शिशुको सिकाइ कहिले शुरु हुन्छ ?

बालबालिकाको धारणा, ज्ञान, सीपमा सकारात्मक परिवर्तन ल्याउने प्रभावकारी सिकाइका केही तरिका

युनिसेफ नेपाल
मस्तिष्क विकास हुनका लागि पोषिलो खाना, तनावमुक्त वातावरण र उत्प्रेरणा अति आवश्यक हुन्छ ।
UNICEF Nepal
29 मे 2019

सिकाइ भन्नाले दैनिक अनुभव र अभ्यासद्वारा बालबालिकामा आउने परिवर्तन हो । सिकाइले बालबालिकाको धारणा, ज्ञान, सीपमा सकारात्मक परिवर्तन गराई व्यक्तित्व विकासमा सघाउँछ ।

मस्तिष्क स्नायु प्रणाली विकास सम्बन्धी अनुसन्धान प्रतिवेदनमा उल्लेख भए अनुसार गर्भमा नै सुनाई र दृष्टिको विकास शुरु भई जन्मेर पहिलो वर्ष भित्र उच्चतम विकास भई सक्छ । तर, सिकाइ जन्म लगतै शुरु हुन्छ । शिशु बालबालिकाले आफ्नो आवश्यकता र क्षमताअनुसार सिक्दै जान्छन् ।

मस्तिष्क विकाससम्बन्धी अनुसन्धान अनुसार बच्चा जन्मदा मस्तिष्क विकास भईसकेको हुन्छ तर मस्तिष्कमा भएका सम्पूर्ण स्नायु कोषहरू एकअर्कोमा जोडिसकेको हुँदैन । बच्चा जन्मँदा २५  प्रतिशत मात्र स्नायुहरूको सञ्जाल बनेको हुन्छ । बच्चा जन्मेपछि सिकाइ अनुभवको आधारमा यी स्नायु कोष (न्यूरोन) एक अर्कोसँग जोडिँदै सञ्जाल निर्माण हुने कार्य अति छिटो हुने गर्छ । जन्मेदेखि ३ वर्षभित्रमा मस्तिष्कमा भएका कोशिकाहरू करीब ७५  प्रतिशत  एक अर्कोमा जोडिँदै अनुभवको सञ्जाल निर्माण हुन्छ । यसबाट जीवनभरको सिकाइ क्षमता निर्धारण हुन्छ ।

शिशुले सिकेका अनुभवहरू मस्तिष्कमा सञ्चित हुन्छन् र कोशिकाहरू जोडिँदै जान्छन् । मस्तिष्क विकास हुनका लागि पोषिलो खाना, तनावमुक्त वातावरण र उत्प्रेरणा अति आवश्यक हुन्छ ।

प्रभावकारी सिकाइका केही तरिका:
 

  • अनुभवमा आधारित सिकाइ: बालबालिकाले पाँच इन्द्रियको माध्यमद्वारा अनुभव गरेर सिक्छन् । नवजात अवस्थादेखि नै बालबालिकाले आफ्नो वातावरणबाट हेरेर, सुनेर, सुँघेर, स्वाद लिएर र छामेर सिक्छन् ।
  • अभ्यासबाट सिकाइः बालबालिकाले प्रयत्न र गल्ती गरेर सिक्छन् । उनीहरूले आफूलाई जिज्ञासा लागेको, मनपरेका क्रियाकलापहरू बारम्बार गर्न रुचाउँछन् । यस्तो क्रियाकलापले उनीहरूलाई सीपालु गराउन मद्दत पुग्दछ ।
  • नक्कलबाट सिकाइः बालबालिकाले भाँडाकुटी, पुतली, जीवजन्तुका नमूना खेलौनासँग खेल्दै नक्कल, अभिनय गरेर आफ्नो भावनाहरू सही समयमा सही तरीकाले व्यक्त गर्न र घरपरिवार छिमेकमा समायोजन हुन आवश्यक सीप सिक्दछन् ।
  • समस्या समाधानमा आधारित सिकाइ: बालबालिकाले खेल खेल्दा, दैनिक जीवनका क्रियाकलापमा आइपरेका समस्याहरू आफै समाधान गरेर चुनौती सामना गर्न सिक्छन् ।
  • खोज र आफैं पत्ता लगाएर सिकाइः बालबालिकाले आफूले देखेका र गरेका अनुभव र नवीन तौरतरिकाका समिश्रण गर्दै नयाँ नयाँ अनुभव बटुल्ने गर्दछन् ।
  • अरुलाई सिकाएर सिकाइ: बालबालिकाले खेल्ने, सिक्ने क्रममा साथीसंगीहरूलाई सिकाउने र आफूले पनि सिक्ने गर्दछन् ।