बालबालिकासँग कुराकानी र सञ्चार

बालबालिकाले बोल्न थालेपछि उनीहरूलाई जति उत्प्रेरणा र प्रतिक्रिया मिल्छ, त्यत्ति नै छिटो उनीहरूको भाषा सीप विकास हुन्छ

नेपाल सरकार, युनिसेफ नेपाल
शिशुले जन्मने वित्तिकै सञ्चार गर्न थाल्छ
UNICEF Nepal
29 मे 2019

भाषा विचारहरूको आदान प्रदान गर्ने वा सञ्चारको मह¬वपूर्ण माध्यम हो । भाषा शाब्दिक र साङ्केतिक दुवै हुन्छन् । बालबालिकाले आफ्नो भावना, विचार, निर्णय, समस्या आदि मौखिक साङ्केतिक, लिखित तथा कलाद्वारा अभिव्यक्त गर्नु नै सञ्चार हो । मानिसले पनि साङ्केतिक र शाब्दिक दुवै भाषा प्रयोग गरेर कुराकानी वा अन्तरक्रियागर्दछन् । बालबालिका जन्मदेखि शारीरिक भाषा वा हाउभाउबाट आफ्ना इच्छा वा समस्या व्यक्त गर्ने गर्दछन् ।

अभिभावक तथा स्याहारकर्ताले शरीरिक र शाब्दिक दुबै भाषाबाट अन्तरक्रिया गर्नुपर्दछ । यसले गर्दा बालबालिकाले सुन्न, बुझ्न, छिट्टै बोल्न र ठुलासँग विश्वास बढाउन सक्छन् । गर्भावस्थादेखि सुनेको भाषामा अन्तरक्रिया गर्दा उनीहरूको प्रारम्भिक सिकाइ प्रभावकारी हुने र आफ्नो भाषा समेत दोस्रो पुस्तामा हस्तान्तरण हुन्छ । बालबालिकासँग उनीहरूको विकासात्मक अवस्था र अवसर अनुरुप कुराकानी गर्नुपर्दछ ।


१. गर्भावस्थामा  
बालबालिकाले गर्भदेखि नै सुन्न सक्ने तथ्य नेपाली समाजका पौराणिक दस्तावेजहरूमा पाइन्छ । साथै गर्भवती महिलाको वरिपरि राम्रो कुरा गर्ने, बौद्धिक संवादमा सहभागी गराउने चलन पनि विद्यमान छ । जुन गर्भभित्रको शिशुले सुन्न सक्छ भन्ने प्रमाण हो । हाल पनि केही सचेत गर्भवती महिलाले सुन्ने गरेको गीत सङ्गीत बजाउँदा शिशुले प्रतिक्रिया दिने गर्दछन् भन्ने अनुभवहरू सुनाउने गरेको पाइन्छ । बालबालिकाको बौद्धिक क्षमता अभिवृद्धि गर्न गर्भावस्थामा महिलाले सकारात्मक कुराकानीमा सहभागी हुने विभिन्न गीत सङ्गीत सुन्ने, आफ्नो पेटमा हात राखेर शिशुलाई बोलाउने, आफूलाई भोक लाग्दा “तिमीलाई पनि भोक लाग्यो ?” भनेर बच्चाको बुबाले पनि गर्भमा स्पर्श गरेर “मेरो बुबा/नानु के छ ?”, आज दिनभरि के के सुन्यौ ? जस्ता कुराहरू गर्नुपर्छ । आमाले पनि प्राकृतिक आवाजहरू सुन्ने र मनमनले पनि “उ.. हेरत कस्तो मिठोे स्वरमा चरा कराएको, आहा ! कति राम्रो कल...कल..नदी बगेको ।” भन्दै प्रकृतिक आवाजहरू सुन्ने र शिशुसँग पनि अन्तरक्रिया गर्ने गर्नुपर्दछ ।

२. जन्मपछि  
शिशुले जन्मने बित्तिकै सञ्चार गर्न थाल्छन् । सुरुमा आँखा जुधाउनु र रुनु नै मुख्य सञ्चार हुन्छ । विस्तारै विभिन्न आवाज निकाल्दै, मुस्कुराउँदै, हाउभाउ वा शारीरिक सञ्चालन गर्दै, खुट्टा चलाउने र औंलाले देखाउने हँुदै जान्छ । आवाज आएतिर हेर्ने, आँखा जुधाउने शारीरिक प्रतिक्रिया दिने गर्दछन् । यो बेला उनीहरूले आमाबुबा वा हेरालुको अनुहारको गहिरो अवलोकन गर्छन् र हाउभाउको प्रतिक्रियादिन्छन् । त्यसैले अभिभावकले शिशुलाई काखमा राखेर आँखामा आँखा जुधाएर कुरा गर्नुपर्दछ । बालबालिकाले बोल्न सुरु गर्ने प्रयास थालेपछि उसलाई जति उत्प्रेरणा र प्रतिक्रिया मिल्छ, त्यत्ति नै छिटो बालबालिकाको भाषा सिप विकास हुन्छ । शिशुले विभिन्न आवाज निकाल्न थालेपछि त्यसमा प्रतिक्रिया जनाउने, त्यही आवाज दोहोर्‍याउने गर्नुपर्दछ । शिशुसँग सकेसम्म कुरा गर्ने, विभिन्न कथा सुनाउने, चित्रहरू देखाउने र लोरी गाएर सुनाउनुपर्दछ । शिशुले हेरेर, ओठ चलाएर, मुस्कुराएर प्रतिक्रिया जनाउँछ । टुकटुके हिँड्ने अवस्थाका बालबालिका आफ्नो आवश्यकता सङ्केत, शब्द, हाउभाउ गरेर बताउछन् । उनीहरूले भन्न खोजेको शब्द तथा कुरालाई अभिभावकले सजिलो रूपमा सिकाइदिनुपर्छ । यस समयमा शिशुसँग छोटो, सरल वाक्यको प्रश्नहरू सोधेर उनीहरूलाई बोल्न अभ्यास गराउनुपर्दछ । बालबालिकासँंग कुरागर्दा सकारात्मक सञ्चार गर्नुपर्दछ ।

३. स्तनपान गराउँदा  
सबै शिशुहरूले भोकाएको प्रतिक्रिया दिन्छन्, जुन स्तनपान गराउने आमाले बुझेर प्रतिक्रिया दिनुपर्छ । जस्तै, “के भयो ? मेरो बाबालाई भो..क ला..ग्यो, हो ? हेर त कस्तो ठस, ठस् गरेको त, ल अब बुबु खाईहाल्ने हस् ।” जस्ता कुराहरू गर्दै काखमा राख्नुपर्छ । पहिले नै हातधोएर स्तन सफा गरेर बस्नुपर्छ । स्तनपान गराउँदा पनि आँखा जुधाएर हातले स्पर्श गरेर ल.. ल.. खाउ ..खाउ..गर्दै बोलीमा पनि उतार चढाव गर्दै, जिस्काउदै, आँखा जुधाएर खुवाउनुपर्छ । शिशुले आमा वा स्याहारकर्ताको अनुहार हेरेर रमाउँछ भने स्पर्शबाट आफूलाई सुरक्षित महसुस गर्छ ।

४. घुम्न जाँदा  
करिब ५ देखि ६ महिनामा पास्नीपछि घुम्न लैजाने चलन हाम्रो समाजमा छ, जुन वैज्ञानिक पनि छ । उनीहरूलाई एकदुई पटक घुम्न लगेपछि उतैजाने इच्छाले आँखाले पहिले गएकोतिर हेरेर, शरीर उतैतिर तन्काएर कराएर र अन्तमा रोएर  आफ्नो रहर व्यक्त गर्छन् । स्याहारकर्ताले शिशुको प्रतिक्रिया अवलोकन गरेर पहिलो वा दोस्रो 
सङ्केतमा वा रुटिनअनुसार घुमाउनु उपयुक्त हुन्छ । घुम्न जाँदा पनि उसलाई “बाबालाई घुम्न मन लाग्यो कि के हो ? हो ! जाने हो ?” भनेर सोध्ने मुस्कुराउने “ल म पनि तयार हुन्छु है,” भन्दै कपाल, लुगा मिलाए झैँ गर्नुपर्दछ । बाहिर जाँदा वरिपरिका ठाउँ, वस्तु तथा व्यक्तिलाई नामले चिनाउँदै जानुपर्छ । यसैगरी उनीहरूको अवश्यकता बुझेर प्रतिव्रिक्रिया दिँदै विश्वासको सम्बन्ध बढाउदै लैजानुपर्छ । 

५. साथीहरूसँग अन्तरक्रिया  
बालबालिकाले आफू सरहका बालबालिकालाई हेर्ने, खेल्न मन गर्ने गर्छन् । आफ्नै उमेरका साथी भेट्दा खेल्ने, बोल्ने, हिँड्ने तरिका आफ्नो जस्तै देख्दा, उनीहरू आकर्षक तरिकाबाट अवलोकन गर्ने, नक्कल गर्ने, सहकार्यको योजना बनाउने, खेलौना सटासाट गर्ने, हाँसो ठट्टा गर्ने गर्छन् । जसको कारण बालबालिकाले कुराकानी गर्ने विचार बनाउन, समय सापेक्ष विचार व्यक्त गर्ने जस्ता बौद्धिक कार्यहरू गर्दछन् ।

६. प्रश्नोत्तर   
धेरै प्रश्नहरू गर्ने बालबालिकाले धेरै जान्न र बुझ्न खोजेका हुन्छन् । त्यसैले यस्ता प्रश्नको सकारात्मक र सही उत्तर दिने र उनीहरूले बुझ्न खोजेका कुराहरू राम्ररी बुझाइदिने गर्नुपर्दछ । उनीहरूले सोधिखोजी गर्दा सोध्नासाथै जवाफ दिनुपर्छ । अँध्यारो, तारा तथा बादल, पानीकोे बारेमा सोधेका छन् भने राती तारा देखिने समयमा पनि तारा, जुन देखाएर र पानी परेको बेलामा पानी बादलको बारेमा पहिले नै बताए पनि फेरी बुझाइदिनुपर्छ । यसरी जस्तो वातावरणका प्रश्नहरू छन्, सोही वातावरण र अवस्थामा बालबालिकालाई बुझाउँदा सिकाइ प्रभावकारी हुन्छ । 

७. परिवारसँग कुराकानी  
अभिभावकहरूले साँझमा सबैजना दिनभरिको क्रियाकलाप पुनरावलोकन गर्ने वा कुराकानी गर्ने समय निर्धारण गर्नुपर्दछ । परिवारका सदस्यहरू सबै परिपरि बसेर कुराकानी गर्दा पहिले अभिभावकहरू आफैँले आफ्नो दिनभरिको घटनाहरू बताउनुपर्छ । राम्रो लागेको, नराम्रो लागेको, समस्या आएको, समाधान गरेको कुराहरू बताएपछि बालबालिकाले पनि आफ्नो दिनभरिका अनुभवहरू बताउनेछन् । बालबालिकाले कुरा गर्न खोज्दा अभिभावक वा स्याहारकर्ताले आँखा जुधाएर, टाउको हल्लाएर, मुस्कुराएर, कुराकानीमा सकारात्मक उत्प्रेरणा दिनुपर्छ । यसरी परिवारसँग कुराकानीे गर्दा आफ्नो समस्याहरू बताउने, समस्या परेको र समाधान गरेका घटनाहरूमा परिवरका सदस्यले दिने मार्गनिर्देशन र स्यावासीले उनीहरूमा आत्मविश्वास बढ्छ । 

 

 


सञ्चारको महत्त्व

  • भाषा नै यस्तो माध्यम हो, जसले सामाजिक बौद्धिक, सांस्कृतिक, मनोरञ्जनात्मक क्रियाकलाप र विचार साटासाट गर्न सकिन्छ ।
  • अन्तरक्रिया वा कुराकानीले विचारको सिर्जना गर्छ । मस्तिष्कमा उत्पन्न हुने विभिन्न विचारहरूमध्ये कुनचाँहि विचार व्यक्त गर्न उपयुक्त छ भन्ने छनौट गर्न सिक्छन् । 
  • आफूले राखेका विचारहरूको साथी तथा अभिभावकले दिने प्रतिक्रिया अनुरुप अर्को विचारले सच्याउने जस्ता स्वःअन्तरक्रियाहरूले बौद्धिक क्षमता तीव्र हुन्छ ।
  • सधैँ परिवारसँग कुुराकानी गर्नाले आफ्नो समस्याहरू बताउने र परिवारका सदस्यले दिने स्यावासी, मार्गनिर्देशनले उनीहरूमा आत्मविश्वास र सामाजिकीकरण अभिवृद्धि हुन्छ ।
  • परिवारमा स्नेहपूर्ण वातावरण र सहयोग लिने दिने परम्परा विकसित हुन्छ । 
  • किशोरावस्थाको क्रममा शारीरिक तथा मनोसामाजिक समस्याहरू पनि अभिभावकलाई बताउने बानीले सही मार्गदर्शन तथा निर्णय लिने क्षमता अभिवृद्धि हुन्छ ।
  • बालबालिकालाई घर बाहिर, हुन सक्ने दुव्र्यवहार वा आपतमा फस्न सक्ने सम्भावनाबाट बचाउन सकिन्छ ।

 

शिशुले जन्मने वित्तिकै सञ्चार गर्न थाल्छ