फोनबाटै सिकाइ

पश्चिम नेपालको एउटा विद्यालयमा कार्यरत एक पूर्व-प्राथमिक कक्षाकी शिक्षिकाले लामो समयसम्म विद्यालय बन्द हुने क्रममा आफ्ना विद्यार्थीहरूसँग 'टेलिफोनमा आधारित सिकाइ' लागु गर्दाका अनुभवहरू

युनिसेफ नेपाल
23 जुलाई 2021

कपिलवस्तु, नेपाल : कमला बेलबासे ज्ञानज्योती आधारभूत विद्यालयमा पूर्व-प्राथमिक कक्षामा पढाउने  शिक्षिका हुनुहुन्छ । यो विद्यालय पश्चिम नेपालको कपिलवस्तु जिल्ला, शिवराज नगरपालिकामा पर्दछ । कोभिड-१९ को महामारीले गर्दा विद्यालयहरू लामो समयको लागि बन्द भए । यस क्रममा विद्यालयले ‌वैकल्पिक शिक्षा अवधारणाको रूपमा  टेलिफोनमा आधारित सिकाइ लागु गर्‍यो। जसअनुरूप विगत दुई महिनादेखि कमला आफ्ना साना विद्यार्थी र उनीहरूका अभिभावकहरूसँग  यो नयाँ प्रयोग कार्यान्वयन गर्नमा व्यस्त हुनुहुन्छ। यसका लागि उहाँले कडा मेहनत गरिरहनुभएको छ ।

हुन त यो नयाँ सिकाइको तरिकाले मलाई निकै व्यस्त राखेको छ। तर, यो तरिका निकै रमाइलो पनि छ। बालबालिका विद्यालयबाट टाढा भएको पनि धेरै लामो समय भइसक्यो । उनीहरूलाई पहिलेकै वातावरणमा फिर्ता ल्याउन मैले आफ्नो तर्फबाट पुर्‍याउन सकेको यो योगदानले म खुसी पनि छु," कमला भन्नुहुन्छ ।

This image shows teacher Kamala Belbase talking on the phone
Photo courtesy: Kamala Belbase

टेलिफोनमा आधारित सिकाइलाई नेपाल सरकार र शिक्षा साझेदारहरूद्वारा सिकाइ निरन्तरता अभियानको विभिन्न वैकल्पिक शिक्षा कार्यढाँचाहरूमध्यको एक कार्यढाँचाको रूपमा  विकास गरिएको हो ।  कोभिड-१९ को महामारीसँगै लामो समयसम्म विद्यालयहरू बन्द भएको स्थितिमा पनि बालबालिकाको सिकाइ क्रमलाई जारी राख्ने कुरा सुनिश्चित गर्नका लागि यो ढाँचा प्रयोगमा ल्याइएको हो ।

नेपालमा बालबालिका र परिवारहरूको समग्र शिक्षा, पानी, सरसफाइ र स्वच्छताको स्थिति सुधार गर्नका लागि भएको युनिसेफ र फिनल्याण्ड सरकारबिचको साझेदारीअन्तर्गत कोभिड-१९ को महामारीबिच पनि ३,२०० भन्दा बढी बालबालिकाको सिकाइमा निरन्तरता प्रदान गरिरहेका २७० भन्दा बढी शिक्षकहरूमध्ये कमला पनि एक हुनुहुन्छ ।

टेलिफोनमा आधारित सिकाइको अवधारणाअन्तर्गत विभिन्न संरचित शिक्षण गतिविधिहरूको विवरण  फोनका सन्देशहरूका रूपमा  विद्यार्थीका अभिभावक र हेरचाहकर्ताको मोबाइल फोनमा पठाइन्छ । ‌यी गतिविधिहरू राष्ट्रिय पाठ्यक्रम तथा प्रारम्भिक सिकाइ तथा विकास मापदण्डलाई अनुसरण गरेर सिकाइ निरन्तरता अभियानको लागि विकसित गरिएको सूचीमा आधारित छन् । यसले बालबालिकालाई दैनिक हिसाबले कुन गतिविधि गर्ने भन्ने कुराको मार्गनिर्देशन गर्दछ । एक पटक सन्देश (एसएमएस) पठाइसकेपछि कमला र उहाँ जस्ता अन्य शिक्षकहरूले हेरचाहकर्तालाई फोनमार्फत् सम्पर्क गरेर सम्बन्धित विद्यार्थीको प्रगति अनुगमन गर्ने र उनीहरूको समस्यालाई हल गर्ने काम गर्नुहुन्छ ।

२० जना पूर्व-प्राथमिक विद्यार्थीहरूको जिम्मेवारी लिनुभएको कमलाको लागि टेलिफोनमा आधारित सिकाइको अवधारणालाई कार्यान्वयन गर्न पहिलो दुई हप्ता निकै चुनौतीपूर्ण रह्यो । 

उहाँ भन्नुहुन्छ, "हामीले सामना गर्नुपरेको पहिलो समस्या भनेको  बाबुआमाको उपयुक्त समयको  प्रबन्ध  मिलाउनु  थियो । यहाँका  धेरै जसो अभिभावकहरू दैनिक मजदुरी गर्नुहुने भएको हुँदा उहाँहरूको काममा बाधा नपुग्ने गरी हामीले उहाँहरूको समयअनुसार काम गर्नुपर्‍यो ।"

अभिभावकसँगको धेरै छलफलपछि प्रत्येक अभिभावकले मुख्यत: बिहान वा बेलुका आफ्ना बालबालिकाको सिकाइमा समर्पित गर्न सक्ने गरी उपयुक्त समय मिलाउन कमला सफल हुनुभयो ।

दैनिक क्रियाकलापमा बालबालिकाको ध्यान केन्द्रित गरेर राख्नु अर्को चुनौती थियो।

उहाँ भन्नुहुन्छ, “लामो समयसम्म सिकाइ क्रियाकलाप गर्ने बानी छुटेको हुनाले बालबालिकालाई एकल गतिविधिमा केन्द्रित गरेर राख्न गाह्रो भइरहेको कुरा अभिभावकहरूले बताइरहेका थिए ।"

तथापि, उहाँले यी प्रारम्भिक बाधाहरूसित जुधेर अधि बढ्नुभयो। उहाँले व्यक्तिगत रूपमा हरेक विद्यार्थीका आमाबुवालाई भेटेर परामर्श दिनुका साथै  बालबालिकासँग धेरै समय बिताएर उनीहरूका कुरा बुझ्ने प्रयास गर्नुभयो।  यसरी भेट्दा उहाँले सबैसँग सामाजिक दूरी कायम गर्नुभयो । 

This image shows a young boy cutting his own nails
Photo courtesy: Kamala Belbase
This image shows a father helping his daughter in the garden
Photo courtesy: Kamala Belbase

बिस्तारै उनीहरू नयाँ तालिकामा अभ्यासरत भए । समय बित्दै जाँदा विद्यार्थीहरूले सिकेका कुराहरूको बारेमा आफ्नै इच्छाले उहाँलाई भन्न थाले । साथै, उनीहरूका आमाबाबुले पनि कुनै अभ्यासका बारेमा सल्लाह लिन उहाँलाई सम्पर्क गर्न थाले।  यो सब देख्दा उहाँलाई धेरै खुसी लाग्यो ।

कमला भन्नुहुन्छ, "यो तरिकाले सिकाउँदा विद्यार्थीहरू जिज्ञासु बनेको पाएँ । विद्यार्थीका परिवारजनले बाटोमा भेट्दा पनि उहाँहरूलाई टेलिफोन विधि राम्रो लागेको र विद्यार्थीहरू अर्को क्रियाकलापका लागि उत्साहका साथ  कुर्दै गरेको अनुभव सुनाउनुहुन्छ ।"

"उहाँहरू पनि आफ्ना बालबालिकाको सिकाइ प्रक्रियामा यसरी संलग्न भएको देख्दा मलाई धेरै खुसी लाग्छ ।"

कमलालाई विद्यालयहरू छिट्टै पुन: सञ्चालनमा आए हुन्थ्यो भन्ने आशा त छ नै,  तर अहिलेको स्थितिमा भने यस वैकल्पिक शिक्षा अवधारणाको रूपमा  सञ्चालित टेलिफोनमा आधारित सिकाइको अनुभव चाँहि अहिलेसम्म सकारात्मक नै रहेको छ । सिकाइको यो ढाँचा हाल पूर्व-प्राथमिक कक्षाका बालबालिकामा मात्र सिमित भए तापनि यो टेलिफोन विधि माथिल्लो तहका विद्यार्थीहरूमा पनि सुरु गर्न उहाँ सिफारिस गर्नुहुन्छ । उहाँकाअनुसार शिक्षकहरू सक्रिय भएर विद्यार्थी र तिनका परिवारसित लगातार सम्पर्कमा रहेर यो विधिलाई अपनाएमा यो सिकाइको तरिका धेरै फाइदाजनक हुनेछ ।

"हुन त कुनै पनि माध्यमले प्रत्यक्ष रूपमा आमनेसामने बसेर अनुहार हेराहेर गरी गरिएको शिक्षणसिकाइलाई प्रतिस्थापन गर्न सक्दैन । तर हालको परिप्रेक्ष्यमा, टेलिफोन विधि कम्तिमा एउटा यस्तो तरिका बनेको छ, जसले गर्दा हामीले बालबालिकालाई व्यस्त राख्ने र उनीहरूको समयलाई उत्पादक बनाउने प्रयास गर्न सकेका छौँ ," कमला भन्नुहुन्छ ।