बालबालिका तथा किशोरकिशोरीको सफलताको आधारः कार्यकारी क्षमता
कार्यकारी क्षमता भनेको के हो र यसले बालबालिकाको समग्र विकासमा कस्तो भूमिका खेल्दछ?

कार्यकारी क्षमता (Executive Function) बौद्धिक क्षमताहरू मद्ध्ये एक प्रणाली हो जसले बालबालिका तथा वयस्कहरूलाई योजना बनाउन, ध्यान केन्द्रित गर्न, निर्देशनहरू सम्झन र धेरै अप्ठ्यारा कार्यहरू पनि सफलतापूर्वक गर्न मद्दत गर्दछ । यसलाई हामी एअर ट्राफिक कन्ट्रोल सिस्टमसँग तुलना गरेर पनि बुझ्न सक्छौं । जसरी एअर ट्राफिक कन्ट्रोल सिस्टमले विमानचालकहरूलाई विमान उडान या अवतरण गर्न सहि निर्देशनहरू दिन्छन् त्यसैगरी कार्यकारी क्षमताले बालबालिका तथा किशोरकिशोरीहरूलाई उनीहरूले गर्नुपर्ने कार्यहरू सफलतापूर्वक गर्न मद्दत गर्दछ । यस्ता सीपहरू शैक्षिक तथा सामाजिक सफलताको लागि महत्त्वपूर्ण हुने गर्दछन्, भने दैनिक जीवनयापनलाई सहज बनाउन र दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न पनि आवश्यक हुन्छन् ।
बालबालिकाले प्रारम्भिक बाल्यावस्थादेखि नै कार्यकारी क्षमता विकास गर्न थाल्छन् र बाल्यकाल र किशोरावस्थामा यी सीपहरूलाई सुधार र परिष्कृत गर्ने क्रमलाई निरन्तर दिइरहन्छन् । यद्यपि, केही बालबालिकाले कार्यकारी क्षमता विकास गर्ने क्रममा निकै नै संघर्ष गर्नु पर्ने हुन्छ । जसले उनीहरूको विद्यालय र सामाजिक परिस्थितिहरूमा सिक्ने र कार्य गर्ने क्षमतालाई असर पुर्याउन सक्दछ ।
कार्यकारी क्षमताका प्रमुख चार विषेशताहरू
१. कार्यस्मरण: आफूले गर्नु पर्ने काम नबिर्सिने र गरुन्जेल योजनाबद्ध तरिकाले गर्न सक्ने क्षमता हो । उदाहरणको लागि, कुनै बालबालिकाले पसलमा सामान किन्न गएमा आफूले किन्नु पर्ने सामानहरूको सूची सामान खरिद गरुन्जेलसम्मको लागि याद गर्ने क्षमता हो । यो प्रकृयामा बालबालिकाले याद गरेको उक्त सूची पूनः सम्झिरहन आवश्यक पर्दैन ।
२. बौद्धिक लचकता: यो एक कार्यबाट अर्को नयाँ कार्यमा जान सक्ने अथवा नयाँ कामको बारेमा जानकारी प्राप्त गरि नयाँ योजना बनाउन सक्ने क्षमता हो । यसले बालबालिका तथा किशोरकिशोरीहरू मानसिक रुपमा कति लचिलो छन् र कसरी निर्णय लिन सक्दछन् भन्ने देखाउँछ । उदाहरणका लागि, बालबालिकाले विद्यालयमा गणित र अर्को नयाँ भाषा सिक्नु पर्ने अवस्थामा पहिले कुन सिक्ने र त्यसपछि कुन सिक्ने भन्ने कुरामा योजना बनाउन र आवश्यक पर्दा योजना परिवर्तन गर्न पनि सक्षम हुन्छन् ।
यसलाई अर्को तरिकाले बुझ्नु पर्दा आफ्नो सोचाइका बारेमा सोच्न सक्ने (अनुभुत गर्न सक्ने) क्षमता हो जसलाई अङ्ग्रेजीमा Metacognition भन्ने गरिन्छ । यसको अर्थ हामीले सिक्नु पर्ने विषयका बारेमा के कति थाहा छ अथवा छैन भनेर पहिले नै सोच्न सक्ने एक जटिल सीप हो । यस्तो सीप कुनै परिक्षाकालागि तयारी अध्ययन गर्दा होस् अथवा अप्ठ्यारा कार्यहरू(Assignments) गर्न र नयाँ शिक्षण सामग्रीहरूका बारेमा बुझ्न सक्ने क्षमता हो ।
३. आवेग नियन्त्रण: यो संवेगहरूलाई नियन्त्रण गर्ने र प्राथमिकतामा राखेको आफ्नो कार्यमा ध्यान केन्द्रित गर्न सक्ने क्षमता हो । यस्तो सीप, उदाहरणका लागि, कुनै बालबालिकाले आफ्नो गृहकार्य पूरा गरेपछि खेलौनासँग खेल्न पाउँछु भन्ने प्रलोभनको प्रतिरोध गर्न आवश्यक हुन सक्छ ।
४. योजना र कार्य व्यवस्थापन: आफूले गर्नु पर्ने कार्यलाई स-साना चरणहरूमा विभाजन गर्ने, योजना बनाउने र त्यसलाई कार्यन्वयन गर्न समय निर्धारण गर्न सक्ने क्षमता हो । उदाहरण को लागी, कुनै बालबालिकाले विद्यालयको लागी आफ्नो परियोजना कार्यको योजना बनाउन वा आफ्नो सामानहरू मिलाएर आफ्नो कोठालाई सफा सुग्घर राख्न सक्ने हुन्छन् । यसको लागि अभिभावकको दैनिक निर्देशनको आवश्यकता पर्दैन र यो उनीहरूले आफ्नो दिनचर्या, बानी र अनुशासनका रुपमा स्वतः गर्ने गर्दछन् । खेल्नु पर्दछ ।

बालबालिकाले कार्यकारी क्षमता कसरी र कहाँ सिक्न सक्दछन् ?
🏠 घर परिवारः
बालबालिकाले कार्यकारी क्षमता सिक्ने पहिलो ठाउँ भनेको घर नै हो । घरमा सिकेको कुरालाई विद्यालयमा सिकेको कुराले थप मजबुद बनाउँदछ । घरमा आमाबाबु र स्याहारकर्ताहरूले बालबालिकामा कार्यकारी क्षमताको विकासलाई सघाउन सक्ने निम्न मुख्य ४ तरिकाहरू छन्:
१. कार्यढाँचा तथा दैनिक कार्यतालिका बनाइदिने: बालबालिका अभिभावकले बनाइदिएका कार्यढाँचा र दैनिक कार्यतालिकाबाट लाभान्वित हुन्छन्, किनकि यस्ता सहयोगले उनीहरूको योजना बनाउने र योजना मुताविक कार्यहरू गर्ने एवम् व्यवस्थापकीय क्षमता विकास गर्न मद्दत गर्दछ।

२. स्वतन्त्र सोचलाई प्रोत्साहित गर्ने: आमाबाबुले बालबालिकालाई सधैं प्रश्नको जवाफ दिनुको सट्टा आफ्नै बिचार ल्याउन र आफ्ना समस्याहरू आफैं समाधान गर्न प्रोत्साहित गर्न सक्छन् । यसो गर्नाले बालबालिकाले कुनै पनि कुराको बारेमा पहिला आफैं सोधी खोजी गर्छन र अप्ठ्यारो पर्दा मात्र अभिभावकसँग जिज्ञासा राख्दछन् । तथापी बालबालिका जिज्ञासु हुनु र धेरै भन्दा धेरै प्रश्न सोध्नु उनीहरूको बौद्धिक विकासको सूचक पनि हो ।
३. स्व-अनुशासन या नियमन सिकाउने: आमाबाबुले स्व-अनुशासन र नियमनका सीपहरूका साथै बालबालिकालाई उनीहरूको भावना र व्यवहार व्यवस्थापन गर्ने तरिकाहरू पनि सिकाउन सक्छन् ।
४. अभ्यासका लागि अवसरहरू प्रदान गर्ने: बालबालिकाले पजलहरू, विभिन्न खेलहरू अथवा खेल जस्तै अन्य गतिविधिहरू मार्फत आफ्नो कार्यकारी क्षमताहरू अभ्यास गर्न र सुधार गर्दै लैजान सक्छन् । तसर्थ अभिभावकले बालबालिकालाई अभ्यासका लागि पर्याप्त समय दिने तथा नयाँ नयाँ अवसरहरू प्रदान गर्नु पर्दछ ।
🏫विद्यालयः
विद्यालयमा बालबालिकालाई कार्यकारी क्षमता सिकाउने प्रशस्त अवसरहरू हुन्छन् । बालबालिकामा धेरैजसो कार्यकारी क्षमताको विकास २ बर्षको उमेर देखि नै हुन शुरु हुनाले यो महत्वपूर्ण अवस्थामा, शिशु विकास केन्द्र तथा पूर्वप्राथमिक कक्षा देखि नै ध्यान दिनु पर्दछ । विभिन्न अनुसन्धानका अनुसार, खेल, अन्वेषण तथा सकारात्मक अनुशासनमा आधारित गुणस्तरीय प्रारम्भिक बालविकास कार्यक्रमले बालबालिकाको कार्यकारी क्षमता विकासमा सकारात्मक प्रभाव पार्छ ।
बालबालिकालाई एसेम्ब्ली, जीवन उपयोगी सिप कक्षाहरू, अतिरिक्त कृयाकलाप तथा विभिन्न खेलहरूका माध्यमबाट कार्यकारी क्षमताको विकास गराउन सकिन्छ । यदि विद्यालयमा कार्यकारी सीप सिकाउने भनेर कुनै समय नतोकिएको भएता पनि नियमित कक्षाहरूमा कार्यकारी सीपहरू सिकाउन सकिन्छ । जस्तो परिक्षा दिने उमेर भइसकेका बालबालिकालाई परिक्षा अगाडी कसरी पढ्ने, कहिले पढ्ने, समय व्यवस्थापन कसरी गर्ने साथै पुस्तकहरूमा भएका विभिन्न पात्रहरूको लगनशिलता र अनुशासनको बारेमा छलफल गर्न सकिन्छ । कार्यकारी सीपहरू वास्तवमा जीवन उपयोगी सीपहरू भएकाले प्रत्येक दिन नै कक्षामा छलफल गर्ने, अभ्यास गर्ने र दिनको अन्त्यमा ती गतिविधिहरूको चर्चा गर्ने गर्न सकिन्छ ।
त्यसका साथै कक्षाकोठामा शिक्षक या सहजकर्ताले बालबालिकाका लागि उनीहरूसँगै दैनिक रुटिन बनाउने, बनाउन सिकाउने र बनाइएको रुटिन अभ्यास गर्ने गर्नु पर्दछ । कतिपय बालबालिकालाई गृहकार्य कहाँ छ भनेर खोज्ने क्रममा तनाव हुन सक्दछ यस्तो अवस्थामा गृहकार्य सँधै एकै ठाँउमा लेखिदिने गर्नु पर्दछ । कक्षाकोठामा राखिएका कुनै आकर्षक सामग्रीले केहि समय पछाडि कसैको सिकाइलाई विकर्षण गरिरहेको हुन सक्दछ । तसर्थ त्यस्ता विकर्षणका कारकहरू घटाउँदै लैजानु पर्दछ । साथै कुनै समय दिएर गर्न लगाइएको कार्य, समय सकिनु अगाडी बाँकी रहेको समयका बारेमा सूचित गर्नु पर्दछ । यसले बालबालिकालाई समय व्यवस्थापन गर्न मद्दत गर्दछ । त्यसैगरी कुनै कार्य गरिसके पश्चात निश्चित समयको लागि फुर्सद दिनु पर्दछ । यसले उनिहरुमा पुनर्ताजगी प्रदान गर्दछ।
यसका साथै कक्षाकोठालाई सिकाइका दृष्टिकोणले लचिलो र सहज बनाउनु पर्दछ । कक्षाकोठामा पर्याप्त सिकाइ सामग्रीहरू राखिनु पर्दछ र बालबालिकालाई आवश्यक पर्दा ती सामानहरू प्रयोग गर्न सक्ने वातावरण बनाउनु पर्दछ । विद्यालयमा जसरी गणित तथा अन्य विषय सिकाइन्छ त्यसै गरि कार्यकारी सीपहरूलाई पनि प्राथमिकता र गहन तरिकाले सिकाउन सकेमा बालबालिकामा कार्यकारी क्षमताको राम्रो विकास हुन सक्दछ ।
कार्यकारी क्षमता विकासमा असर पार्ने तत्वहरू
बालबालिकामा कार्यकारी क्षमताको विकासलाई प्रभाव पार्ने विभिन्न कारक तत्वहरू हुन सक्दछन् । जो यस प्रकार छन्:
१. अनुवांशिकता: केहि अध्ययनहरूका अनुसार कार्यकारी क्षमता अनुवांशिकताद्वारा पनि प्रभावित हुन सक्छ । अग्रज तथा पूर्वजहरूको कार्यकारी क्षमताका गुणहरूका आधारमा बालबालिकाको कार्यकारी क्षमता कति बलियो छ भन्ने कुरा तय हुन सक्दछ ।
२. वातावरणीय कारकहरू: घर र विद्यालयको वातावरणले कार्यकारी क्षमताको विकासमा भूमिका खेल्न सक्दछ । सहयोग र प्रोत्साहनयुक्त वातावरणमा हुर्कने बालबालिकाले उमेर बढ्दै जाने क्रममा बलियो कार्यकारी क्षमता विकास गर्न सक्छन् ।
३. अभिभावकीय शैली: आमाबाबुले आफ्ना बालालिकासँग अन्तरक्रिया गर्ने, उत्प्रेरणा प्रदान गर्ने, स्याहार सुसारमा उचित ध्यान दिने तथा पर्याप्त गुणस्तरीय समय दिने तरिकाले कार्यकारी क्षमतालाई पनि प्रभाव पार्न सक्छ । उदाहरणका लागि, कार्यतालिका बनाइदिने, बालबालिकाका स्पष्ट अपेक्षाहरू तय गरिदिने र समस्या समाधान गर्न प्रोत्साहन गर्ने अभिभावकहरूले आफ्ना बालबालिकालाई असल कार्यकारी क्षमता विकास गर्न मद्दत गर्न सक्छन् ।
४. चरणगत विकास: कार्यकारी क्षमता समयसँगै सुधार हुँदै जान्छन् । सामान्यतया, वाल्यवस्थामा भन्दा किशोरावस्थामा यस्ता क्षमता बलिया हुन्छन् । त्यसैले अभिभावक तथा सिकाइकर्ताहरुले उनिहरुको उमेर अनुसारका विकास र सिकाइका उपलब्धीहरु मापन गर्दै जानु पर्दछ ।
५. स्वास्थ्य र पोषण: राम्रो स्वास्थ्य र पोषण भएका बालबालिकासँग राम्रो स्वास्थ्य र पोषण नभएका बालबालिकाहरू भन्दा राम्रो कार्यकारी क्षमता हुन सक्छ । तसर्थ प्रारम्भिक बाल्यवस्था देखि नै बालबालिकाको उचित पोषण र स्वास्थ्यमा ध्यान दिनु पर्दछ ।
६. तनाव र आघात: धेरै तनाव वा आघात भोगेका बालबालिकालाई कार्यकारी क्षमताहरू विकास गर्नमा कठिनाई हुन सक्छ ।
७. सिकाइ असक्षमताहरू: एटेन्सन डेफिसिट/हाइपरएक्टिविटी डिसअर्डर (ADHD) जस्ता निश्चित सिकाइ असक्षमता भएका बालबालिकालाई कार्यकारी क्षमता विकास गर्न कठिनाई हुन सक्छ ।

नेपालको सन्दर्भमा कार्यकारी क्षमता नौलो विषय हुन सक्छ । तर अभिभावक तथा स्याहारकर्ता वा विद्यालयहरूले जानी या नजानी केहि न केहि रुपमा प्रयोग त गरिरहेका नै हुन्छन् । तर यो विषयलाई प्राथमिकतामा राखेर बालबालिकाको कार्यकारी क्षमता विकासमा सहयोग गर्न सकेमा बालविकासलाई थप मद्दत मिल्ने कुरामा दुइमत नहोला ।
नीतिगतरुपमा कार्यकारी क्षमता विकासका लागि कुनै खास पाठ्यक्रम या निर्देशिका नबने पनि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (ELDS) मा मिल्दोजुल्दो मान्यता राखेको भेटिन्छ । ELDS मा उल्लेख गरिए अनुसार प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (४८ महिना देखि ६० महिना) बालबालिकाले जान्नै पर्ने र गर्न सक्ने क्षमताको पहिचान गर्न निर्माण गरिएको हो ।
बालबालिकाको शारीरिक, सामाजिक, सम्वेगात्मक, बौद्धिक, भाषिक तथा सांस्कृतिक विकासको स्तर पहिचान गरी उत्प्रेरणाबर्धक वातावरणमा सिकाइ तथा विकास गर्न मद्दत पुर्याउनु रहेको छ । ४८ देखि ६० महिनाका बालबालिकाको विकास तथा सिकाइ मापदण्डहरू राष्ट्रिय मूल्य मान्यतालाई केन्द्रित गरि निर्माण गरिएको हो । ती मूल्य मान्यताहरू निम्न हुन् :
(क) बालबालिका स्वस्थ, क्रियाशील तथा सम्वेगात्मक रूपमा सन्तुलित हुनुपर्दछ ।
(ख) बालबालिका स्याहार गर्ने, मायालु, फरक विचारको कदर र अरूलाई आदर गर्ने हुनु पर्दछ ।
(ग) बालबालिका विश्वासी, सीपयुक्त तथा आत्मनिर्भर हुनु पर्दछ ।
(घ) बालबालिका परिवर्तनलाई आत्मसात गर्ने वा परिवर्तित सन्दर्भमा मिलेर बस्न सक्ने हुनु पर्दछ ।
सारांशमा, बालबालिकाको समग्र विकासमा कार्यकारी क्षमताले महत्वपूर्ण भूमिका खेल्दछ। प्रारम्भिक बाल्यअवस्था देखि नै कार्यकारी सीपहरूको विकास हुन सकेमा किशोरावस्था तथा त्यस पछिको उमेरमा गुणात्मक लाभ प्राप्त हुन्छ । कार्यकारी क्षमताको विकास भएमा व्यक्ति शैक्षिक, व्यवहारिक र सामाजिक रुपमा अब्बल हुन सक्दछ । यसका साथै मानसिक स्वास्थ्य राम्रो हुनका लागि पनि कार्यकारी क्षमता आवश्यक छ । आमाबाबु, शिक्षक, सहजकर्ता, मनोपरामर्शकर्ता तथा स्वास्थ्यकर्मीहरूले कार्यकारी क्षमता बलियो बनाउने त्यस्ता सीपहरूको महत्वको बारेमा सचेत हुनु जरुरी छ र त्यस्ता सीपहरूको विकासका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रभावकारी भूमिका खेल्नु पर्दछ ।