अमृत समान आमाको दूध: शिशुको पहिलो खाना

नवजातलाई शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको दूध किन खुवाउनु पर्दछ ?

युनिसेफ नेपाल
नवजातलाई शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको दूध  किन खुवाउनु पर्दछ ?
UNICEF Nepal

31 मे 2019

शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पर्दछ ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ ले स्तनपानको संरक्षण र सम्वद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहारको बिक्री वितरणलाई नियमन गरी बच्चाहरुको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्न दिशानिर्देशन गर्दछ । यस ऐन अनुसार आमाको दूधको विकल्पमा अनाधिकृत रुपमा अन्य दूध बेचविखन गर्न नपाइने उल्लेख गरीएको छ यसैले अनिवार्य रुपमा आमाको दुध नै खुवाउनु पर्ने हुन्छ ।

नवजात शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको पहिलो पहेँलो (बिगौती) दूध खुवाउनुपर्दछ ।पहेँलो दूधले खोप सरह शिशुलाई रोगबाट बचाउँछ । साथै रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।

शिशुको आवश्यकता अनुसार एक दिनमा ८ देखि १२ पटक (२४ घण्टा दिन र रात) स्तनपान गराउनु पर्दछ । आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वहरू र शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकोले पानी पनि खुवाउनुपर्दैन । बच्चा कम्तिमा दुई वर्ष नपुगुन्जेल नियमित रुपले अन्य खानाको साथै आमाको दूध नै खुवाइ रहनुपर्छ ।

सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना (अन्न, गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य खानेकुरा) खानुपर्छ । सुत्केरीले गाह्रो काम गर्नु हुँदैन र धुम्रपान तथा मद्यपान गर्नु हुँदैन ।

शिशुले आमाको भावना बुझ्ने हुनाले शिशुको संवेगमा नकारात्मक असर पर्दछ ।

स्तनपान गराउँदा तनावमा, दुःखी मनले, दिक्क मान्दै, रिसाउँदै, गाली गर्दै खुवाउनु हुँदैन । यसो गर्दा दूध कम आउँछ । त्यसैले स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ ।

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू:

  • स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनु पर्दछ । सफा र खुकुलो लुगा लगाउनु पर्दछ ।
  • आमाले स्तनलाई C (अंग्रेजी अक्षरको सी आकार) आकारमा समात्नु पर्दछ । बुढी औंला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरु औंला स्तनको तलपट्टि हुनुपर्छ ।
  • शिशुलाई काखमा राख्ने र शिशुको टाउको अलिकति ढल्काइ दूध चुसाउनु पर्दछ । स्तनपान गराउँदा एकापट्टिको दूध पूर्ण खाली हुनेगरी दूध खुवाउनु पर्दछ । त्यसपछि अर्कोपट्टिको स्तनपान गराउनु पर्दछ । शिशुले जति दूध चुस्छ त्यति नै बढी मात्रामा दूध रसाउँछ ।
  • दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्यूँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।
  • सुत्केरी आमाले ज्वानो (अजवाइन) को झोलसहित थप पोसिलो खाना खानु पर्दछ, जस्तैः दाल, गेडागुडी, दूध र अन्य तरल खानेकुरा बढी खानुपर्छ ।
  • सुत्केरी भएको ४२ दिन भित्र भिटामिन ए क्याप्सुल एक मात्रा खानु पर्छ । भिटामिन ए क्याप्सुल नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकाबाट निःशुल्क उपलब्ध हुन्छ ।
  • सुत्केरी भएको ४५ दिनसम्म नियमित रुपले आइरन फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन हाली बनाइएको खाना खानु पर्दछ ।
  • दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयमसेविकालाई सम्पर्क गर्नु पर्दछ ।
  • एचआइभी सङ्क्रमित आमाले पनि छ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउनुपर्छ । त्यसपछि शिशुलाई आमाको दूधसँग पूरक खाना पनि दिनुपर्छ । तर एचआइभी सङ्क्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान गराउनु हुन्न । साथै नजिकको स्वास्थ संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सरसल्लाह गर्नुपर्छ ।
नवजातलाई शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको दूध  किन खुवाउनुपर्दछ?
UNICEF Nepal

बालबालिकाको लागि स्तनपानको महत्व:

  • आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ ।
  • यो सधैँ सफा र सुरक्षित हुन्छ ।
  • यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्वहरु हुन्छ ।
  • यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ ।
  • यो संधै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।
  • बालबालिकाको लागि यो पूर्ण खाना हो । यसमा बालबालिकालाई ६ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु प्रर्याप्त मात्रामा हुन्छ ।
  • यसले बालबालिकाको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ ।
  • यो बालबालिकाले सजिलै पचाउन सक्छ । यसमा रहेका पोषक तत्वहरु शरीरले राम्ररी सोस्न सक्छ ।
  • यसले एलर्जी विरुद्ध रक्षा गर्छ । दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वहरुलाई रगतसम्म पुग्न दिदैन ।
  • यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिकाको विकास गर्न सहयोग गर्छ ।
  • आमासँग पटक–पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ जसले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ । ६ महिना पछि पनि शिशुको पोषणको धेरै आवश्यकता पूरा गर्छ ।

आमाको लागि स्तनपानको महत्व:

  • बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ ।
  • बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ ।
  • आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ । यो सधैं सफा, पोषिलो र ठीक तापक्रमको    हुन्छ । यो कम खर्चिलो हुन्छ ।
  • आमा र बालबालिका बीचको माया ममता बढ्छ । बालबालिकाले आफुलाई सुरक्षित महसुश गर्छ ।
  • महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ ।
  • महिनाबारी नफर्किएको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा (९८%) गर्भ निरोधकको रुपमा काम गर्छ ।