हुनेगर्छ । सन् २०१८मा प्रकाशित युएनएफपिएको रिपोर्ट अनुसार अपाङ्गता भएका महिलाहरूले अपाङ्गता नभएका महिलाभन्दा झण्डै १० गुणा बढि लैङ्गिकतामा आधारित हिंसाको सामना गर्नुपर्छ । यस तथ्यले यो स्पष्ट पार्छ कि, अपाङ्गता भएका महिलाहरू अझैपनि आफ्नो सामाजिक विकास, स्वास्थ्य एवं हितका लागि अत्यावश्यक अवसरहरूबाट बञ्चित छन् ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक भ्यालेरी जुलियाण्ड भन्नुहुन्छ, “खेलकूद एक यस्तो मञ्च हो, जसले अपाङ्गता भएका महिला तथा बालिकाहरूको शारीरिक क्षमता दर्शाउने अवसर प्रदान गर्नुका साथै उनीहरूको पूर्ण क्षमताको अनुभूति गराएर र लैङ्गिकतामा आधारित विद्यमान रुढिवादलाई हटाउन मद्दत गरेर उनीहरूको जीवन परिवर्तन गर्नसक्छ ।”
दिगो विकासका लक्ष्य – एजेण्डा २०३० को भविष्यलाई नियाल्दा, अपाङ्गता भएका व्यक्तिहरूको समाजमा समावेशिता र हितलाई प्रवर्धन गर्नका लागि उनीहरूको खेलकूद एवं मनोरञ्जन क्रियाकलापमा पहुँच बढ्नेछ भन्ने आशा हामी गर्दछौं ।
अपाङ्गता भएका महिला विरुद्धका नकारात्मक धारणाबाट समाजलाई मुक्त बनाउने यस प्रयासमा नेपालले पछिल्लो समयमा उल्लेख्य प्रगति गरेको छ । विशेषगरि नयाँ संविधान र अपाङ्गता भएको व्यक्तिका अधिकार सम्बन्धी ऐन २०७४ लगायत धेरै कानूनी सुधारमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षणलाई प्रत्याभूत गरिएको छ ।
नेपालका लागि स्विजरल्यान्डका राजदूत एलिजाबेथ भन क्यापेलर भन्नुहुन्छ, “एक सामान्य जीवनको नेतृत्व गर्न पाउनु अपाङ्गता भएका व्यक्तिहरूको हक हो । अपाङ्गता भएका व्यक्तिहरू प्रति समाजको नकारात्मक हेराइलाई बादल्नका लागि नयाँ अक्षमता अधिकार अधिनियमका साथै सफलताका कथा र उदाहरणहरुका बारेमा पनि जानकारी बढाउन जरुरी छ ।”
अपाङ्गता भएका व्यक्तिको अधिकार तथा खेलकूदलाई सम्बोधन गरिएको कानूनी रुपमा बाध्यकारी पहिलो अन्तर्राष्ट्रिय दस्तावेज अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि हो । यस महासन्धिको धारा ३० ले मूलप्रवाहका र अपाङ्गता–विशेष खेलकूद दुवैलाई सम्बोधन गरेको छ, साथै मूलप्रवाहका खेलकूद क्रियाकलापका सबै तहमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागितालाई सक्दो प्रोत्साहन एवं प्रवर्धन गर्ने उपयुक्त कदमहरू चाल्नका लागि सदस्य राष्ट्रहरूलाई आह्वान गरिएको छ ।
मिडिया सम्पर्कहरू
युनिसेफ को बारेमा
युनिसेफले आफ्ना सम्पूर्ण गतिविधि बालबालिकाको अधिकार सुनिश्चित गर्न र कल्याणकारी सेवा उपलव्ध गराउन केन्द्रित गर्दछ । यसले आफ्ना साझेदारसँग मिलेर १९० वटा देश र स्थानमा प्रतिवद्धतालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको छ । सर्वाधिक जोखिममा रहेका र पिछडिएका बालबालिकामा पहुँच बनाउन विशेष प्रयास गर्दै यसले सबै क्षेत्रका बालबालिकाका निम्ति काम गर्दछ ।
थप जानकारीको लागी: www.unicef.org
युनिसेफ नेपाललाई फेसबुक, ट्वीटरमा र इंन्स्टाग्राम फलो गर्नुहोस् ।