शैक्षिक सुधारको नमूना

दुरागाउँको मिलनेश्वरी आधारभूत विद्यालय

आयूष निरौला
Illustration before and after of the school
UNICEF Nepal/2019/PRanjit

30 अगस्ट 2019

रामेछाप, नेपालः  रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ मा रहेको दुरागाउँमा मिलनेश्वरी आधारभूत विद्यालय छ । जिल्ला सदरमुकाम मन्थलीदेखि लगभग ३० किलोमिटर टाढा रहेको यो गाउँमा हालसम्म यातायातको साधन पुग्न सकेको छैन । आर्थिक दृष्टिले मध्यम अवस्था रहेका मानिसहरुको बसोबास रहेको यो गाउँ विकासको दृष्टिले धेरै पछि परेको छ । 

दुरागाउँका स्थानीय बासिन्दाहरुको शिक्षा प्रतिको चासो र मागलाई मध्यनजर गरी तत्कालीन गाविस अध्यक्ष कल्याण कुमार वाग्लेको प्रयासबाट करीव २० वर्षअघि बाँसको कटेरो बनाएर पठनपाठन सुरु गरियो र त्यही कटेरोमा एक वर्षसम्म कक्षा सञ्चालन भयो । शुरुमा शिक्षकको तलब पाँच सय रुपैयाँ थियो जुन स्थानीय बासिन्दाहरुबाट चन्दा संकलन गरी उपलब्ध गराइन्थ्यो । 

बाँसको कटेरोमा कक्षा सञ्चालन गर्न असहज भएपछि खुल्ला चौरमा कक्षा सञ्चालन गर्नु पर्ने भयो । यो अवस्थाबाट पार पाउन अभिभावकहरुले आर्थिक श्रोत जुटाउने उपायका रुपमा तिहारको समयमा देउसी भैलो कार्यक्रम सञ्चालन गरे । संकलन भएको रकमले विद्यालय भवन बनाउने निर्णय भयो । विद्यालयको नाममा जग्गा थिएन । स्थानीय देविबहादुर थापाले विद्यालयको लागि चार आना जग्गा निशुल्क दिनुभयो । त्यसपछि २८ घर परिवारका सदस्यहरुले तीन महिना श्रमदान गरेर २०५७ सालमा विद्यालयको पाँच कोठे भवन तयार भयो ।  

तर पाँच कोठे विद्यालयमा छानो थिएन किनभने श्रमदानबाट मात्र यो सम्भव थिएन । छानोको लागि तत्कालीन जिल्ला विकास समितिमा अनुरोध गर्दा १० हजार रुपैयाँ अनुदान प्राप्त भयो । तीन घण्टा टाढाबाट ढुंगा ल्याएर विद्यालय निर्माण गरियो । भवन त बन्यो तर  शिक्षकलाई तलब दिने स्रोत थिएन । यसको पनि उपाय निकालियो । एक विद्यार्थी बराबर २५ रुपैयाँ नगद र दुई पाथी अन्न संकलन गरेर शिक्षक पासाङ शेर्पालाई तलव खुवाउने व्यवस्था भयो । वि.सं २०६० सालपछि भने बाल कोटा, राहत कोटा, कर्मचारी कोटा र निजी श्रोतबाट एक(एक जना शिक्षक भर्ना गरि कक्षा एक देखि पाँचसम्म संचालन हुँदै आएको थियो ।

तर २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट विद्यालय भवनलाई ठूलो क्षति पुग्यो । 

children in classroom
UNICEF Nepal/2019/PRanjit

भुकम्पबाट जीर्ण भएको भवनमा नै बाध्य भएर कक्षा संचालन गर्नु पर्ने अवस्था आयो । कुनै संघ संस्थाबाट सरसहयोग प्राप्त नभएकोले भवन निर्माण गर्न सम्भव भएन । यस्तो अवस्थामा २०७४ सालमा अमेरिकी सहयोग नियोग (युएसएड) र युनिसेफले गरेको सहयोग अमुल्य सावित भयो । यी संस्थाहरुको सहयोगमा ट्रान्जिसनल लर्निंङ सेन्टर (टिएलसि) निर्माण गर्ने सम्झौता गरी २०७५ सालमा निर्माण सम्पन्न भयो । यस्तै गरी, स्ट्रिट चाइल्ड र सहास नेपालले शैक्षिक सामग्री तथा ससाना बालबालिकाको लागि खेलौना तथा विद्यालयमा आवश्यक विविध सामग्री उपलब्ध गराएपछि पठनपाठन धेरै प्रभावकारी भएको छ । अभिभावक, विद्यालय परिवार तथा विद्यार्र्थीहरु सबैजना अत्यन्त खुसी भएका छन् ।

यो अवस्थासम्म आइपुग्दा समुदायमा पठनपाठनका गतिविधिमा अभिभावकहरुको चासो र सहयोग बढेको छ, स्थानीय निकाय र बिद्यालय परिवारबीच राम्रो समन्वय र सहयोगी भावनाको विकास भएको छ । 

विद्यालय प्रमुख करुणा पौडेल धेरै बर्ष पछि आएर अहिले सजिलो भएको कुरा सुनाउनु हुन््छ । अझ सिकाइका सामग्रीले सुनमा सुगन्ध थपेको छ । सामग्री देखेर विद्यार्थी पनि खुसी भएर स्कुल आउने गरेको पौडेल बताउनु हुन्छ ।
“शिक्षकहरुको मेहनत तथा अभिभावकहरुको चासोको कारण भवन बन्न सफल भएकोमा हामीलाई सदरमुकाम पनि यहि, राजधानी पनि यहि छ जस्तो लागेको छ ।”  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर खड्का ठ्ट्यौली पारामा भन्नुहुन्छ । 

“साह्रै दुःख गरेर बनाएको स्कुलको भवन भात्किदा सारा समुदायलाई अत्यन्त चोट परेको महसुस भएको थियो । त्यो चोट अहिले आएर निको भएको छ ।”