बालबालिकासँग अन्तरक्रिया

बालबालिकासँग कसरी उनीहरूको विकासात्मक अवस्था अनुरूप कुराकानी गर्न सकिन्छ?

उमा घिमिरे, युनिसेफ
13 जनवरी 2022
illustration of mother and daughter
UNICEF Nepal/2020/BTulachan

कुराकानीले विचारको जन्म हुन्छ । भाषा विचारहरूको आदान प्रदान गर्ने महत्त्वपूर्ण  माध्यम हो । भाषा शाब्दिक र सांकेतिक दुवै हुन्छन् । मानिसले पनि सांकेतिक र शाब्दिक दुवै भाषा प्रयोग गरेर कुराकानी वा अन्तरक्रिया गर्दछन् । बालबालिका जन्मदेखि शारीरिक भाषा वा हाउभाउबाट आफ्ना ईच्छा वा समस्या व्यक्त गर्ने गर्दछन् ।

अभिभावक तथा हेरालुले शारीरिक र शाब्दिक दुवै भाषा बाट अन्तरक्रिया गर्नुपर्छ, जसले गर्दा उनीहरूले सुन्न, बुझ्न, छिट्टै बोल्न र ठूलासँग सम्बन्ध विकास गर्न सक्छन् । बालबालिकाले प्रारम्भिक उमेरमा धेरै भाषा सिक्न सक्ने विभिन्न अनुसन्धानले देखाएको छ, तर यसमध्ये गर्भावस्था देखि सुनेको भाषामा अन्तरक्रिया गर्दा उनीहरूको प्रारम्भिक सिकाइ प्रभावकारी हुने र आफ्नो भाषा समेत दोश्रो पुस्तामा हस्तान्तरण हुन्छ । बालबालिकासँग उनीहरूको विकासात्मक अवस्था अनुरूप कुराकानी गर्नुपर्छ ।

१. गर्भावस्थामा

बालबालिकाले गर्भमा रहँदा देखि नै सुन्न सक्ने तथ्य नेपाली समाजका पौराणिक दस्तावेजहरूमा पाईन्छ । साथै गर्भवती महिलाको वरिपरि राम्रो कुरा गर्ने, बौद्धिक संवादमा सहभागी गराउने चलन पनि विद्यमान छ, जुन गर्भभित्रको शिशुले सुन्न सक्छ भन्ने प्रमाण हो । हाल पनि केहि सचेत गर्भावती महिलाले सुन्ने गरेको गीत संगीत बजाउँदा शिशुले प्रतिक्रिया दिने गर्दछन् भन्ने अनुभवहरू सुनाउने गरेको पाईन्छ । बालबालिकाको बौद्धिक क्षमता अभिवृद्धि गर्न गर्भावस्थामा महिलाले सकारात्मक कुराकानीमा सहभागी हुने, विभिन्न गीत संगीत सुन्ने, आफ्नो पेटमा हात राखेर शिशुलाई बोलाउने, आफुलाई भोकलाग्दा “तिमीलाई पनि भोक लाग्यो ?” भनेर बच्चाको बाबुले पनि गर्भमा स्पर्श गरेर “मेरो बाबु/नानु के छ?”, आज दिनभरी के के सुन्यौ ? जस्ता कुराहरू गर्ने गर्नुपर्छ । आमाले पनि प्राकृतिक आवाजहरू सुन्ने र मनमनै “उ.. हेर त कस्तो मीठो स्वरमा चरा कराएको, आहा ! कति राम्रो कल...कल..नदी बगेको ।” भन्दै  प्राकृतिक आवाजहरू सुन्ने र गर्भमा रहेको शिशुसँग पनि  अन्तरक्रिया गर्ने गर्नुपर्छ ।

२.जन्मपश्चात

बालबालिकाले जन्म पश्चात आवाज आएतिर हेर्ने, आँखा जुधाउने जस्ता शारीरिक प्रतिक्रिया दिने गर्दछन् । यो बेला उनीहरूले आमाबुबा वा हेरालुको अनुहारको गहिरो अवलोकन गर्छन्, र हाउभाउको प्रतिक्रिया दिन्छन् । त्यसैले अभिभावकले शिशुलाई काखमा राखेर, आँखामा आँखा जुधाएर कुरा गर्नुपर्छ । शिशुसँग कुरागर्दा नरम बोली, सानो स्वर र लेग्रो तानेर, बोल्नुपर्छ । बालबालिकाको भाषा, जस्तै भातलाई माम, विरालोलाई म्याँउ, दूधलाई बुबु भन्दा फरक पर्दैन । तर तोते बोली भने बोल्नु हुदैन । शुरूमा शिशुको जिब्रोका मांसपेशीहरू विकसित हुने क्रममा तोते बोली बोल्छन्, तर अभिभावक वा हेरालुले स्पष्ट बोलेपछि मात्र उनीहरू पनि स्पष्ट बोल्न थाल्छन् ।

Illustration of mother and son talking
UNICEF Nepal/2020/BTulachan

३.स्तनपान गराउँदा

   सबै शिशुहरूले भोकाएको प्रतिक्रिया दिन्छन्, जुन स्तनपान गराउने आमाले बुझेर प्रतिक्रिया दिनुपर्छ । जस्तै,“के भयो ? मेरो बाबालाई भोक लाग्यो ,हो ? हेर त कस्तो ठस, ठस् गरेको त, ल अब बुबु खाईहाल्ने हस् ।” जस्ता कुराहरूगर्दै काखमा राख्नुपर्छ । पहिले नै हात धोएर स्तन सफा गरेर बस्नुपर्छ । स्तनपान गराउँदा पनि आँखा जुधाएर हातले स्पर्स गरेर “ल.. ल.. खाउ ..खाउ..” गर्दै बोलीमा पनि उतार चढाव गर्दै, जिस्काउदै, आँखा जुधाएर खुवाउनु पर्छ । शिशुले आमा वा हेरालुको अनुहार हेरेर मनोरञ्जन गर्छ भने स्पर्शबाट आफुलाई सुरक्षित महसुस गर्छ ।

४.घुम्नजाँदा

    करिब ५ देखि ६ महिनामा पास्नी पछि घुम्न लैजाने चलन हाम्रो समाजमा छ, जुन वैज्ञानिक पनि छ । उनीहरूलाई एक दुई पटक  घुम्न लगेपछि उतै जाने ईच्छाले, आँखाले पहिले गएको तिर हेरेर, शरीर उतैतिर तन्काएर कराएर र अन्तमा रोएर आफ्नो रहर व्यक्त गर्छन् । हेरालुले शिशुको प्रतिक्रिया अवलोकन गरेर पहिलो वा दोश्रो संकेतमा वा रूटिन अनुसार घुमाउनु उपयुक्त हुन्छ । घुम्न जाँदा पनि उसलाई “बाबालाई घुम्न मनलाग्यो कि के हो? हो ! जाने हो?,”भनेर सोध्ने  मुस्कुराउने “ल म पनि तयार हुन्छु है,” भन्दै कपाल, लुगा मिलाए झै गर्नुपर्छ । शिशुले पनि पर्खे जस्तो ठस् ठस् गर्न रोके जस्ते  प्रतिक्रिया गर्छ, जुन तपाईलाई विश्वास गरेर पर्खेको हो । यसैगरी उनीहरूको आवश्यक्ता बुझेर प्रतिक्रिया दिँदै विश्वासको सम्बन्ध बढाउँदै लैजानुपर्छ । बाहिर जाँदा केहि वस्तुलाई हेरेको छ भने त्यो वस्तुलाई बुझाईदिनु पर्छ । जस्तै चरा हेरेको छ, भने “उ चरी हेर त चरी  चिर्र...चिर्र.. गर्छ .. के खाने दाना खाने हो?” सोधे झै गर्नुपर्छ अनि  “उ  भुर्रभुर्र उड्यो हेर त” जस्ता  परिचय र हाउभाउ गर्दै अनुहारमा पनि प्रतिविम्बित हुनेगरी  वस्तुको परिचय गराउनु पर्छ । जनावर देखे जनावरको, बोटविरूवा, गाडी अदि, जे देखेपनि सो वस्तुको नाम र गुणहरूको परिचय, उनीहरूले बुझ्नेगरी गराउनुपर्छ ।

Illustration of father and son talking
UNICEF Nepal/2020/BTulachan

५.प्रश्नोत्तर

  धेरै प्रश्नहरू गर्ने बालबालिकाले धेरै जान्न र बुझ्न खोजेका हुन्छन् । त्यसैले यस्ता प्रश्नको सकारात्मक र सहि उत्तर दिने  र उनीहरूले बुझ्न खोजेका कुराहरू  राम्ररी बुझाईदिने गर्नुपर्छ । उनीहरूले सोधिखोजी गर्दा सोध्नासाथै पनि जवाफ दिनुपर्छ । तर अँध्यारो, तारा तथा बादल ,पानीको बारेमा सोधेका छन् भने राती तारा देखिने समयमा पनि तारा देखाएर,  पानी परेको बेलामा पानी बादलको बारेमा, पनि पहिले नै बताए पनि फेरी बुझाईदिनु पर्छ । यसरी जस्तो वातावरणका प्रश्नहरू छन् सोहि  वातावरण र अवस्थामा बालबालिकालाई  बुझाउँदा सिकाइ प्रभावकारी हुन्छ ।  

     बालबालिकाको बोली शुरू भए देखि नै प्रश्नहरूको संगालो बोकेका हुन्छन्, किनकी उनीहरूलाई यो संसारको सम्पूर्ण कुराहरू मस्तिष्कमा राख्नुछ । त्यसैले अभिभावकले झर्को नमानी उनीहरूको जिज्ञासाको सहि उत्तर दिनुपर्छ । आफुले बताईसकेका कुराहरू बालबालिकाको बुझाई के रहेछ भनेर फेरी उनीहरूलाई  प्रतिप्रश्न गर्न पनि सक्नुहुन्छ । तर उनीहरूले दिने उत्तर सबै सहि नहुन सक्छन्, बताउने बेलामा उनीहरूले गलत बताए पनि उनीहरूलाई बोल्न उत्प्रेरित गर्नुपर्छ । केहि कुराहरू सच्याउनु पर्छ, तर धेरै सच्याउँदा पनि उनीहरूले बोल्नलाई रोक्ने कोशिस गर्न सक्छन् । अभिभावक यसमा सचेत हुनुपर्छ र कुराकानीलाई निरन्तर बढाउँदै लानुपर्छ ।

६.परिवारसँग कुराकानी

      अभिभावकले साँझमा सबैजना दिनभरीको क्रियाकलाप पुनरावलोकन गर्ने वा कुराकानी गर्ने समय निर्धारण गर्नुपर्छ । परिवारका सदस्यहरू सबै वरिपरि बसेर कुराकानी गर्दा, पहिले  अभिभावक आफैंले आफ्नो दिनभरीको घटनाहरू बताउनुपर्छ । राम्रो लागेको, नराम्रो लागेको, समस्या आएको, समाधान गरेको कुराहरू बताए पछि बालबालिकाले पनि आफ्नो दिनभरीका अनुभवहरू बताउनेछन् । बालबालिकाले कुरा गर्न खोज्दा अभिभावक वा हेरालुले आँखा जुधाएर, टाउको हल्लाएर, मुस्कुराएर, कुराकानीमा सकारात्मक उत्प्रेरणा दिनुपर्छ । यसरी परिवारसँगको कुराकानीले  गर्दा आफ्नो समस्याहरू बताउने, समस्या परेको र समाधान गरेका घटनाहरूमा परिवारका सदस्यले दिने मार्गनिर्देशन र स्यावासीले उनीहरूमा आत्मविश्वास बढ्छ ।

७.साथीहरूसँग अन्तरक्रिया

  बालबालिकाले आफु सरहका बालबालिकालाई हेर्ने, खेल्न मन गर्ने गर्छन् । आफ्नै उमेरका साथी भेट्दा खेल्ने, बोल्ने, हिड्ने तरिका आफ्नो जस्तै देख्दा उनीहरू आकर्षक तरिकाबाट अवलोकन गर्ने, नक्कल गर्ने, सहकार्यको योजना बनाउने, खेलौना सटासाट गर्ने, हाँसो ठट्टा गर्ने गर्छन्, जसको कारण प्रश्नोत्तर गर्ने, बालबालिकाले कुराकानी गर्ने विचार बनाउने, समय सापेक्ष विचार व्यक्त गर्ने, जस्ता बौद्धिक कार्यहरू गर्दछन् ।


अन्तरक्रियाको महत्त्व र सिकाइ

  • अन्तरक्रिया वा कुराकानीले विचारको श्रृजना गर्छ, मस्तिष्कमा पैदा हुने विभिन्न विचारहरू मध्ये कुन चाँहि विचार व्यक्त गर्न उपयुक्त छ भन्ने छनौट गर्न सिक्छन् ।
  • आफूले राखेका विचारहरूको साथी तथा अभिभावकले दिने प्रतिक्रिया अनुरूप, अर्को विचारले सच्याउने जस्ता स्वःअन्तरक्रियाहरूले बौद्धिक क्षमता तीव्र हुन्छ ।
  • सधैं परिवारसँग कुराकानी गर्नाले आफ्नो समस्याहरू बताउने र परिवाका सदस्यले दिने स्यावासी, मार्गनिर्देशनले उनिहरूमा आत्मविश्वास र सामाजिकिकरण अभिवृद्धि हुन्छ ।
  • परिवारमा स्नेहपुर्ण वातावरण र सहयोग लिने दिने परम्परा विकसित हुन्छ ।
  • किशोरावस्थामा शारीरिक तथा मनोवैज्ञानिक समस्याहरू पनि अभिभावकलाई बताउने बानीले सहि मार्गदर्शन तथा निर्णय लिने क्षमता अभिवृद्धि हुन्छ ।
  • बालबालिकालाई घर बाहिर हुनसक्ने दुर्व्यवहार वा आपत/कूलतमा फस्न सक्ने संभावना न्यून गराँउछ ।
  • भाषा नै यस्तो माध्यम तथा सिप हो, जसले सामाजिक, बौद्धिक, साँष्कृतिक, मनोरञ्जनात्मक क्रियाकलाप र विचार साटासाट गर्न सकिन्छ ।